विप्लवका कार्यकर्ता प्रक्राउ

धरान÷बन्दको पूर्व सन्ध्यामा प्रहरीले नेकपा विप्लवका कार्यकर्ता प्रक्राउ
गरेको छ । आइतबार साँझ मोरङबाट हतियारसहित दुई जना प्रक्राउ गरेसँगै सोमबार थप एक जनालाई प्रक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । प्रहरीले आइतबार सुन्दरहरैंचा नगरपालिका–१२ घर भएका ४० वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ घर भएका ३४ वर्षीय सुदीप भनिने कंश धिमाललाई पक्राउ गरेको थियो भने सोमबार उर्लाबारी नगरपालिका २ सालबारीका ४८ वर्षीय केन्द्रलाल धिमाललाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार आइतबार राती राई र धिमाललाई बेलबारी नगरपालिका ४ स्थित स्कुलडाँडबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुबाट दुईवटा पेस्तोल, चारवटा म्याग्जिन र १४ राउण्ड गोली बरामद भएको थियो । उनीहरु विभिन्न व्यापारिक संस्था, वन समुहहरुमा चन्दाको रकम उठाउन जाने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु चन्दा असुली गर्न को १७ प ४५८६ नम्बरको मोटरसाइकलमा गइरहेका बेला चेकजाँचको क्रममा पक्राउ परेका थिए । प्रहरीका अनुसार आइतबार पक्राउ परेका राई र धिमालले हतियार राखिएको ठाउँबारे जानकारी दिएका थिए । उनीहरुको वयानको आधारमा कंशको घरमा गएर खोजी गर्दा हतियार र गोली फेला परेको प्रहरीको भनाई छ ।
प्रहरीले सोमबार केन्द्रलाललाई नियन्त्रणमा लिएपछि थप ३ नाल भरुवा बन्दुकसहित अन्य सामग्रीहरु पनि भेटेको थियो । तीन थान बन्दुकमध्ये एउटा लोड भएको अवस्थामा बरामद भएको पाइएको थियो । उनीहरुलाई मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको हातहतियार तथा खरखजना कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया