धरान÷यही जेष्ठ २७ गते सोमबारहुने सुनसरी उद्योग वाणिज्य संघ धरानको निर्वाचनमा आगामी नेतृत्वका लागि मनोनयन गर्ने काम सिद्धिएसँगै मतदाता प्रभावित पार्ने कसरतमा उमेद्वारहरु आ–आफ्नै रणनीतिमा लागेका छन् । विसुद्ध व्यवसायीहरुको संगठनको निर्वाचनले मिनी संसदीय चुनावको झल्को दिएको छ ।
संघको अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठ र द्वितीय उपाध्यक्ष गिरीधारी सापकोटाबीचमा तिब्र रस्साकस्सी देखिएको छ । एक हजार सात सय ४८ मतदाता रहेको सुनसरी उद्योग वाविणज्य संघको निर्वाचनमा श्रेष्ठलाई दलीय रुपमा नेपाली काँग्रेसले समर्थन गरेको भने सापकोटालाई एमालेको समर्थन रहेको छ ।
मनोनित चारजना सहित २५जनाको कार्यसमिति रहने सुनसरी उद्योग वाणिज्य संघमा उमेद्वारी दर्ताका समयमा सदस्यमा शिवराज श्रेष्ठ, रामस्वरुप शर्मा र एलिना मगर निर्विरोध निर्वाचित भएका थिए । वस्तुगततर्फ दुई सदस्य रहने प्रावधान अनुसार श्रेष्ठ र शर्माको उमेद्वारी परेको थियो भने एकजना मात्र महिलाको उद्योगतर्फबाट मगरेकोमात्र उमेदवारी परेको थियो । निर्वाचन उप समितिका अनुसार सुनसरी उद्योग वाणिज्य संघमा वाणिज्यतर्फ एक हजार ५४, उद्योगतर्फ ५९५, एसोसिएट्सतर्फ ९१ र वस्तुगततर्फ जम्मा १६ जना मतदाता रहेका छन् ।
निर्वाचन अधिकृत प्रा.डा. राजेन्द्र पोख्रेलका अनुसार वाणिज्यतर्फ ८ सदस्यका लागि १८ जनाले उमेद्वारी दिएका छन् । उद्योगतर्फ ६ जनामा ९ जनाले, एसोसिएट्सतर्फ ४ जनामा ६ जनाले र वस्तुगततर्फ २ जनमा दुई जनाले मात्र उमेदवारी दर्ता राएका
थिए । अध्यक्ष सहित ३१ जनाको बीचमा प्रतिष्पर्धा हुने भएको छ । वाणिज्यतर्फको १८ जना सदस्यमा मनोज श्रेष्ठ, मानबहादुर विश्वकर्मा, शशी साह, सीताराम आचार्य, दिनेश राई, अशोक जैन डागा, राजेश अग्रवाल, रञ्जित चौधरी, उपेन्द्र चाम्लिङ्ग, प्रेमप्रसाद
पराजुली, नविन राजभण्डारी, शैलेश कुमार आचार्य, (प्रमोद), अमित अग्रहरी, जयप्रकाश शर्मा, महिला सदस्यमा ममता शाक्य र शुभेच्छा अधिकारी श्रेष्ठले उमेद्वारी दिनुभएको छ । यसैगरी उद्योगतर्फ ९ जनामा अनुप देवान,
राजकुमार निरौला, राजकुमार राई, रोजन रणपहेली, विष्णु बराल, पियुषराज आचार्य, प्रभाव खतिवडा, महेन्द्र प्रधान, एसोसिएट्को ६ जनामा अनिल कुमार अग्रवाल, राजेश अग्रवाल गोयल, राजु साह, गोपाल श्रेष्ठ र किशन मास्के रहनु भएको छ ।
अध्यक्षका प्रत्याशी विजय श्रेष्ठसँग हामीले तपाईको जित्ने आधार के हो भन्ने जिज्ञासा राख्दा उहाँले भन्नुभयो उद्योग वाणिज्य संघमा मैले २० बर्षदेखि काम गर्दै आएको छु । वर्तमान कार्यसमितिका सदस्यहरुले नै मलाई आगामी अध्यक्षका रुपमा अगाडि सारेका हुन् । यसका अलावा अधिकांश वहुमत मतदाता सदस्यको समर्थन आफूलाई रहेकोले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । उता अर्का सशक्त प्रत्यासी गिरीधारी सापकोटा भन्नुहुन्छ मैले उद्योग वाणिज्य संघमा व्यवसायीहरुको सेवा गर्न उमेदवारी दिएको हुँ । यसभन्दा अगाडि हरेक निर्वाचनमा सर्वाधिक मत ल्याएर सदस्यमा निर्वाचित हुँर्दै आउनु भएका सापकोटा भन्नुहुन्छ म प्रति व्यवसायीहरुको सद्भाव र स्नेह छ । म नेतृत्व तहमा नहुँदा पनि व्यवसायीमाथि यदाकदा हुने प्रशासनिक ज्यादति लगायतका समस्यामा हर समय सक्रिय रहेकोले मतदाता व्यवसायीहरुकै आग्रहमा आफूले उमेद्वारी दिएको हुँ ।
