उत्तरी छिमेकीको हेपाहा प्रवृत्ति

नेपालको उत्तरी छिमेकी चीनले विगत केही बर्ष यता नेपालप्रति हेपाहा प्रवृत्ति देखाउन थालेको छ । पूर्वको ताप्लेजुङ्गदेखि संखुवासभा, सोलुखुम्बु, हुम्ला, जुम्ला,कालिकोट, बझाङ्ग लगायतका चीनसँग सीमा जोडिएका जिल्लाहरुमा यतिबेला नेपाली भूभागहरु अतिक्रमको चपेटामा पर्न थालेको समाचार एकपछि अर्को गर्दै आउन थालेको छ ।
उत्तरका अधिकांश जिल्लामा भौगोेलिक विकटताका कारण समेत नेपाल सरकारको उपस्थिति छैन । जसका कारण त्यस ठाउँमा भएका सीमा स्तम्भहरुको अवस्था कस्तो रहेको छ, कति सीमा स्तम्भहरु हराए, कति जीर्ण अवस्थामा छन्, कति मर्मत गर्नुपर्नेछ भने कुरामा सरकार अनविज्ञ रहेको छ ।
विगतमा पनि संखुवासभाको भोटखोला क्षेत्रमा चिनियाँ पक्षले नेपाली भूभाग मिचेर धमाधम संचरना बनाएको समाचार नआएको होइन । नेपालतर्फका नदीनाला दोहन गरेर उसले सडक निर्माण र अन्य संरचना बनाएको भोटखोला गाउँपालिकका स्थानीहयहरुले बताउँदै आएका थिए । तर सरकारले ती कुनै पनि कुरामा वास्ता गरेको छैन,चासो देखाएको छैन । यतिमात्र होइन विश्वमा नेपाल र नेपालीको पहिचान बनेको विश्वकै सर्वोच्च शिखर सगरमाथा चीनमा पर्छ भनेर चीनको आधिकारिक सञ्चारमाध्यमले उल्लेख गर्दा पनि नेपाल
सरकारले त्यसमा आफ्नो आधिकारिक धारणा व्यक्त गर्न सकेन ।
पछिल्लो पटक चीनले हुम्लाको नाम्खा गाउँपालिका वडा नं. ६ मा नेपालको भूभाग मिचेर ९ वटा भवन बनाएको कुरा बाहिर आयो । वास्तविकता पत्ता लगाउन गएको टोली भवन निर्माण भएको स्थानसम्म नपुग्दै चिनियाँ सुरक्षाकर्मीहरुले फर्किएर जान माइकिङ्ग गरे । नेपाली पक्षले टाढैबाट निर्माण भएका भवनहरु हेरेर फर्कियो । यसमा नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल सरकारलाई दबाब दिएरै सरकारका प्रवक्ताबाट चीनले नेपाली भूभाग नमिचेको धारणा व्यक्त गर्न लगायो । जबकि सीमा अवलोकनमा गएको टोली फर्किसकेको थिएन, उसले यथार्थ कुरा लिखित रुपमा सरकारका सामू राखिसकेको थिएन । निरीक्षण टोलीले सरकारलाई आफ्नो प्रतिवेदन नै नबुझाएको अवस्थामा सरकरका प्रवक्ताले कसरी धारणा सार्वजनिक गरे ? सरकारको हतार हतारको धारणा बाहिरआउनुमा आम नेपालीमा आशंका त त्यसै पनि देखिन्छ । विगतमा नेपालको एउटा गाउँ नै चीनले कब्जा गर्दा नेपाल सरकारको प्रवक्ताको हाँस्यास्पद र लज्जास्पद धारणा बाहिर आएको थियो । उनले भनेका थिए त्यस गाउँका बासिन्दा नेपालमा बस्न नचाहेपछि बस्ती चीनतर्फ गएको रहेको छ ।
चीनले विगतमा केही बर्ष यता नेपालप्रति हेपाहा प्रवृत्ति देखाउन थालेको सीमा प्राविधिक, राजनैतिक दलहरुले बताउन थालेका छन् । हुम्लामा बनेका संरचना नेपालतर्फ बनाइएका हुन् कि चीनले आफ्नै भूमिमा बनाएको भन्ने निक्यौल गर्न यतिबेला विभिन्न राजनैतिक दलहरुले माग गरेका छन् तर सरकारले यस कुरामा प्रतिक्रिया र तदारुकता देखाएको छैन । उनीहल्ले माग गरेका छन् सीमा विवादका विषयहरु बाहिर आएका कुराहरुलाई वैज्ञानिक ढंगले समयमै टुंगो लगाउनुपर्छ । सत्तासीन नेकपाका नेताहरु, सत्ता बाहिरका अन्य राजनैतिक दल, नागरिक समाज, आम सर्वसाधारणले यसमा आवाज उठाउँदा पनि सरकारको मौनता थप रहस्यमय बन्न पुगेको छ । हुम्लाको सिमकोटमा केही समय अगाडि एक सर्वपक्षीय वैठक समेत बसेको र त्यस बैठकले चीनले निर्माण गरेका संचरना १२ नं. सीमा स्तम्भभन्दा एक किलोमिटरभित्र नेपालतर्फ रहेको निष्कर्ष निकालेको थियो । सरकारले बोल्दा उक्त सर्वदलीय समितिको निर्णयलाई आधार मान्नुपर्ने थियो । तर सरकारले त्यसो गरेन । हतारहतार हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई स्पष्टीकरण सोध्ने काम ग¥यो । यसबाट प्रष्ट हुन्छ सरकार वास्तविकता लुकाउदैछ । हुन त हो पनि वर्तमान सरकारलाई चिन रिसाउला भन्ने सबैभन्दा ठूलो पिरलो छ । चिनियाँ राजदुतकै सक्रियतामा दुई कम्युनिस्ट एक भएका थिए, सत्ता संकटका समयमा चिनियाँ राजदूतकै पहलबाट भएको समाधानलाई सरकारले ठूलो गुण सम्झिएको छ ।

तपाईको प्रतिक्रिया