खप्रओलाई निकाल्ने रे
पिँध विनाका लोटा माकुन्याउ र प्रचण्डाउले यतिबेला कन्दनी दह«ैसँग बाँधेका छन् । उनेरु पर्धानमन्तरी खप्रओसँग दह«ै कुस्ती खेल्ने तयारमा जुटेका छन् । यस भन्दा अगाडि पनि यी दुई विचित्रका मनुवाहरुले कुस्ती नखेलेको त कहाँ हो र ? दुवैलाई खप्रओ एक्लैले उत्तानोचित्त बनाइ दिएका थिए । गोडातीनेक महिना दुवै मनुवा एकाएक पर्दाबाट हराए । गुप्तबासमा दवै मनुवा शक्ति सञ्चयमा लाग्या यत्रो भइसक्योे । यतिबेला गुप्त बासबाट दुवै फुत्त बाहिर आएका छन् । दुवैले यसपटकचाहिँ लगौटी अड्याउने कन्दनीचाहिँ दह«ै बाँधेका छन् रे । पहिलेजस्तै प्लाट कि प्लाट चुँडियो भने यत्रो दिन गरेको शक्ति सञ्चय व्यर्थे जान्छ भनेर उनेरले कन्दनी दह«ो बाध्या रे । अब कुस्ती शुरु हुने हुने बेला भएको छ । खप्रओ विरुद्ध संसदमै अविश्वासको प्रस्ताव लैजान दुवैले रिहर्षल गरिरा’छन् । खप्रओ पनि चानचुने खेलाडी होइनन् । माकुन्याउ र प्रचण्डाउ जस्ता झुसिलासँग किन डराउँथे । सुटुक्क दुवैका विश्वासिला छाउराहरुलाई मन्त्री सन्त्रीको कार्ड फालिदिन्छन् । लाष्टाँ उही हो माकुन्याउ र प्रचण्डाउको कन्दनी चैट । बरु यसो खप्रओलाई फकाइ फुल्याई गरेर मह चाट्ने प्रयास गरे दुवैको भलो हुन्थ्यो । कि कसो हौ ?
सुको नेपालै छाड्ने मुडमा
हावा नचली पात हल्लदैन । यतिबेला नेप्लिज लाँग्रेसकी वडेमानकी नेता सुजो आच्या सुजाता जोष्ट राजनीतिबाट मात्र होइन देशबाटै पलायन हुने मनस्थितिमा पुग्या छिन् रे । होला पनि । अँठ्याउने हाँगो नभएसी थच्चिएर पनि त भेन । एकाताका तिन्को सानो चुरीफुरी र हाउभाउ थिएन गाँठे । गिर्जाउकी पुत्री भनेसी लंगटदेखि सबै प्रकारका माफियाहरु ज्यूहजुरी गर्दै पाउमै झुक्न पुग्थे । गिर्जाउ चल्देसी’ तिनको ओरालो लाग्ने दिन शुरु भयो । लाउडा, धमिजा काण्डकी मुख्य पात्र समेत
रहेकी तिन्का अघिल्तिर बोल्ने आँट लत्तरो कसैको थिएन । राजनीतिले पनि साह«ै उकास्ला जस्तो नदेखेपछि थाँतथुत गरेर जम्मा ग¥या श्री सम्पत्ति लिएरै हिड्न लागेकी छन् रे । हुन त ती पहिला पनि अप्ठेरो अवस्थामा बाहिरै थिइन । अब फेरि अप्ठेरो अवस्थामा आउन लाग्या देखेर सुइँकुच्चा ठोक्न लाग्या होलिन् ।
बाल्वाटारे जग्गाधनीको खोकाई
वाल्टाटार जग्गाको माफिया आच्या अरथमन्तरी विष्णु पौड्याल यतिबेला गजक्क फुल्या छन् । नफुल्ने कुरैै भएन । वाल्वाटारको जग्गा खाएका पौड्याललाई अख्तियारले पासोमा पार्ला भन्या त पर्धानमन्त्री खप्रओले अरथ मन्तरी बनाएर पुरस्कृत गरे । अब तिनलाई अख्तियारले टेडे आँखाले नि हेर्न सक्दैन । तिनै अरथ मन्तरीले अस्तिका दिन भन्या सबैले मेहनत गरे अर्थतन्त्रको आकार ठूलो बनाउन सकिन्छ । सुकुम्बासीबाट हुकुमबासी भएका पौड्यालको कुरा सुनेर घण्टाघरलाई समेत कुरी कुरी लागेर आयो । मेहनत कस्ले गर्ने ? बाँच्नकै लागि मेहनत गर्नेहरु बेल्चा चलाउन खाडी पठाउने अनि मेहनतको गुड्डी हाक्नु त अलि हजम भएन कि अरथ मन्तरी ज्यू ? कोरोनाको नाममा आर्जन गर्न सरकारमै बसेकाहरुले मेहनत गरेका छन्, भ्रष्टचार गर्नेहरुले पनि भ्रष्टाचार गर्न मेहनत गरेकै छन् विदेशी ऋण लिएर हजम गर्नेहरुले मेहनत गरेकै छन् । अब अरु कस्ले मेहनत गरिदिनु प¥यो ? वात बुझ्नमा छ ।
अनगिन्ती राजाहरुको रजाई
एउटा राजालाई हँटाएर यतिबेला मुलुकमा हजारौ राजाहरुले अवतार लिएका छन् । संघ, प्रदेश र स्थानीय निकायका मात्र होइन यतिबेला टोल टोलमा जन्मेका नयाँ राजाहरुको विगविगी छ । कसैले कम्युनिस्टको श्रीपेज लगाएका छन्, कसैले काँग्रेसको श्रीपेज लगाएका छन्, कसैले कस्को लगाएका छन् त कसैले कस्को लगाएका छन् । केन्द्रदेखि टोले राजाहरु सबैलाई निरीह जन्ताले पालिदिनु प¥या छ । टोले राजाहरुकै हैकम सानो हुँदैन । श्रीपेजकै आधारमा प्रहरी प्रशासनले यिनको ज्यादति बेवास्ता गरि दिनुपर्छ । यस्ता हजारौ नव राजाहरु पाल्नु भन्दा त टोल टोलमा कुकुर त्यो पनि भुस्याहा भए नि हुने पाल्दा बेश हुन्छ । कमसेकम तिनले विपत्तको जनाउ त दिन्छन् ।
सुती सुती खान लाज लाग्दैन ?
हाम्रो देशाँ एकजना पूर्व राष्ट्रपति छन्, डाक्टर उपाधिवाला । तर ती यतिबेला राज्यको ढुकुटीबाट सुती सुती खाएर बसेका छन् । खाएर बसेका मात्र कहाँ छन् र ? बसेको घर पनि राज्यकै, गाडी घोडा पनि राज्यकै, सुरक्षा पनि राज्यकै, औषधोपचार पनि राज्यकै । सुतेर, पल्टेर, घुमेर जसो गरेर खाए पनि तिनको जीवन राज्यकै गरिब जनताले तिरेको करबाट चलेको छ । डिङ्ग नभए पनि हिङ्ग बाँधेको टालो भनेझै अहिलसम्म तिनका वहालवाला राष्ट्रपतिकै धंगधंगी छ । काम नगरी खान त लाज पो हुन्छ त गाँठे । आफै टन्न भन्न भएकै हुन् । सधै पूर्वलाई भँजाएर खानु त अहिल हजम हुँदेन कि ? देशमा यत्रो कोरोनाको महामारी छ । यसो गाउँतिरकै अस्पतालमा गएर विरामी जाँचेर खाँदा के सानो पल्टिने हो र ? सिपै नभएका त हैनन् क्यारे ? डाक्टर पो हुन त ? विरामी जाँचेर खाँदा अरुले पनि वाहवाही नै गर्थै क्यारे । हुन त मुÏतमा खाने बानी परेपछि काम गर्ने जाँगर कहाँ आउँछ र ?
मन्त्री, सांसदलाई निःशुल्क
गरीब, निमुखा, असहायहरुको माइवाफ कोही हुँदैनन् भन्थे हो रै’छ । अब हेरम न चिनियाँ भोटेहरुले निर्यात गरिदिएको कोरोना भाइरसले यतिबेला संसार हल्लाई दिएको छ । नेपाललाई पनि लिरीविरी नपार्ने कुरै भएन । अनि कोरोना जाँचमा खप्रओ सरकारको निर्णय देख्दा र सुन्दा सबैले उदेक मानेका छन् । कोरोना परीक्षण मन्त्री र सांसदहरुलाई निःशुल्क रे अनि आम जनतालाई चाहिँ सशुल्क रे । क्या आश्चर्य । जसले लुटेर उपरीमाथि थपुरी सम्पत्ति जम्मा ग¥या छन् तिन्लाईचााहिँ निःशुल्क । अनि विहान बेलुका हातमुख जोड्न धौ धौ परेकाहरुलाईचाहिँ सशुल्क ? विनाश काले विपरीत बुद्धि भन्या यही हो । जसको निःशुल्क गर्नुपर्ने हो उसको ससुल्क, जसको ससुल्क हुनुपर्ने हो उसको चाहिँ निःशुल्क । आखिरी यो देशाँ अहिले दुई तिहाइको सर्वहारा वर्गको, अनि सर्वहारा वर्गको नेतृत्व गर्नेहरुको सरकार जो छ ।
कोदो र तोरीको मिसावट
कोदो र तोरी मिसाएर पिस्दा न तेल निस्कन्छ न पीठो निस्कन्छ । मिसाई सकेपछि दुईलाई छुट्याउन पनि साह«ै गाह«ै । यतिबेला पूर्र्व एमाले र पूर्व माउवादी केन्द्रको मिलन कोदो र तोरीको अवस्थामा पुग्या छ । दुवै एकै ठाउँमा बस्नै नसक्ने अवस्थामा पुग्या छन् । ठूलो भाग पाउने आशामा धाइफल तोडेर खपओसँग चोचोमोचो गर्दै मिसिन आएका प्रचण्डाउ तेलमात्र निकाल्न खोज्छन् भने दुई तिहाइ पु¥याएर शक्तिशाली पर्धान मन्तरी बन्ने धोको बोकेका खप्रओ पीठो मात्र निकाल्न खोज्छन् । एउटा तेल निकाल्न खोज्ने अनि अर्कोचाहिँ पीठो निकाल्न खोज्ने भएपछि नेकपामा भाँडभैलो मच्चिएको छ । दुवै अधयक्षे एक अर्कासँग कुकुर विराला झै ङ्यार्रङुरर्र गर्न थाल्या छन् । बोलचालै बन्द ग¥या छन् । खप्रओले माउवादीका सांसदमा विश्वास दिलाएका छन् भने प्रचण्डाउ आफ्नैले छोड्न थालेसी तिल्मिलाएका छन् । अन्तमा प्रचण्डाउको सत्तरीको सात हात लागी शून्य होला जस्तो पो छ ।
अन्तेमा
आफ्नै हात जगन्नाथ । यसपटकको विजयादशमीमा हाम्रा मन्त्री र सासदहरुले भक्कु दशै भत्ता पड्काएछन् । श्री ६ सरकारको पगरी थुगेका समरस्वाँठहरुले जनन्ताले दशै नमनाए नि आफूहरुले गतिलैसँग मनाएछन् । दशै हिन्दुु धर्मै मान्नेहरुका लागि हो । तर सांसदहरु र मन्त्री कतिपय क्रिश्चियन धर्म मान्नेहरु पनि छन् । तिनीहरुले समेत दशै भत्ता पड्काएका छन् । उनेरले दशै भत्ता पड्काएसी गोल्डग्रे जन्ताहरुले विरोध गरे । विरोध गर्नु स्वभाविक पनि हो । त्यसपछि झालेगाले, लाँग्रेस मधेशवादीहरुले रातारात विज्ञप्ती निकालेर भत्तो फिर्ता गर्ने घोषणा गरे । बल्ल्लबल्ल्ल हाता लागि भएको भत्तो कस्ले फिर्ता गर्छ ? आजसम्म एकै जना पनि सज्जन मन्त्री र सांसदले भत्तो फिर्ता गरेका छैनन् । गर्नेवाला पनि छैनन् । घण्टाघरलाई त एक औंस पनि फिर्ता गर्लान् भनेर विश्वास छैन ।
