नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न गोरखा होटल प्रा.लि. सञ्चालनमा

इटहरी÷वि.सं. २०५६ साल असार २ गते डिपार्टमेन्ट स्टोरको अवधारणा राखी सञ्चालनमा आएको गोरखा डिपार्टमेन्ट स्टोरले आज पौष १६ गतेबाट इटहरीमा अत्याधुनिक सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरले यस भन्दा अगाडि इटहरी हुँदै मोरङ्गको विराटचौक, पथरी, झापाको दमक, सुनसरीकै धरानमा आफ्ना शाखाहरु विस्तार गरी पूर्वैली उपभोक्ताहरुलाई सेवा प्रदान गर्दै आएको छ । स्टोरले पछिल्लो पटक नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्षलाई सफल बनाउन वा भ्रमण बर्षका अवसरमा बाहिरबाट आएका पाहुनाहरुलाई स्तरीय सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ गोरखा होटल प्रा.लि. सञ्चालनमा ल्याएको होटल सञ्चालक एवम् गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यले बताउनु भएको छ ।
स्टार स्तरको सेवा सुविधा रहेको गोरखा होटल प्रा.लि.मा सोमबार सञ्चालक आचार्यले एक पत्रकार सम्मेलनको आयोजना गरी होटलको सेवा सुविधाका सम्बन्धमा जानकारी गराउनु भएको थियो । आचार्यले पर्वाञ्चलकै सबैभन्दा ठूलो तथा पहिलो डिपार्टमेन्ट स्टोरको रुपमा रहेको गोरखा डिपार्टमेन्ट स्टोर स्थापना गरी सर्वसाधारण ग्राहकको सेवामा समर्पित हुँदै आएको सबैमा अवगतै रहेको भन्दै उपभोक्तालाई आवश्यक पर्ने दैनिक घरायसी उपभोग्य सामाग्रीहरुको साथै अन्य सम्पूर्ण किसिमका सामाग्रीहरु एउटै छानामुनिबाट ग्राहकहरुलाई सर्वसुलभ सहज एवम् सरल मूल्यमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरी आफ्नो स्थापनाको दुई दशकको अवधिमा आफना व्यवसायिक प्रतिष्ठानहरु विस्तार अभियानलाई प्राथमिकता दिँदै आएका छौं ।


उहाँले भन्नुभयो ग्राहहरुको सेवा र बजारको मागलाई मध्यनजगर गर्दै व्यवसायिक गतिविधि विस्तार गर्ने क्रममा व्यवसायिक नगरी इटहरीमा अत्यन्तै सुविधा सम्पन्न गोरखा होटल प्रा.लि. सञ्चालन सम्बन्धमा जानकारी गराउन पाउँदा गौरवको अनुभूति गरेको छु । सञ्चालनमा आएको होटलमा स्विट रुम, एक्ज्युकेटिभ रुम र डिलक्स रुम गरी ४२ रुम रहेको छ । कुल चालीस करोडको लागतमा स्थापना गरिएको गोरखा होटलको उद्घाटनको क्रमलाई साता व्यापी सञ्चालन गर्ने योजना सञ्चालकको रहेको छ । पूर्वी नेपालका विभिन्न प्रशासनिक, सुरक्षा निकायका अधिकारीहरु राजनैतिक तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, उद्योगी, व्यापारी तथा अन्य विभिन्न पेशामा आवद्ध पेशाकर्मीहरुलाई चरणवद्ध रुपमा आमन्त्रण गरी सप्ताह व्यापी कार्यक्रम गर्दै होटको उद्घाटन कार्यक्रम सञ्चालन गरिने सञ्चालक आचार्यले जानकारी दिनुभएको छ । उहाँले मुनाफा हेतु मात्र नभएर सेवाभावले समेत होटल सञ्चालनमा ल्याएको बताउँदै इटहरी पूर्वी नेपालको खेलकुदको हवको रुपमा पनि विकसित हुँदै गएकोले यहाँ हुने अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय स्तरका खेलकुद प्रतियोगिताहरुमा सहभागी हुन आउने खेलाडी तथा खेलकुदसँग सम्बन्धित व्यक्तित्वहरुलाई होटलले विशेष सहुलियत दिने नीति अवलम्बन गरेको छ ।
सञ्चालक आचार्यले भन्नुभयो मुलुकमा पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्दै देशमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यले भ्रमण बर्ष २०२० भव्यताका साथ मनाउने अभियानमा हामी जुटेका छौं । यस क्रममा गोरखा होटलको सफल सञ्चालनबाट पनि राज्यको लक्ष्य अनुरुप भ्रमण बर्ष २०२० सफलताका लागि सहयोग र साथ पुगोस भन्नेमा आफूले विश्वास लिएको बताउनुभयो । विशेष कामको शिलशिलामा तथा भमण गर्ने उद्देश्यका साथ पूर्वी नेपाल आउने आन्तरिक तथा वाह्य पर्यटकको माग र आवश्यकतालाई मध्यनजजर गरी सञ्चालनमा आएको सुविधा सम्पन्न गोरखा होटल प्रा.लि.ले ग्राहकहरुको सेवा, सुविधा र सन्तुष्टिलाई विशेष प्राथमिकता दिने पनि सञ्चालक आचार्यले प्रष्ट पार्नुभयो । यहाँ स्मरणीय कुरा के छ भने पाँचतारे होटलमा लामो समय सम्म काम गरिसकेका अनुभवि कर्मचारी, कुकको व्यवस्था होटलले गरेको छ । आठ तला रहेको होटलमा स्विट रुम ६५०० र एक्ज्युकेटिभ र डिललक्स रुमको २५ सय देखि ५ हजारसम्म रुम चार्जको व्यवस्था गरिएको छ । यति ठूलो लगानीमा होटल सञ्चालनमा ल्याउन लाग्नु भएको छ , इटहरीमा भएका अन्य होटलहरु सञ्चालन हुन नसकेको अवस्था छ । यस्तो जोखिम किन उठाउन लाग्नु भएको त भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा आचार्यले भन्नुभयो काम गर्न जोखिम मोल्नै पर्छ । यसभन्दा अगाडि इटहरीमा यस प्रकारको सुविधा युक्त होटल थिएनन अथवा पूर्वाञ्चलमै यस स्तरको होटल खुलेका छैनन् । सो अवसरमा इटहरी उद्योग वाणिज्य संघका उपाध्य दिवश पोखे्रल, मणिराज भट्टराईले शुभकामना दिनुभएको थियो भने सञ्चालन सचिन पोख्रेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया