धरान÷सुनसरी जिल्लाको इनरुवा बवियास्थित रहेको जामीअत सराविल इस्लाम नेपालको आयोजना तथा जियाउल हक मेमोरियल चयारिटी ट्रष्ट प्रधान कार्यालय धरानको सहयोगमा सुनसरीबाट हज गर्न जाने हाजीहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण र प्रशिक्षण दिइएको छ ।
शनिवार भएको उक्त कार्यक्रममा सुनसरी जिल्लाबाट साउदीको मक्कामदिना जान लागेका १ सय २६ जना हाजीहरुमध्ये एक सय जना प्रशिक्षण तथा निःशुल्क स्वास्थ्य परिक्षणमा सहभागी भएका थिए । उनीहरुलाई मौलाना सविर अहमद नदवी, मौलाना अबुल वकार, मौलाना अख्तर हुसैन, मौलाना ऐयुव नदरी र डा. खालिद हुसैन हकले प्रशिक्षण दिनु भएको थियो ।
जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टका केन्द्रीय अध्यक्ष समेत रहनु भएका डा. खालिद हुसैन हक र कोशी अञ्चल अस्पतालका डा. मनिष दाहालले हाजीहरुको निःशुल्क स्वास्थ्य परीक्षणसँगै एक एक पोका औषधि समेत वितरण गर्नुभएको थियो । हज गर्न जाने अधिकांशको सुगर, प्रेसरको परिक्षणसँगै करिब ४० हजार मूल्य बराबरको औषधि वितरण गरिएको ट्रष्टका केन्द्रीय अध्यक्ष डा. हकले बताउनु भयो । यसपटक नेपालबाट १२ सय हाजीहरु ४२ दिनको प्याकेजमा मक्कामदिना जादै छन् भने सुनसरीबाट १२६ जना जाने भएका छन् ।
