धरान÷नेपाली काँग्रेसका केन्द्रीय सदस्य, युवा नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले एकसठ्ठी बर्षपछि धरानमा कम्युनिस्टको कथित लालकिल्ला ढलेसँगै धरानमा अब विकास र सम्बृद्धिको ढोका खुलेको बताउनु भएको छ ।
धरान उपमहानगरपालिकाको उप निर्वाचननमा नेपाली काँग्रेस केन्द्रीय समितिद्वारा परिचालित केन्द्रीय संयोजक समेत रहनु भएका आचार्यले नेपाली काँग्रेसबाट निर्वाचित प्रमुख तिलक राईको विजयोत्सव सभालार्इ सोमबार पब्लिक हाइस्कुलमा सम्बोधन गदै सो कुरा बताउनु भएको हो ।
केन्द्रीय सदस्य आचार्यले भन्नुभयो कम्यनिस्टकै कारण धरान आज अस्तव्यस्त भएको छ ।
नगरबासीको ढाड खुस्काउने ढंगले कर बृद्धि गरिएको छ, विकास निर्माण शून्य छ, तीसौ बर्षदेखिको सुकुम्बासी समस्या ज्यूँका त्यूँ छ, रोजगारीका अवसरहरु सिर्जना हुन सकेनन् । जसका कारण कम्युनिस्टका कार्यकर्ताहरु समेत यसपटक परिवर्तनको पक्षमा देखिए । उनीहरुले परिवर्तनका पक्षमा मदातन गरे । उहाँले भन्नुभयो ऊर्जाशील व्यक्तित्व तिलक राईले अब धरानमा हिन्दु, मुस्लिम, क्रिश्चियन, बौद्ध, किराँत सबै धर्म मान्नेहलाई शान्तिपूर्ण प्रार्थना गर्ने वातावरण सिर्जना गर्नुहुने छ । सडकको दुरावस्थामा सुधार ल्याउनु हुनेछ, सकुम्बासीको समस्या समाधान गरी त्यस्ता बस्तीहरुमा पूर्वाधारको विकास गर्नु हुनेछ, रोजगारीको अवसर सिर्जना गर्नु हुनेछ, बृद्धि गरिएको कर नियन्त्रण गर्नु हुनेछ, नगरपालिकाभित्रका आर्थिक अपचलन गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनु हुनेछ । बर्षौदेखि ठगिएका धराने जनताको परिवर्तनको चाहना अब पूरा हुनेछ, आचार्यले भन्नुभयो ।
धरान उपमहानगरपालिकामा निर्वाचित मेयर तिलक राईले समेत सभालाई सम्बोधन गर्दै भन्नुभयो परिवर्तनकामी जनतालाई म नमन गर्दछु । धराने जनताको चाहना बमोजिम आफूले काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो धराने जनताको भावना, चाहना अनुसार अव्यवहारिक र अवैज्ञानिक ढंगले बृद्धि गरिएको कर घटाउने, नगरपालिकाभित्रको आर्थिक अपचलनमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने, सुकुम्बासी समस्या समाधान गर्ने, सडक लगायत अन्य भौतिक पूर्वाधार निर्माणका कामलाई अगाडि बढाउने समेत उहाँले बताउनु भयो । पब्लिक हाइस्कुलको सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला, प्रदेश नं. १ का नेपाली काँग्रेसका संसदीय दलका नेता एवम् नेपाली काँग्रेस सुनसरीका सभापति राजिव कोइराला, संघीय सांसद सीताराम मेहता, प्रदेशसभा सांसद चन्द्रप्रसाद श्रेष्ठ, भातृ संघ संगठनका प्रतिनिधि सहितको विशाल ¥याली छताचौक, लक्ष्मीचौक, पृथ्वीपथ, भानुचौक हुदै बुद्धचौक पुगेका थिए ।
कस्ले कति मत प्राप्त गरे
धरान उपमहानगरपालिकाको हाल सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले आफ्ना प्रतिद्वन्द्वी नेकपालाई २ हजार ७ सय ९५ मत अन्तरले
पराजित गरेको छ । नेपाली काँग्रेसले कुल खसेको मतमध्ये २६ हजार ७ सय ९ मत ल्याएको थियो भने नेकपाले २३ हजार ९ सय १४ मत मात्र प्राप्त गरेको थियो ।
नेकपाले वडा नं. २०, वडा नं. १७, वडा नं. १५, वडा नं. ६, वडा नं. ४, वडा नं ५ मा झिनो मतले अग्रता लिएको थियो भने अन्य सबै वडामा नेपाली काँग्रेसले अग्रता लिएको थियो । नेपाली काँग्रेसले वडा न. २० मा ७३४, वडा नं. १८ मा ६७९, वडा नं. १९ मा ८७९, वडा नं. १७ मा २२२५, वडा नं. १६ मा २३४१, वडा नं. १५ मा ३०७९, वडा नं. १४ मा १०५७, वडा नं. १३ मा १६१६, वडा नं. १२ मा ८३३, वडा नं. ११ मा २३८५, वडा नं. १० मा ८३० वडा नं. ९ मा ८३३, वडा नं. ८ मा २१४०, वडा नं. ७ मा ७१४, वडा नं. ६ मा १२६७, वडा नंं ५ मा ४१३, वडा न. ४ मा ४१३, वडा नं. ३ मा १०९१, वडा नं. २ मा ८९३ र वडा नं. १ मा १३४४ मत प्राप्त गरेको थियो ।
यसैगरी नेकपाले वडा नं. २० मा ९६७, वडा नं. १८ मा ५२९, वडा नं. १९ मा ८१३, वडा नं. १७ मा २२६५, वडा नं. १६ मा १८६०, वडा नं. १५ मा ३३४७, वडा नं. १४ मा ७३६, वडा नंं १३ मा १५७१, वडा नं. १२ मा ६०३, वडा नं. ११ मा २०५८, वडा नं. १० मा ६४०, वडा नं. ९ मा ५९७, वडा नं. ८ मा १६२५, वडा नं. ७ मा ५२१, वडा नं. ६ मा १६६०, वडा नं. ५ मा १८८०, वडान नं. ४ मा ७३७ वढडा नं. ३ मा ७०९, वडा नं. २ मा ४१७ र वडा नं. १ मा ३७९ मत प्राप्त गरेको थियो । अन्य दलहरुमा संघीय समाजवादी पार्टीले ७५५, साझा पार्टीले ११३, राप्रपाले १०९, राप्रपा संयुक्तले ५०, जनमुक्ति पार्टीले ६५, र्सघीय लिम्बुवान मञ्चले १३३८, हसिया
ताराले ५७, हृदयले २२, साँढे गोरुले ५३, नमस्कार गरेको हातले १३, केटाकेटीले २०३, चमेराले ४, काउलीले ९, क्यालकुलेटरले ३, इस्टकोटले ५, ज्यावलले १, व्याडमिन्टन कर्कले ३, व्याट्रीले ०, क्यामेराले २, बाकसले १२ पानीको बोतले ४१२ मत प्राप्त गरेका थिए ।
नेकपाभित्र भाँडभैलो
धरान उपमहानरपालिकाको हाल सम्पन्न प्रमुखको निर्वाचनमा बर्षौ देखिको आफ्नो विरासत जोगाउन नसकेपछि नेकपाभित्र भाँडभैलो मच्चिएको छ । निर्वाचनमा लज्जास्पद पराजय भएपछि एक अर्कामा अरोप थोपर्र्दै लाञ्छना लगाउन थालेका छन् ।
यस भन्दा अगाडि जितेका वडामा हार व्यहोरेपछि उनीहरु त्यसरी आरोप प्रत्यारोपमा उत्रिएका हुन् । मत गणना स्थलमा प्रारम्भिक परिणाम आउन थालेपछि एमालेका स्थानीयदेखि केन्द्रीय स्तरका नेताहरु विस्तारै साइड लाग्न थालेका थिए । उनीहरु अरुण पेट्रोल पम्पमा गएर बसेका थिए । अधिकांशको एउटै मत थियो पराजयको प्रमुख काण उपमेयर मञ्जु भण्डारी नै हुन् ।
तत्कालीन धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएपछि कावा मेयरको कार्यभार सम्हालेकी मञ्जु भण्डारीले आफ्नै कार्यकर्ताहरुसँग रुखो व्यवहार गरेको, जन भावना विपरीत नगरपालिकाका केही भ्रष्ट कर्मचारीको प्रभावमा परेर अत्याधिक कर बृद्धि गरेको, विकास निर्माणका कुनै काम गर्न नसकेको, असफल एडिवीको ऋण लगानीको खानेपानी आयोजनाको नाममा खानेपानी संस्थानका कर्मचारीहरुलाई बारम्बार गएर हप्काउने गरेको, जलाधार क्षेत्रको जग्गा खरिद विक्रीमा चलखेल गरेका,े नगरपालिकाभित्रका भ्रष्ट कर्मचारीहरुसँग साँठगाँठ गरेर सेवाग्राहीहरुलाई दुःख दिने गरेको, पार्टीसँग कुनै छलफल र समन्वय नगरी मनपर्दी काम गरेको, आÏनै घरमा काम गर्नेै कामदारलाई नगरपालिकाबाट तलब खुवाएको जस्ता आरोप उनीहरुले लगाएका छन् । जसका कारण आफूहरुले चुनाव हारेको नेकपाका जिम्मेवार नेताहरुको ठहर रहेको छ ।
नेकपाका एकथरीको आरोप तत्कालीन माओवादी केन्द्रतर्फ सोझिएको थियो । ०७४ सालको स्थानीय निर्वाचनमा प्रमुखका प्रत्यासी अइन्द्र विक्रम बेघाले ११ हजार मत ल्याएका थिए भने तारा सुब्बाले नेपाली काँग्रेसको भन्दा झण्डै ५ हजार मतले जितेका थिए । एघार हजार र पाँच हजार जोड्दा १६ हजार हुन्छ त्यसमध्ये दुईचार हजार तला माथि हुँदा १२, १३ हजार मतले आफूहरुले चुनाव जित्ने नेकपाको दाबी थियो । तर तत्कलीन माओवादीको ११ हजार भोट खोइ भनेर प्रश्न गर्ने तत्कालीन एमालका नेतालाई पूर्व माओवादीहरुले एउटै जवाफ दिने गरेका छन् हिजो आधा भन्दा बढी मतले वडाध्यक्षमा जितेको वडामा एमालेले किन पराजय भोग्यो यसमा समीक्षा हुनुपर्छ ।
जनजातिको ठाउँमा जनजाति विहीन नेतृत्व
धरान जनजाति बाहुल्य क्षेत्र हो । तर वर्तमान अवस्थामा पार्टीको नेतृत्वमा रहेकाहरु जनजाति विहीन भएकोले पनि निर्वाचनमा पराजय भोग्नु परेको नेकपाभित्रै एकथरिको तर्क छ । नगरदेखि प्रदेश सबै ठाउँको नेतृत्वमा जनजाति नभएको कारणले पनि पार्टीप्रति वितृष्णा जागेको हुन सक्ने उनीहरुको तर्क छ ।
