राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङशिलाद्वारा ४६ जुनियर डिभिजन तालिम सम्पन्न

धरान÷राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङ्गशिलाले सिस ४६ जुनियर डिभिजन तालिम पहिलो चरणको निरीक्षण तथा दिक्षान्त कवाज शनिवार सम्पन्न गरेको छ ।
आजका युवा भोलिका कर्णधार हुन् अनुशासन नै राष्ट्रसेवाको मूल जग हो भन्ने आदर्श वाक्यलाई आत्मसात गरी अनुशासन, वफादारी, इमान्दारी र युवा वर्गमा नेतृत्व क्षमता विकास गर्दै राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यका साथ नेपाल सरकारद्वारा राष्ट्रिय कार्यक्रम तर्जुमा गरी वि.स. २०२४ सालदेखि नेपाली सेनालाई उक्त कार्यको जिम्मेवारी सुम्पिएको थियो ।
तालिमका दिक्षित विद्यार्थीहरुलाई सम्बोधन गर्दै नपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीका पृतनापति उपरथि अनन्त कार्कीले भन्नुभयो युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलको आजको दिक्षान्त कवाजमा प्रमुख अतिथिको रुपमा सलामी ग्रहण गर्न पाउँदा ज्यादै हर्ष लागेको छ । उहाँले राष्ट्र सेवा, अनुशासन, ज्ञान र विवेक जस्ता विभिन्न पक्षमा विकास गर्न अहम भूमिका खेल्ने तालिममा छनौट भई तालिम सम्पन्न गर्ने क्याडेट छात्रा, छत्रालाई बाधाई समेत दिनुभएको थियो ।
उपरथी कार्कीले भन्नुभयो छनौट परीक्षा पश्चात स्वेच्छाले एक सय दिने तालिममा सहभागी भई छोटो समयमा क्याडेट छात्र, छात्राले देखाएको अनुशासन, लगनशीलता, इच्छा शक्ति, तालिमप्रतिको अभिरुची तथा कडा परिश्रमका कारण उच्च स्तरको कवाज पदर्शन भएको छ । नेपाल सरकारको उच्च प्राथमिकतामा परेको यस प्रकारको तालिमको मुख्य लक्ष्य युवाहरुलाई अनुशासित, नेतृत्ववान, वफादार, राष्ट्रप्रति समर्पित र राज्यका संस्थाहरुप्रति सम्मान गर्ने एक संस्कारयुक्त नागरिक बनाउनु नै हो । सैनिक पोसाकमा विभिन्न परेड मात्र नभई विविध भौगोलिक विविधता, जात, जाति, धर्म, संस्कृति परम्परा र संस्कार भएका व्यक्तिहरुलाई राष्ट्रिय सेवा दलले आज एउटै छानामुनी राख्न सफल भएको छ । उहाँले भन्नुभयो नेपालको भौगोलिक अखण्डता र सार्वभौम सत्तालाई जोगाई राख्न दिक्षित छात्र–छात्राले आ–आफ्नो जिम्मेवारी लिन अग्रसर भई राष्ट्रिय एकताको भावनालाई थप बलियो र विश्वासिलो हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।


उपरथी कार्कीको कथन थियो तालिमका दौरान क्याडेट छात्र–छात्राले हाँसिल गरेका सामान्य सैनिक कला, विपद जोखिम न्यूनिकरण, नेतृत्व तथा व्यक्तित्व विकास, राष्ट्रियता, सामाजिक उत्तरदायित्व तथा अनुशासन जस्ता विविध सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले भविष्यमा आउन सक्ने चुनौतिहरुलाई सहज रुपमा सामना गर्न सहयोगी हुनेछ । तालिम पश्चात निस्वार्थ सेवा भावबाट समर्पित भई
राष्ट्रको एक सच्चा नेपाली र देशभक्त नागरिकको रुपमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्ने उपरथी कार्कीको विश्वास थियो । उहाँले भन्नुभयो राष्ट्रिय संकटको अवस्थामा कति पनि विचलित नभई समाजलाई एकीकृत र धैर्यवान बनाइ राख्न उल्लेख्य भूमिका खेल्ने राष्ट्रभक्त युवा राष्ट्र समृद्धिको आधार हो । सबै क्याडेटलाई आफनो जीवनमा एउटा सकारात्मक लक्ष्य लिन र लक्ष्य प्राप्तिका लागि सदैव सदैव कर्म गरिरहनु पनि उहाँले अनुरोध गर्नुभयो । लक्ष्यहीन र नेतृत्व क्षमता विनाको मानिस जीवनमा सफल हुन सक्दैन तसर्थ तपाईहरुको विचारले तपाईको व्यक्तित्व र भविष्य निर्माण गर्न अहम भूमिका खेल्ने कुरामा दुई मत छैन । उहाँले तालिममा राम्रो नतिजा ल्याउने क्याडेट छात्रछात्राहरुलाई विभिन्न मित्र राष्ट्रहरुमा सञ्चालन हुने युवा आदान प्रदान कार्यक्रममा राष्ट्रको प्रतिनिधित्व गर्द मित्रराष्ट्रहरुमा भ्रमण गर्न पााउनु आफैमा एक उपलब्धी हो । युवा आदान प्रदान कार्यक्रमले आफ्ना मित्र राष्ट्रहरुको विभिन्न पक्षको बारेमा जानकारी लिन सकिने हुँदा भविष्यमा तपाईहरुको व्यक्तत्व विकासमा निसन्देह ठूलो योगदान पु¥याउनेछ । स्मरणीय रहोस् शनिवार दिक्षान्त समारोहमा प्रदेश नं १ बाट ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, धनकुटा, उदयपुर, प्रदेश नं. २ बाट रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी र सिराहा तथा प्रदेश नं. ३ बाट चितवन, मकवानपुरका गरी १५ वटा माध्यामिक विद्यालयहरुका कुल ५३२ जना विद्यार्थीहरुको सहभागिता रहको थियो । यस प्रकारको तालिम मोरङ्गको याङ्गशिला, महोत्तरको किसान नगर, नवलपुरको हात्तीखोर र बाँकेको कोहपुरमा सञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया