विराटनगर÷भारत सरकारको दुई अर्बको आर्थिक एवम् प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको पूर्वाञ्चलकै प्रमुख व्यापारिक नाका विराटनगरस्थित एकीकृत जाँच चौकी (आइसिपी) को हिजो मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्स मार्फत स्विच दबाएर समुद्घाटन गर्नुभएपछि विधिवत रुपमा सञ्चालनमा आएको छ ।
विराटनगर महानगरपालिका वडा नं. १८ बुधनगर भेडियारीमा वि.सं. २०७४ अर्थात सन् २०१७ देखि दुवै देशबीच भएको सहमति अनुसार भारतको गुजरातस्थित दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालिले निर्माणको काम थालेको थियो । सहमति अनुसार नेपाल सरकारले जग्गा उपलब्ध गराएर्को र निर्माण, प्राविधिक सम्पूर्ण खर्च भारत सरकारको रहेको छ । सन् २०१८ भित्रैमा सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि नेपाल सरकारले समयमै जग्गा उपलब्ध गराउन नसक्नु, बारम्बारको स्थानीयको अवरोध, बाढी लगायतका कारणले केही ढिलाई भएको बाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले बताउनुभयो ।
सहसचिव ढकालका अनुसार सन् २०१९ को सेप्टेम्बरमा सञ्चालनको तयारी भएपनि केही प्राविधिक कारणले तीन महिना ढिला हुन गएको हो । उहाँले भन्नुभयो आइपिसी सञ्चालनको सम्पूर्ण जिम्मा भन्सार कार्यालयको हुने छ । यस भन्दा अगाडि वीरगञ्जमा आइसिपी सञ्चालनमा ल्यााइएको थियो । सह सचिव ढकालले भन्नुभयो सन् २००२ मा आइसिपी सम्बन्धमा दुई मुलुकबीचमा सहमति भएको थियो । त्यसबेला नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा जाँदा नेपालका प्रमुख व्यापारिक नाकाहरु वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा आइसिपी निर्माणका लािग आर्थिक तथा प्राविधिक सहयोग भारतले गर्नेै र त्यसका लागि जग्गा नेपाल सरकारले उपलब्ध गराउने समझदारी भएको थियो । तर नेपालको राजनैतिक अस्थिरता, उतार चढाव आदिका कारण त्यस समझारीले ठोस रुप लिन सकेन ।
भिडियो कन्फ्रेन्समार्फत दुवै देशका प्रधानमन्त्रीले स्विच दबाएर हिजो उद्घाटन गरिएको विराटनगर बुधनगर भेडियारी स्थित एकीकृत जाँच केन्द्र १ सय २९ विघा क्षेत्रफलमा फैलिएको छ । यसका अलावा केन्द्रको परिषर बाहिर समेत ४० विघा जग्गा राखिएको छ । नेपाल भारतको सीमालाई आधार बनाई दुवै देशका एकीकृत जाँच चौकीको दूरी ३ सय मिटर राखिएको छ भने चालीस विघा बाँकी रहेको परिसर बाहिरको जग्गामा दुई लेनको सडक हाल निर्माण गरिए पनि पछि त्यसलाई बढाएर ६ लेनको बनाइने सहरी विकास तथा भवन निर्माण विभागका प्राविधिक राजु ढकालले बताउनुभयो । दुवै देशका आइसिपी अत्याधुनिक रहेका छन् ।
परिषरभित्रै सम्पूर्ण सुविधाहरु रहेका छन् ।
आइसिपी परिसरभित्र सुरक्षालाई पहिलो प्राथमिकता दिइएको छ । यसभन्दा अगाडि उद्योगी व्यवसायीहरुले आयात निर्यात गर्ने वस्तुको सुरक्षाकै कारण पिरोलिनु परेको थियो । सुरक्षित पार्किङ्ग नहुँदा स्थानीय तथा वाह्य डनहरुले मालसमान गायव बनाइदिने, नास
गरिदिने गरेका थिए । अब भने व्यवसायी वा उद्योगीहरुबाट यो चिन्ता हँटेको छ । हाल समुद्घाटनसँगै सञ्चालनमा आएको आइसिपी परिसरमा चौतर्फी सुरक्षा टावर राखिएको छ । मालवाह सवारी साधनहरु भारतीय आइसिपी हुँदै नेपालको आइसिपीमा प्रवेश गर्ने, परिसरभित्रै सवारी साधनलाई धर्मकाँटामा राखेर तौल गर्ने, हरेक मालवाहक सवारी साधनहरुका लागि मात्र नभएर नेपाल भित्रिने पर्यटकीय सवारी साधनहरुका लागि पाकिङ्गको समुचित व्यवस्था, राखिएका सवारी साधन आफू अनुकूल बाहिर निकाल्ने व्यवस्था, एकै पटक १३० वटा मालवाहक सवारी साधनको पार्किङ्गको व्यवस्था, ३० हजार लिटरको स्वच्छ खानेपानी ट्यांकीको व्यवस्था, जाँच केन्द्रमा संकलन भएकोले फोहोर व्यवस्थापन कक्ष, कोल्ड स्टोर, इन्टरनेट, भन्सार, अध्यागमन, बैंक भण्डार लगायतका मात्र नभएर मालवाहक सवारी साधनका चालकहरुका लागि आरम कक्षहरु समेत निर्माण गरिएको छ ।
नेपाल भारतका प्रधानमन्त्रीले विराटनगर उपमहानगरपालिका वडा नं. १८ बुधनगर भेडियारीमा हिजो मंगलबार भिडियो कन्फ्रेन्समार्फत स्विच अन गरेर आइसिपी (एकीकृत जाँच केन्द्र) को समुद्घाटन गर्नुभएको छ । त्यस जाँच केन्द्रबाट उद्योगी, व्यवसायीहरुलाई के कस्ता लाभ हुन्छ ?
अमित शारढा (युवा उद्योगी एवम् शारढा ग्रुपका सञ्चालक) :–
यो अत्यन्तै राम्रो हो । यसले दुवै देशको आयात निर्यातमा ठूलो सघाउ पुग्छ । यसबाट व्यवसायीले चाँडो सेवा पाउँछन् । पहिले भारतबाट सामान आउँदा नेपालको भन्सारमा राख्ने ठाउँसम्म थिएन । आइसिपी निर्माणको मुख्य उद्देश्य सबै सुविधा व्यवसायीलाई एकै ठाउँबाट दिने भन्ने हो । क्लियरेन्स चाँडो हुन्छ । यसबाट ड्यामरेज चार्ज लाग्दैन । आइसिपी वीरगञ्जमा पनि सञ्चालनमा आएको छ । यसको फाइदा त्यहाँका व्यापारीहरुले लिएका छन् । केही कमी कमजोरी भए पनि त्यसमा सुधार हुँदै जाला । विराटनगरकोे आइसिपीको अर्को महत्वपूर्ण भाग के हो भने त्यहाँ रेल्वे ट्रयाक समेत आउने भएकोले एउटा सुख्खा बन्दरगाह पनि चाहिन्छ ।
नविन रिजाल (रिजाल ग्याँस, रिजाल ट्यांकीका सञ्चालक) :–
यसबाट व्यवसायीहरुले धेरै झन्झट विगतको जस्तो व्यहोर्नु पर्दैन । यसबाट समयमै जाँच पास हुने, समयमै क्रस चेकिङ्ग हुने, समयमै बिलिङ्ग हुने गर्छ । एकदमै फराकिलो ठाउँ भएकोले, इन्टरनेटको हाइटेक सुविधा भएको, सबै कुरा भएको र बजार क्षेत्र भन्दा पर भएकोले पार्किङ्गको समस्याबाट मुक्त हुने भएकोले व्यवसायीले यसबाट ठूलो लाभ उठाउन सक्छन् । आइसिपीबाट अब हरेक उद्योगी व्यवसायीले प्रत्येक कन्टेनरबाट १०–१५ हजार बचत गर्न सक्छन् । पहिला डिटेन्सन लाग्थ्यो समयमा जाँच पास नभएर, ट्राफिक व्यवस्थानको समस्याले अब त्यो लादैन । अब सेम डेमा काम हुन्छ ।
नवल कावरा (कावरा ग्रुपका म्यानेजिङ्ग डाइरेक्टर):–
यो अत्यन्तै राम्रा हो । यसबाट एउटै ठाउँबाट सबै काम हुन्छ । नेपाल र भारतका भन्सारको सबै काम एउटै थलोबाट हुनु अत्यन्तै सकारात्मक कुरा हो । अब अहिले आइपसिपी शुरु गर्नुभन्दा भारतको मिरगञ्ज पुल निर्माण गरिदिएको भए अझ राम्रो हुने थियो । फलामको पुल भत्किएको छ । हेभि लोडका वा ४० टन भन्दा बढीको माल आउन दिएको छैन । आइसिपी दुई तीन महिना पछि सञ्चालन गर्दा पनि हुन्थ्यो । त्यो पुल बनाउनु अहिले टड्कारो आवश्यकता थियो ।
कृष्णकुमार अग्रवाल (उद्योगी):–
यसको व्यवसायिक रुपमा ठूलो फाइदा छ । यसले सबैभन्दा पहिला समयको बचत हुन्छ । पछि गएर यो सुख्खा बन्दरगाहमा रुपमान्तरण हुन सक्छ । ड्राइपोर्टको कन्सेप्टलाई यसले ठूलो मद्दत गर्छ । आज वीरगञ्जमा ड्राइपोर्ट छ त्यसबाट त्यहाँका व्यापारीले लाभ लिएका छन् । रेल्वेबाट सिधै सामान आउँछ । पहिला जोगबनीमा समान आउँदा लोड गरेर ल्याउनुपथ्र्यो । अब सिधै नेपालभित्र आउँछ । भन्सार पनि दुवै देशको एकै ठाउँमा भयो । पहिला भारततिर र पछि नेपालतिर लाइन लाग्नु पथ्र्यो । दुई तीन दिन त्यसरी बस्नु पथ्र्यो । नेपालमा इन्ट्री भएर आफ्नो सामान
सुरक्षित आइपुग्छ । ठूला ठूला कन्टेनरहरु पनि त्यहाँबाट आउँछ । हाम्रा उत्पादनहरु यहीबाट लोड भएर पठाउन सक्छौं । पहिला ट्रान्सपोर्टबाट भारतमा समान पठाउनु पथ्र्यो । नेपाल कस्टम र भारत कस्टम एकै ठाउँमा हुनु नै सबैभन्दा ठूलो कुरा हो । हामी यसलाई हृदयदेखि नै समर्थन गर्छौ । सरकराले यो राम्रो काम गरेको छ ।




