धरान÷सरकारले किसानका लागि भनेर धेरै क्षेत्रमा अनुदान उपलब्ध गराउने गरेको छ । अझ त्यसमा पनि सरकारले त वर्षेनी किसान लक्षित यस्ता र उस्ता कार्यक्रम भनेर निकै प्रचार समेत गर्ने गर्छ ।
प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न जिल्लामा कृषि जोन र ब्लक कार्यक्रम सञ्चालनमा छन् । तर अफसोच ! सो अनुदान टाठाबाठाले नै हात पार्छन । किसान भने संधै जस्ताको त्यस्तै । हात लागि शून्य ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ९ कृषि जोनमा परेको क्षेत्र हो । जहाँ माछा पालन मात्रै नभएर सुर्यमुखि ब्लक कार्यक्रम समेत संचालनमा छ ।
सरकारले सो क्षेत्रका किसानको सहुलियतका लागि प्रशस्तै अनुदान दिएको छ । खेतीपाती देखि कृषिका हरेकजसो क्षेत्रमा किसानका नाममा राज्यले दिने अनुदान कृषि ज्ञान केन्द्र मार्फत प्रदान हुदै आएको छ । तर, त्यही अनुदानको विषय यतिबेला अनियमितता र पावरको दुरुपयोग गरिएको विवादमा तानिएको छ ।
सो भेगका किसानहरुले राज्यले जोन र ब्लकका नाममा दिदै आएको अनुदान आफुहरुले वर्षौ देखि नपाएको गुनासो गरेका छन् । टाठाबाठाले व्यक्तिगत प्रयोजनमा सरकारी अनुदानको दुरुपयोग गर्ने गरेको भन्दै यतिबेला सो भेगका किसानहरुको धैर्यताको बाँध फुटेकोे छ ।
अनुदान पाउने आशमा धान फल्ने खेतमा माछा पालन गरेका सयौं किसानहरु आफुहरुले पाउने अनुदान अर्कैले कुम्ल्याउने गरेकाले समस्यामा परेको बताउँछन् ।
प्रधानमंत्री आधुनिकीकरण परियोजना अन्र्तगतको माछा जोन केवल पहुँचवाल र हुनेखानेका लागि मात्र सीमित बनेको किसानहरुको आरोप छ । माछा जोन मात्रै नभएर गत आर्थिक वर्षदेखि संचालनमा रहेको सुर्यमुखि ब्लक कार्यक्रममा समेत व्यक्तिवाद हावी भएको किसानहरुको भनाई छ ।
उक्त कार्यक्रमका नाममा कृषि ज्ञान केन्द्र इनरुवाबाट गएको आर्थिक वर्षमा ३५ लाख अनुदान गएको देखिन्छ । तर सो अनुदान भने वास्तविक किसानले सदुपयोग गर्नै नपाएको बताउँछन् ।
स्वयं वडा अध्यक्ष समेत के कति कार्यक्रम वडामा आए, गए भन्ने विषय आफ्नो समेत जानकारीमा नभएको बताउँछन् । बराह क्षेत्र नगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपकबहादुर लिम्बुले सरकारी अनुदानमा मिलेमतो र घोटालाको आशंका गरेका छन् । अनुदान भने धरधरा कृषि सहकारीका नाममा प्राप्त हुने गरेको छ । तर, सहकारीका नाममा प्राप्त अनुदान के कति आए र सामग्री कहाँ छन् । स्वयं धरहरा सहकारीलाई नै थाहा छैन् ।
सहकारीका सचिव प्रेम नारायण अधिकारी ब्लक संचालक समेत हुन् । जसलाई धरहरा सहकारीले अनुदान भित्र्याउने जिम्मा त दियो तर ज्ञान केन्द्रबाट प्राप्त अनुदान वापतको ट्याक्टर, पावर टे«लर, स्प्रे टंकी जस्ता सामाग्री सहकारीमै पुगेन् ।
किसानहरुले अनुदानको विषय पारदर्शी गरिनु पर्ने भन्दै विरोध जनाएपछि सहकारी संस्थाले समेत अब भने उक्त विषय छानविनको दायरामा ल्याउने बताएको छ । धराहरा सहकारी संस्थाका अध्यक्ष कृष्णहरि अधिकारीले यसको वास्तविक पत्ता लगाएर अगाडि बढ्ने बताए । जोन र ब्लक कार्यक्रमको विषय छानविन हुनुपर्ने अडान लिएका किसानहरुले किर्ते र झुटो विवरण भरि अनुदान कुमल्याउदै आफुखुशी गर्ने उपर कार्वाहीको माग समेत गरेका छन् ।
जोन र ब्लक कार्यक्रमलाई केही व्यक्तिले पेवा बनाउँदै आर्थिक उपार्जनको माध्यम बनाउँदै आएको प्रति किसानको चरम आक्रोस देखिएको छ । उनीहरुले कृषि ज्ञान केन्द्रको समेत मिलेमतोको आशंका गरेका छन् ।
उता कृषि ज्ञान केन्द्र इनरुवाले भने किसानहरुले लगाएको आरोपमा सत्यता नभएको प्रष्ट्याएको छ । कृषि ज्ञान केन्दका प्रमुख नुनुलाल उराँवले जोन र ब्लक कार्यक्रमको छानविन गर्ने बताए ।
किसानहरुले भने जोन र ब्लक कार्यक्रम उपरको दुरुपयोगमा संलग्नलाई कार्वाही नगरिए सम्म दबाब मूलक कार्यक्रम जारी राख्ने बताएका छन् ।
