प्रचण्डमाथि भएको जुत्ता प्रहारको सन्देश

माओवादीका पूर्व अध्यक्ष, पूर्व प्रधानमन्त्री एवम् नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालमाथि गएको हप्ता राजधानीको एउटा कार्यक्रममा एकजना युवाले जुत्ता प्रहार गरेपछि हप्ताभरि अर्थात जुत्ता प्रहारको घट्नाले राम्रै चर्चा पायो ।
हुन त प्रचण्डमाथिको जुत्ता प्रहारको घट्ना पहिलो भने होइन । यस भन्दा अगाडि उनीमाथि राजधानीकै भृकुटी मण्डपमा थप्पड प्रहार भएको थियो । बारम्बार प्रचण्डले आफूलाई सिध्याउने षड्यन्त्र भएको भन्दै राज्यबाट सुरक्षार्थ ठूलो संख्यामा प्रहरी समेत लिएका छन् । तर पनि उनीमाथि आक्रमण हुने क्रम रोकिएको छैन ।
प्रचण्डमाथि पटक पटक हुने आक्रमणको सन्देश के हुन सक्छ ? राज्यको शक्तिशाली पदमा पुगिसकेका प्रचण्डमाथि आक्रमण कसबाट हुँदै आएको छ ? किन उनीमाथि नै आक्रमण कन्द्रित हुँदै आएको छ ? प्रचण्डमाथिको आक्रमणको प्रमुख कारण आक्रोश हो भन्दा अन्यथा हुँदैन । उनीमाथि अरुले नभएर आफ्नै पूर्व लडाकुहरुले आक्रमण गरेका छन् । लाखौ युवाहरुलाई हतियार बनाएर प्रचण्डले अनेकौ तिकडम गरेर सत्ता, शक्ति र सम्पत्ति आर्जन गरे । उनले हिजोका कथित जनयुद्धमा स्कूल पढ्दै गरेका बालबालिकाहरुलाई जुन आश्वासन दिएर आफ्नो पछि लगाए आज सबैलाई बेसहारा बनाएर सडकमा छोडिदिए । न उनले राजनैतिक मिशन पूरा गरे न लाखौ युवा युवतीको व्यवस्थापन नै गरे ।
प्रचण्डकै कारण आज लाखौ युवा युवतीको भविष्य अन्धकार भएको छ । न उनीहरुमा शैक्षिक योग्यता छ न कुनै सीप ज्ञान कतिपय लडाकूहरु अपांग भएका छन, अझसम्म पनि आफ्नो शरीर भित्रका छर्रा, गोली उनीहरुले आर्थिक अवस्थाका कारण निकाल्न सकेका छैनन । लाचार भएर कष्टपूर्ण जीवन बाँचिरहेका छन् । राजनैतिक मिशन पूरा गरेर लडाकूहरुको जिविकोपार्जनका लागि व्यवस्थापनमात्र गरिदिएको भए प्रचण्डमाथि बारम्बार आक्रमण सम्भव हुने थिएन । तिनै लडाकुको ढाडमा टेकेर, उनीहरुको बलबुताले प्रचण्डले आजको हैसियत प्राप्त गरेका हुन् । जसका कारण उनले आजको हैसियत प्राप्त गरे आज उनीहरुलाई वेवास्ता गरेपछि अहिलेमात्र होइन आगामी दिनमा समेत उनीमाथि आक्रमणका क्रमहरु यथावत रहन सक्छ ।
लडाकूहरुका नाममा शिवरहरुमा भएको अरबौ रुपैया हिनामिना, आफ्ना नातागोता, छोरी ज्वाई, भान्जा भान्जीहरुलाई आर्थिक रुपमा सरल बनाउने काममा प्रचण्ड लागेपछि हिजोका लडाकूहरु आक्रोसित हुनु स्वभाविक हो । अधिकांश लडाूहरुले हिजोका ती त्रासदीपूर्ण घट्नाहरु विर्सिएका छैनन् । जीवन नै जोखिममा राखेर प्रचण्डलाई साथ दिएका थिए । आज त्यसरी साथ दिनेहरुको जीवन समस्याग्रस्त छ, शारिरीक अपंगता छ । यस्तो अवस्थामा त्यसरी बलपूर्वक बाँच्नेहरुले के गर्लान् ? उनीहरु भित्रको आक्रोसको अन्तिम विकल्प आक्रमण भन्दा अरु केही हुन सक्दैन । आक्रमणबाट उनीहरुले आफ्ना पीडा, अभाव विर्सेर आत्मसन्तुष्टि लिन्छन् । भलै यो कदम गलत होला तर उनीहरु यही दिशातर्फ अग्रसर हुन्छन् । प्रचण्डमाथिको पछिल्लो आक्रमण यसैको प्रतिविम्व हो । प्रचण्डमाथि एक हप्ता अगाडि भएको आक्रमण अन्तिम अवस्यै होइन । यस्ता आक्रमण आगामी दिन पनि पूर्व लडाकू, परिवार गुमाएका आफन्त, विस्थापित र तिनका आफन्तहरुबाट भई नै रहन्छन् । राज्यले उनका निम्ति कहिलेसम्म सुरक्षाको व्यवस्था गरिरहनु पर्ने हो ? के प्रचण्डका लागि राज्यले सदैव करोडौ रुपैया खर्च गरेर सुरक्षाको व्यवस्था गरिरहनु पर्ने हो ?

तपाईको प्रतिक्रिया