कोरोनाका कारण नेपालीको मौलिक पर्व समेत प्रभावित

धरान÷ कोरोना भाइरसका कारण विश्व न तहसनस भएको बेला नेपालमा समेत यसको प्रभाव परेको छ । कोरोना भाइरसका कारण चैत्र ११ गतदेखि भएको लकडाउनले नेपालको सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक चाडपर्व, शैक्षिक क्षेत्र लगायतका क्षेत्र नै अस्तव्यस्त बनेका छन् ।
कोरोना भाइरसकै कारण नेपालको उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय, यातायात क्षेत्र तहसनहस हुदा यो बर्षको विश्वकर्मा समेत प्रभावित बनेको छ । कोरोनाको कहर अझै पनि यथावत रहेकोले अहिले पनि मठ मन्दिर बन्द छन् जसले गर्दा हरेक चाडपर्व, सांस्कृतिक पर्व समेत घरघरमै खुम्चिएर मनाउनुपर्ने बाध्यता छ ।
विगत बर्षहरुमा तामझाम र उत्साहका साथ मनाइने गरेको विश्वकर्मा पुजा यस बर्ष सबैले घर घरमा खुम्चिएर मनाउनुपर्ने बाध्यता रहेको छ । कोरोनाको कहर अझै पनि समाप्त नभएका कारण स्थानीय सरकार धरान उपमहानगरपालिकाले आस्थाकै केन्द्रविन्दु विश्वकर्मा मन्दिर बन्द गरिदिएपछि भने यो पर्व अझ प्रभावित बनेको हो ।
सरकारले असोज १ गतेदेखि सार्वजनिक सवारीका साधन चल्न दिने निर्णय गरेको भएपनि लामोे समयदेखि लकडाउनले थलिएका यातायात व्यवसायी तथा उद्योगी व्यवसायीहरुले यसपटकको विश्वकर्मा पूजा घर घरमै मनाएका हुन् ।
६ महिना पछि पहिलो पटक धरानबाट कोशी पहाडी क्षेत्र तेह्रथुम, धनकुटा, संखुवासभा हिडेका ट्याक्सीका चालकहरुले धरान ८ तीनकुनेमा रहेको विश्वकर्मा मन्दिर बन्द गरेको र व्यवसाय नै नभई थलिएका कारण यसपटकको विश्वकर्मा पूजामा त्यति उत्साह नभएको बताए ।
प्रदेश नंं १ कै आस्थाको केन्द्र विन्दु धरानमा रहेको विश्वकर्मा मन्दिरमा विगत बर्षहरुमा प्रदेश नंं १ का विभिन्न स्थानबाट सवारी साधन लिएर पूजा गर्न आउथे । यसपटक आस्था भएकै कारण मन्दिरमा फूल भेटी मात्र चढाएको स्थानीय गोपी योगी बताउनुहुन्छ ।
भीडभाडका कारण कोरोना संक्रमणको जोखिम हुने भन्दै मन्दिर प्रांगरणमा नेपाल प्रहरी, टूाफिक प्रहरी र नगर प्रहरी खटिएक छन् । अगाडिका बर्षहरुमा विश्वकर्मा पूजाका अघिल्लो दिन राती १० बजेदेखि हजारौ सवारी साधनको लाइन लाग्ने यो मन्दिरमा यसपटक सुरक्षाकर्मीले मन्दिरमा सवारी साधन रोक्न दिएको छैन ।
मन्दिरका पूजारी प्रहलाद रेग्मीले कोरोनाका कारण यस बर्ष विश्वकर्मा पूजा समेत प्रभावित बनेको बताउनुभयो । बर्षमा एक पटक यस मन्दिरमा थामिनसक्नु भीड हुने गरे पनि यस बर्ष मन्दिरमा पूजा गर्नेको संख्या न्यून रहेको बताउनुभयो । उहाले विश्वकर्मा पूजाकै दिन नया सवारी साधन किन्ने र पूजा गर्नेको संख्या पनि उल्लेख्य हुने गरेपछि यसपटक भने नया सवारी साधन खरिद गर्ने कोही नआएको बताउनुभयो ।
नेपालीका हरेक मौलिक पर्वलाई कोरोनाले प्रभाव पारेसंंगै विश्वकर्मा पूजालाई समेत कोरोनाले प्रभावित बनाएको छ । हरेक बर्ष कन्या संक्रन्तिका दिन मनाइने यो पर्व उद्योगीहरुले विभिन्न उपकरण्को पार्टपूर्जा र सवारी साधन धनीहरुले सवारी साधनको पूजा गर्ने प्रचलन छ । विश्वकर्मा पूजाको महत्व हुदाहुदै पनि खुलेर तथा रमेर मनाउन नपाएकोमा सर्वसाधारण दुःखीमात्र छैनन, नेपालीहरुको महान चाड दशै तथा तिहारलाई समेत कोरोनाले प्रभावित पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया