माओवादीका पूर्व अध्यक्ष, पूर्व प्रधानमन्त्री एवम् नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालमाथि गएको हप्ता राजधानीको एउटा कार्यक्रममा एकजना युवाले जुत्ता प्रहार गरेपछि हप्ताभरि अर्थात जुत्ता प्रहारको घट्नाले राम्रै चर्चा पायो ।
हुन त प्रचण्डमाथिको जुत्ता प्रहारको घट्ना पहिलो भने होइन । यस भन्दा अगाडि उनीमाथि राजधानीकै भृकुटी मण्डपमा थप्पड प्रहार भएको थियो । बारम्बार प्रचण्डले आफूलाई सिध्याउने षड्यन्त्र भएको भन्दै राज्यबाट सुरक्षार्थ ठूलो संख्यामा प्रहरी समेत लिएका छन् । तर पनि उनीमाथि आक्रमण हुने क्रम रोकिएको छैन ।
प्रचण्डमाथि पटक पटक हुने आक्रमणको सन्देश के हुन सक्छ ? राज्यको शक्तिशाली पदमा पुगिसकेका प्रचण्डमाथि आक्रमण कसबाट हुँदै आएको छ ? किन उनीमाथि नै आक्रमण कन्द्रित हुँदै आएको छ ? प्रचण्डमाथिको आक्रमणको प्रमुख कारण आक्रोश हो भन्दा अन्यथा हुँदैन । उनीमाथि अरुले नभएर आफ्नै पूर्व लडाकुहरुले आक्रमण गरेका छन् । लाखौ युवाहरुलाई हतियार बनाएर प्रचण्डले अनेकौ तिकडम गरेर सत्ता, शक्ति र सम्पत्ति आर्जन गरे । उनले हिजोका कथित जनयुद्धमा स्कूल पढ्दै गरेका बालबालिकाहरुलाई जुन आश्वासन दिएर आफ्नो पछि लगाए आज सबैलाई बेसहारा बनाएर सडकमा छोडिदिए । न उनले राजनैतिक मिशन पूरा गरे न लाखौ युवा युवतीको व्यवस्थापन नै गरे ।
प्रचण्डकै कारण आज लाखौ युवा युवतीको भविष्य अन्धकार भएको छ । न उनीहरुमा शैक्षिक योग्यता छ न कुनै सीप ज्ञान कतिपय लडाकूहरु अपांग भएका छन, अझसम्म पनि आफ्नो शरीर भित्रका छर्रा, गोली उनीहरुले आर्थिक अवस्थाका कारण निकाल्न सकेका छैनन । लाचार भएर कष्टपूर्ण जीवन बाँचिरहेका छन् । राजनैतिक मिशन पूरा गरेर लडाकूहरुको जिविकोपार्जनका लागि व्यवस्थापनमात्र गरिदिएको भए प्रचण्डमाथि बारम्बार आक्रमण सम्भव हुने थिएन । तिनै लडाकुको ढाडमा टेकेर, उनीहरुको बलबुताले प्रचण्डले आजको हैसियत प्राप्त गरेका हुन् । जसका कारण उनले आजको हैसियत प्राप्त गरे आज उनीहरुलाई वेवास्ता गरेपछि अहिलेमात्र होइन आगामी दिनमा समेत उनीमाथि आक्रमणका क्रमहरु यथावत रहन सक्छ ।
लडाकूहरुका नाममा शिवरहरुमा भएको अरबौ रुपैया हिनामिना, आफ्ना नातागोता, छोरी ज्वाई, भान्जा भान्जीहरुलाई आर्थिक रुपमा सरल बनाउने काममा प्रचण्ड लागेपछि हिजोका लडाकूहरु आक्रोसित हुनु स्वभाविक हो । अधिकांश लडाूहरुले हिजोका ती त्रासदीपूर्ण घट्नाहरु विर्सिएका छैनन् । जीवन नै जोखिममा राखेर प्रचण्डलाई साथ दिएका थिए । आज त्यसरी साथ दिनेहरुको जीवन समस्याग्रस्त छ, शारिरीक अपंगता छ । यस्तो अवस्थामा त्यसरी बलपूर्वक बाँच्नेहरुले के गर्लान् ? उनीहरु भित्रको आक्रोसको अन्तिम विकल्प आक्रमण भन्दा अरु केही हुन सक्दैन । आक्रमणबाट उनीहरुले आफ्ना पीडा, अभाव विर्सेर आत्मसन्तुष्टि लिन्छन् । भलै यो कदम गलत होला तर उनीहरु यही दिशातर्फ अग्रसर हुन्छन् । प्रचण्डमाथिको पछिल्लो आक्रमण यसैको प्रतिविम्व हो । प्रचण्डमाथि एक हप्ता अगाडि भएको आक्रमण अन्तिम अवस्यै होइन । यस्ता आक्रमण आगामी दिन पनि पूर्व लडाकू, परिवार गुमाएका आफन्त, विस्थापित र तिनका आफन्तहरुबाट भई नै रहन्छन् । राज्यले उनका निम्ति कहिलेसम्म सुरक्षाको व्यवस्था गरिरहनु पर्ने हो ? के प्रचण्डका लागि राज्यले सदैव करोडौ रुपैया खर्च गरेर सुरक्षाको व्यवस्था गरिरहनु पर्ने हो ?
