पिण्डेश्वर मन्दिरमा श्राद्ध गर्ने बढे

धरान÷ नेपालीहरुको घर घरमा महान चाड दशै भित्रिन लागेको छ । दशै अगाडि १६ दिनसम्म आफ्ना पितृहरुलाई सम्झेर श्राद्ध गर्न प्रचलन छ ।
यसै क्रममा धरान १४ पिण्डेश्वरमा श्राद्ध गर्नेहरुको भीड बढेको छ । भाद्र शुक्ल पूर्णिमादेखि असोज कृष्णपक्षसम्ममा आफ्ना दिवंगत पितृहरुलाई पितृहरुको मृत्यु तिथि अनुसार श्राद्ध गर्नेका भीड लागेको हो ।
यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । सोह्र श्राद्धमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको पिण्डश्वर मन्दिरका पण्डित गोपी पोख्रेलले
बताउनुभयो ।
पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ । आफ्ना पितृको संम्झनामा सोमबार तिथि पारेर श्राद्ध गर्न आउनु भएका उद्धवराज खतिवडाले सोह्र श्राद्धमा तिथि पारेर श्राद्ध गर्दा पितृको उद्धार हुन भएकोले श्राद्ध गरेको बताउनुभयो ।
उहाले तिथिको बेला श्राद्ध गर्दा पितृले आफना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहदै आएकोले पनि पितृका सम्झनामा श्राद्ध गर्दै आएका बताउनुभयो ।
खतिवडाजस्तै सोह्रश्राद्र्ध लागेपछि पितृको संम्झनामा तिथि पारेर पिण्डेश्वर मन्दिरमा श्राद्ध गर्नेहरु आउन थालेका छन् । हिन्दु धर्ममा श्राद्धको ठूलो महत्व भएकै कारण पनि यसलाई सबैले महत्वका साथ लिने गरेका छन् ।

तपाईको प्रतिक्रिया