जनकपुर बम विस्फोट र गृहमन्त्रीको अभिव्यक्ति

हत्या हिँसाको त्रासले नेपाली मानसिकता फेरि एक पटक झस्किएको छ । राज्य शक्ति आर्जनको सबैभन्दा सजिलो माध्यम बनेको छ हत्या हिंसा । पछिल्लो पटक धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका महेन्द्रनगर सखुवामा भएको विस्फोटमा नेपाली प्रहरीका अधिकृत प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएपछि नेपालमा कुनै न कुनै रुपमा हत्या हिंसाको राजनीतिले निरन्तता पाएको छ ।
नेपालमा ७६ बर्षको अवधिमा चार पटक व्यवस्था परिवर्तन भए भने आठ पटक नयाँ संविधान जारी भएका छन् । २०४७ साल अघि पनि राज्य शक्ति हत्याउन नेपालका राजनैतिक दलहले व्यत्तिल हत्या र हिंसाकै सहारा लिएका थिए भने २०५२ सालपछि व्यक्ति हत्या, भौतिक संरचनाको विनास, सामुहिक हत्याको श्रृंखलाले विश्व राजनीतिमै चर्चा बटुल्यो । ०६२÷०६३ पश्चात यस्ता घट्ना क्रममा शून्यता आउला भन्ने नेपालीहरुको अकांक्षामा तुसारापात भएको छ ।
राजनैतिक कथित आवरणको खोल अ‍ोढेर गरिने व्यक्ति हत्या, भौतिक संरचनाको विनासले कसैको हित गर्दैन । त्यस्ता अपराधिक घटनाका पात्रहरुले दण्डित पनि हुनुपर्दैन । यस्तै प्रकृतिका घटनाका अपराधीहरुले कठोर सजाय पाउँछन् भने राजनैतिक लेपन लगाइएको जघन्य अपराधमा समेत अपराधीहरु सम्मानित हुन्छन्, सत्तासीन हुन्छन् । यही गलत प्रवृतिका कारण धनुषाको क्षिरेश्वर नगरपालिका वडा नं. ५ का राजेश्वर साहको घरमा भएको बम विस्फोटमा संलग्नहरु प्रक्राउ परे पनि उनीहरु राजनैतिक बन्दी भएर बस्नेछन् । त्यस्तो जघन्य अपराधमा संलग्न भएवापतको सजाय उनीहरुले पाउँदैनन् वा दिइदैन । सम्भवत उनीहरुका त्यस्ता अपराधलाई माफी दिइन्छ ।
धनुषा वम काण्ड पश्चात नेपालका गृहमन्त्री रामबहादुर थापा मगरले जुन प्रतिक्रिया दिए त्यसलाई अब नेपाली समाजले कसरी पचाउला ? बम काण्डलाई उनले अततायी घट्ना भनेका छन् । यस प्रकारका घटना २०५२ सालदेखि २०६२ सालसम्म कति भए ? त्यो कस्ले गराएको थियो ? त्यस्ता घटनामा १८ हजार नेपालीले ज्यान गुमाउनु परेको थियो । खरबौको भौतिक संरचना कस्ले विनास ग¥यो ? मन्दिरका पूजारीको टुप्पी काट्ने, हत्या गर्ने काम कसले ग¥यो ? बैंकहरु कस्ले लुट्यो ? चन्दा नदिँदा सर्वसाधारण कस्ले मा¥यो ? नौ बर्षिया बालिकालाई बसभित्रै जलाएर क्रुरतापूर्वक कसले मा¥यो ? बाँदरमुढेमा सामान्य व्यक्तिहरुको दर्जनौको संख्यामा विस्फोट गराएर कस्ले हत्या ग¥यो ? सर्वाधारणको सम्पत्ति कस्ले कब्जा ग¥यो ? यी सबै घट्नाका दोषीहरुलाई कारबाही भयो त ? आज पनि यस्ता जघन्य अपराध गर्ने अपराधीहरलाई कारबाहीको माग गरेर पीडितहरुले न्याय मागिरहेका छन् । कसैेले न्याय माग्दा माग्दै मृत्युवरण गर्नु परेको छ । तिनको लास आज पनि काठमाण्डौस्थित शिक्षण अस्पतालको मर्चरीमा कठ्यांग्रिएर बसेको छ । जनकपुरमा बम विस्फोट गराउने आततायी थिए भने २०५२ सालदेखि ०६२ सालसम्मको यावत घट्ना गराउनेहरु को थिए ?
आखिरी यस्ता घट्ना गराउन कस्ले सिकायो ? यसमा गुरुहरु त गृहमन्त्री थापा लगायत नै हुन् । हिजो एउटै ठाउँमा बसेर आततायी घटना गराएका थिए भने आज अलग अलग भएका छन् अर्थात नेकपा विप्लव र हालको सत्तासीन नेकपा । जुन युद्धको कथित आवरणको अपराधीहरुले कारबाही भोग्नु पर्छ कि पर्दैन ? आज विस्फोट, लुटपाट, हत्या,हिंसा जति पनि हुन्छ त्यो सबैको पगरी विप्लव समूहलाई
थोपरेर आफ्नो जिम्मेवारीबाट पन्छने प्रवृत्ति राज्यको भएको छ । हिजोका अपराधीहरु आज सत्तासीन भएका छन् । यसो हुँदा उनीहरु माथि कारबाही कसले गर्ने ? धनुषा बम काण्डमा विप्लव समूहको संलग्नताको आशंका यहाँका प्रहरी, प्रशासन र राज्य संचालन गर्नेहरुले लगाएका छन् । त्यसमा अरु नै समूहको संलग्नता पनि हुन सक्छ । बम र बारुद बनाउने तालिम हालका सत्तासीन गृहमन्त्रीले हिजो धेरैलाई दिएका थिए । जनकपुर घटना आज आततायी घट्ना हो भने हिजो दश बर्षको घट्नाहरु पनि आततायी नै थिए । पुराना घटनालाई विस्तारै विर्सदै जाने हो भने आजका घटना पनि भोलि पुराना हुँदै जान्छन् । त्यसो भए सजायको भागिदारी कसैले बन्नु पर्दैन ?

तपाईको प्रतिक्रिया