नेपाल–भारत र चीनसँग जोडिएका सीमा नाकाहरुमा प्रदेश नं. १ का विभिन्न स्थानमा धमाधम विओपी स्थापना राज्यको उपस्थिति समेत नभएको चिवा भन्ज्याङ र सुर्केथाममा गत हप्ता स्थापनासँगै विओपीको संख्या ३२ पुग्यो

धरान÷नेपाल–भारत र चीनसँग सीमा जोडिएका महत्वपूर्ण नाकाहरुमा प्रदेशनं १ का विभिन्न स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (विओपी) धमाधम स्थापना हुन थालेका छन् ।
गत हप्ता मात्र भारतसँग सीमा जोडिएको पाँचथरको महत्वपूर्ण नाका फालेलुङ्ग गाउँपालिका वडा न. ५ स्थित सुर्केथाम (भैसे) र याङ्गबरक गाउँ पालिका वडा नं. १ को चिवा भन्ज्याङ्गमा विओपी स्थापना गरिएका छन् । त्यसभन्दा अगाडि इलामको सलकपुर, समालबुङ्गमा विओपी स्थापना गरिएको थियो । चिवा भन्ज्याङ्ग भारतको उत्तरपूर्वी राज्य सिक्किमसँग सीमा जोडिएको छ भने सुर्केथाम सलकपुर, समालवुङ्ग पश्चिम बंगालसँग सीमा जेडिएका नाका हुन् ।
चिवा भन्ज्याङ्ग र सुर्केथाममा स्थापना गरिएको विओपीको प्रदेशसभा सांसद सीता थेवे र सशस्त्र प्रहरीका एक नं. प्रदेश प्रमुख डिआइजी वंशिराज दहालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
प्रदेश न. १ अन्तर्गत पर्ने ताप्लेजुङ्ग जिल्लाको ओलाङ्ग चुङ्गगोलादेखि संखुवासभा सम्मका विभिन्न महत्वपूर्ण नाकाहरुमा २० वटा विओपी स्थापनाको तयारी भइरहेको छ । प्रदेशसभा सांसद सीता थेवेले यस भन्दा अगाडि चिवा भन्ज्याङ्गमा सरकारको उपस्थिति नै नरहेको अवस्थामा विओपी स्थापना महत्पूर्ण कार्य भएको धरान साप्ताहिकलाई बताउनुभयो । उहाँले भन्नुभयो विओपी स्थापनासँगै अब भारतीय अतिक्रमण रोकिने, उच्च पहाडी क्षेत्रका, हिमाली क्षेत्रका वन्यजन्तु, जडिबुटी तस्करी,अवैध ढंगबाट हुने मानिसको आवागमन, अपराधका घट्नामा न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरीले प्रदेश नं. १ मा यस भन्दा अगाडि विभिन्न जिल्लामा गरी २६ वटा विओपी स्थापना गरिसकेको छ । स्थापना गरिएका २६ वटा मध्ये नेपाल भारत सीमातर्फ २५ वटा छन् भने चीनतर्फ संखुवासभाको किमाथांकामा एउटा रहेको छ । चालु आर्थिक बर्षमा २२वटा स्थापना गर्ने लक्ष्य अनुरुप चार वटा पाँचथर र इलाममा स्थापना भइसकेका छन् ।
रानी विराटनगरको र काँकडभिट्टाको दुईवटा गुल्म विओपीमा परिणत भएपछि विओपीको संख्या ३२ पुगेको हो ।यसै सम्बन्धमा सशस्त्र प्रहरी प्रदेश नं. १ का डिआइजी वंशीराज दहालसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो यो बर्ष २२ वटा स्थापना गर्ने लक्ष्य बमोजिम चारवटा स्थापना भइसकेका छन् । २१ वटा नेपाल भारत सीमामा स्थापना हुन्छन् भने एउटा चिनिया सीमा ओलाङ्गचुङ्गगोलामा हुनेछ । अब १८ वटा विओपी स्थापनाको काम अगाडि बढेको पनि उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो विओपी स्थापनाका लागि यस बर्ष पहाडी इलाकालाई पहिलो पाथमिकतामा राखेका छौं । हाम्रो फोकसिङ्ग नै पहाडी इलाका हुन्, डिआइजी दहालले भन्नुभयो । उहाँले भन्नुभयो विओपी द्विदेशीय सीमा रणनीतिक स्थानमा राख्नुपर्नेै हुन्छ । जहाँ पायो त्यही राखेर हुँदैन । वोर्डरबाट कति मिटर वर राख्ने, एउटा विओपी र अर्को विओपी बीचको दूरीको कुरा आउँछ । उहाँ भन्नुहुन्छ सीमाबाट आइडियल खोजेको चाहिँ तीन सय देखि पाँचसय मिटर भित्रमा आइडियल भन्ने हुन्छ । तर यो सबै ठाउँमा सम्भव हुँदैन । कतिपय स्थानमा खोला, नदी हुन्छ, कतिपय स्थानमा जमिनको बनावट मिलेको हुँदैन । त्यसैले कतिपय स्थानमा बोर्डरमा टाँसेर पनि, कतिपय स्थानमा एक किमी भित्र पनि विओपी स्थापना गरिएको डिआइजी दाहालले बताउनुभयो ।
विओपीले सीमाको सुरक्षा व्यवस्थालाई तराई वा पहाड जहाँ द्विदेशी केही सीमा विवाद भएको हुन्छ त्यस ठाउँलाई नियमित मनिटरिङ्ग गर्ने कामलाई पहिलो प्राथमिकता दिन्छ । झापाको महेशपुरमा केही विवाद देखिएको छ । सशस्त्र प्रहरी स्रोतले दिएको जानकारी अनुसार झापाको महेशपुरमा समेत चाँडै नै विओपी स्थापना गरिने भएको छ । डिआइजी दाहाल भन्नुहुन्छ कतिपय ठाउँमा विओपी राख्न स्थानको अभाव भएको छ । उहाँ भन्नुहुन्छ कतिपय स्थानीयहरु सशस्त्र प्रहरी आएर बसिदिए हुन्थ्यो भन्छन् भने कतिपय सशस्त्र आएर बसेमा आफूहरुलाई समस्या हुन्छ भनेर विरोध गर्छन् । सुनसरी, मोरङ्ग,झापामा यस्ता विवाद भएका छन् । हामी त्यसलाई मिलाउने प्रयास गरिरहेका छौं, डिआजी दहाल भन्नुहुन्छ । उहाँका अनुसार प्रदेश नं. १ मा ७७ वटा विओपी स्थापना गर्ने योजना छ । हाल ३२ वटा सञ्चालनमा रहेको र १८ वटा यसै आर्थिक बर्षमा स्थापना गर्दा ५० वटा हुन्छ र एउटा विओपीमा एक प्लाटुन अर्थात ३५ जना जनशक्ति रहन्छन् ।यहाँ स्मरणीय कुरा के छ भने झापा जिल्लाको भारतसँग सीमा जोडिएको कुल १ सय ४४.२ किमी छ । हाल झापाको काँकडभिट्टा, वाहुनडाँगी, केचना, पृथ्वीनगर, घेराबारी, कुन्जीबारी, गौरीगन्ज, टाघनडुब्बा, भागडुब्बामा विओपी स्थापना गरिएको छ भने चालु आर्थिक बर्षमा तिरिङ्ग, नकलबन्धा, सतिघट्टा, भद्रपुर, महेशपुर, ज्यामिरगढी, पाठामारी, आँपगाछी, पन्थापाडामा विओपी स्थापनाको तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया