धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र उनका भतिजा डा. रामहरि रौनियारलाई आठ लाख घुस सहित रगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रक्राउ गरेपछि उनीहरु स्वतः निलम्बित भएका छन् ।
झण्डै अढाई बर्ष अगाडि चौध करोड रुपैयाँ नजराना बुझाएर प्रतिष्ठानको उपकुलपति बन्न सफल भएका रौनियारले पटक पटक करोडौ रुपैयाँ भ्रष्टाचार गरेको तथ्य सार्वजनिक भएतापनि हरेक सम्बन्धित निकायसँग सेटिङ्ग गरेर आफ्नो गोरस धन्दा निर्वाध चलाउँदै आएका थिए ।
उपकुलपति रौनियारले एमआरआई मेशिन खरिद प्रकरण, फार्मेसी औषधी खरिद प्रकरण, इआपिसी मेशिन खरिद, कलर डोप्लर अल्ट्रासाउन मेसिन खरिद,कउन्ट्री मेशिन खरिद, इन्डो बोस्को अल्ट्रासाउन्ड, हेमो डाइलासिस मेशिन खरिद, भवन निर्माण, एमविविएस विद्यार्थी भर्ना र एमडी विद्यार्थी भर्नामा अग्रिम लाखौ नजराना असुल, कर्मचारी नियुक्ति लगायतमा नजराना असुले पनि सेटिङ गर्न चतुर रौनियारलाई अन्तत ः अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालबाट आएको टोलीले असार २६ गते निवासबाटै एक निर्माण व्यवसायीसँग ८ लाख घुस लिँदालिँदै प्रक्राउ गरेको हो ।

रौनियार प्रतिष्ठानको उपकुलपति भएर आएपछि प्रतिष्ठानको दुरावस्था शुरु भएको थियो । दक्ष चिकित्सकहरुको पलायन, परिवार, ड्राइभर प्रतिष्ठानका केही लम्पटहरु र बाहिरका डिजाइनरहरु समेतले केवल प्रतिष्ठानलाई दुहुने काम मात्र गरेका थिए । पूर्व शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठको कथन छ, रेडियोलोजी विभाग समेत चलाउन नसकेर बद्नामी कमाएका रौनियार उपकुलपति भएर आउनु नै प्रतिष्ठानको दुर्भाग्य थियो । अन्तत ः अढाई बर्षमै प्रतिष्ठान धरासायी र दुरावस्थामा पुग्यो ।
हाडजार्नीे विभागका प्रमुख प्रा.डा. पशुपति चौधरीको कथन छ सबैतिर सेटिङ्ग मिलाएको छु मलाई कसैले केही गर्न सक्दैन, स्वास्थ्य मन्त्रीलाई त बाल बराबर गन्दिनँ प्रधानमन्त्रीलाई मिलाउने अरु नै छन् भन्दै हिडेका रौनियार ढिलै भएपनि अख्तियारको पञ्जामा परे । प्रतिष्ठान थप दुर्घटनाबाट जोगिएको उनकोे कथन छ ।
शेरबहादुर देउवाको खुलासा
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ लाख घुसहित रंगेहात प्रक्राउ गरेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले असार २८ गते तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाप्रति रोष प्रकट गरेका छन् ।
आफूले रौनियारलाई उपकुलपतिमा नियक्ति नगर्नु भन्दा भन्दै रकमको प्रलोभनमा थापाले नियुक्ति गर्दा अहिलेको अवस्था आएको देउवाको कथन छ । इमान्दारिताको ढोङ्ग रचेर थापाले तत्कालीन सरकालाई प्रभावित बनाएर करोडौ रुपैया लिएर नियुक्ति गरेपछि
रौनियारले प्रतिष्ठानमा ब्रम्हलुट मच्चाएको देउवाको कथन छ । उपकुलपति भएर आएको सात दिन नबिन्दै आफ्नो छुट्टै स्वकीय सचिवालय गठन गरी डिपुटी रजिष्ट्रार अमित श्रीवास्तवलाई अधिकार प्रत्यायोजन गरी उपकरण खरिद, ठेक्कापट्टामा कम्जा र सप्लायर्ससँग घुस खाँदै आएका रौनियारलाई अख्तियारले ठेगान लगाएको छ ।
भाइको आडमा दाजुको धन्दा
प्रतिष्ठानको उपकुलपतिमा भाइ राजकुमार रौनियार नियुक्त भएपछि निजका दाजु तत्कालीन दुहवी गाउँ पञ्चायतका उपप्रधानपञ्च गौरी शंकर रौनियार सेटिङ्ग मिलाउने धन्दामै संलग्न भएको प्रतिष्ठानका कर्मचारीहरु बताउँछन् ।
उपकुलपति रौनियार अख्तियारको फन्दामा परेपछि उनको एउटा अडियो सार्वजनिक समेत भएको छ । प्रतिष्ठानको परीक्षा तथा कर्मचारी, नर्स भर्नामा उपकुलपतिबाट चलखेल हुने गरेको उक्त अडियोमा स्पष्ट देखिन्छ । रौनियारले आफ्ना दाइ मार्फत एमविविएस,विडिएस, एमडिएमएस परीक्षामा चलखेल, नर्सिङ्ग र विभिन्न कर्मचारी नियुक्तमा चलखेल गर्ने गरेको अडियोमा सुनिन्छ । ७ मिनेट १६ सेकेन्डको अडियो कुनै होटलमा वार्ता भएको र त्यसमा उपकुलपतिलाइ पटक पटक पैसा दिए पनि काम नभएको भनाई छ ।
थप आठ जनाविरुद्ध अभियोग पत्र दर्ता अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालले प्रतिष्ठानका पूर्व उपकुलति प्रा.डा. बलभद्र प्रसाद दाससहित ८ जना विरुद्ध अभियोग पत्र दर्ता गरेको छ ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तीका अनुसार प्रतिष्ठानमा व्यापक अनियमिता भएको उजुरीका आधारमा अनुसन्धान हुँदा प्रतिष्ठानबाट विभिन्न मितिमा वस्तु तथा सेवा खरिद सम्बन्धमा छानविन हुँदा प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दाश, तत्कालीन अस्प्ताल निर्देशक प्रा.डा. अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापा, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दहाल, डेपुटी रजिष्ट्रार अमित श्रीवास्तव, उपकरण सप्लायर्स प्रोसिजन मेडिकल प्रालि ÷ वायोमेड इन्टरनेशनल प्रालिका प्रोपाइटर चेतन अग्रवाल, सर्जिकेम डिष्ट्रिव्युटर्सका प्रोपाइटर उमेश अग्रवालका विरुद्धमा अभियोग पत्र दर्ता गराएको छ । असार ३० गते दर्ता गराइएको अभियोग पत्रमा तत्कालीन उपकुलपति दाशले ४,०८,९९०१९, अरविन्दकुमार सिन्हाले ३,७५,३०, ६१८, रजिष्ट्रार नन्दकुमार थापाले १,९६०९८८०, वर्तमान रजिष्ट्रार तुलबहादुर श्रेष्ठले ५६,७७,४०५, अस्वभाविक रुपमा बढी मूल्य तिरी
खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भष्ट्राचार ऐन २०४९ को दफा ८ को उफदफा १ र दफा ८ को उपदफा १ देहाय (ञ) वमोजिम कसुर गरेको –प्रमाण पुष्टि भएको देखिएकोले निज प्रतिवादीबाट कैद, जरिवाना, विगो समेत असुल उपर गरी पाउनका साथै निजहरुको हकमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ समेत आकर्षित हुने भएकोले सो को दफा २४ अनुसार थप सजायको माग दाबी गरिएको छ । अन्यको हकमा समेत जरिवाना तथा सजाय गरी निजहरुले हिनामिना गरेको विगो समेत असुल उपर गरी पाउन विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ ।
शिक्षाध्यक्ष खनाललाई निमित्त उपकुलपतिको जिम्मेवारी

घुस रकमसहित प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रक्राउ गरेपछि स्वतः उपकुलपतिबाट निलम्बित भएको अवस्थामा प्रतिष्ठानको दैनिक कामकाज सुचारु एवम् सञ्चालन गर्न शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले असार ३० गते प्रा.डा. खनाललाई एकपत्र पठाई प्रतिष्ठानका दैनिक कामकाज गर्न निर्देशन दिनुभएको हो । लामो समयदेखि प्रतिष्ठानमा कार्यरत खनालले प्रतिष्ठानको विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रही काम गरिसक्नु भएको छ । यसभन्दा अगाडि ४२ आंैं सिनेटको बैठकले निलम्बित उपकुलपति रौनियारलाई अयोग्य, अदक्ष र भ्रष्टाचारमा संलग्न भएको भन्दै कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्तका लागि सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले रौनियारलाइ पदमुक्त गर्दा समेत प्रा.डा. खनाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।
