धरान÷राज्यका सम्पूर्ण स्रोत साधन केन्द्रित, संसारका आँखा समेत रहेको राजधानी काठमाण्डौ नै असुरक्षित रहेको आइतबारको घट्नाक्रमले पुष्टि गरेको छ । दुई तिहाई वहुमतको दम्भ बोकेको वर्तमान सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले तुरुन्त नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मुलुकभरि आवाज उठन थालेको छ ।
सोमबार नेकपा विप्लवले गत फागुन २८ गते पार्टी प्रतिबन्ध गरेको र जेष्ठ ७ गते भोजपुरमा आफ्नो युवा संगठनका कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले गिरÏतार गरी हत्या गरेको विरोधमा आवहान गरिएको बन्दले देशका सातै प्रदेश नराम्रोसँग प्रभावित भए । बन्दको आवहान गरिएको अघिल्लो दिन
राजधानीको सुकेधारा, घट्टेकुलो लगायतका स्थानमा शक्तिशाली वम विस्फोट हुँदा चारजनाको मृत्यु भएको थियो भने दर्जन भन्दा बढी सर्वसाधारण घाइते हुनुले सरकारको शान्ति सुरक्षाको स्थिति उदांगो भएको छ ।
देशका अन्य भागमा जस्तै प्रदेश नं. १ मा बन्दको पूर्ण प्रभाव देखियो । बन्दका समयमा विहानैदेखि जिल्लाका विभिन्न स्थानमा अइडी बम
(मोवाइलमा टाइमर सेट गरिएको), प्रेसर कुकर बम, सकेट बम फेला परेका थिए । सुनसरी जिल्लाको सेउती पुल दक्षिण, इटहरी उपमहानरपालिका वडा नं. १२ खनार, मोरङ्गको सुन्दर हरैचा नगरपालिका ठडियामा कुकर बम, झापाको दमकको रतुवा पुलमा, झापामै गैरीगञ्ज सडक खण्डको गौरादह वडा नं १ गणेश मन्दिरको कलभर्टमा कुकर बम फेला परेको थियो । ती सबै वमहरु स्थानीयले सूचना दिएपछि डिस्पोजल टोलीले बमहरु डिस्पोज गरिदिँदा प्रदेश नं १ मा मानवीय तथा भौतिक क्षति हुन पाएन । सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारी दिनभरि प्रहरी टोली लिएर जिल्लाका विभिन्न स्थानमा दौडिरहनु भयो । धरान साप्ताहिकसँगको सम्र्कमा उहाँले भन्नुभयो विहान धरानको वडा नं. ५ पानमारा, इटहरी, पूर्व पश्चिम महेन्द्र राजमार्ग र भित्री क्षेत्रमा पेट्रोलिङ्गमा रहेको छु । एकआद्य स्थानमा बम फेला परेपनि जनजीवन सामन्य नै छ उहाँले भन्नुभयो ।
सुनसरी जिल्लामा सोमबार धरानमा मोटर साइकल र फाट्टफुट्ट टेम्पो चले
तापनि सार्वजनिक सवारीका कुनै साधन चलेका थिएनन् । उद्योग धन्दा, कलकारखाना, बजार पसल, शिक्षण संस्था सबै ठप्प
रहेका थिए । मोरङ्ग र झापामा समेत यही हालत थियो । झापाको गणेश मन्दिर नजिक कल्भर्टमा फेला परेको बमसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो साइजको तस्विर समेत भेटिएको थियो । समग्रमा भन्नुपर्दा प्रदेश नं. १ का १४ वटा जिल्ला प्रभावित बनेका थिए । बन्दका क्रममा विप्लव नेतृत्वको दलित मुक्ति मोर्चा झापाका अध्यक्ष प्रवीण दर्नाललाई प्रहरीले प्रक्राउ गरेको थियो । सादा पोसाकमा खटिएका प्रहरीले उनलाई बन्दको पूर्व सन्ध्यामा आइतबार साँझ विर्तामोडबाट प्रक्राउ गरेको थियो । प्रदेश नं. १ का अन्य जिल्लाबाट बन्दका समयमा विप्लवका अरु कोही कार्यकर्ता प्रक्राउ परेनन् ।
प्रदेशसभा बैठकमा जान पाएनन्
प्रहरीको स्कर्टिङ्गमा प्रदेश नं. १ को प्रदेशसभाको बैठकमा जान सकिने भएपनि नेपाली काँग्रेसका र तत्कालीन एमालेका सभासद प्रदेश राजधानी विराटनगर जान अनिच्छुक देखिए । सोमबारबाटै प्रदेश सभाको अधिवेशन सुरु भएको हो । बन्दको चौतर्फीै प्रभाव, जताततै बम राखेको र डिस्पोज गरेको समाचार आइरहेपछि नेपाली काँग्रेसका सभासद चन्द्रप्रसाद श्रेष्ठ, एमालेकी सभासद सावित्री जोशी विराटनगर पुग्न सक्नु भएन । सभामुख प्रदीपकुमार भण्डारी भने प्रहरी स्कर्टिङ्गमा धरानबाट विराटनगर पुग्नु भएको थियो । उता प्रदेश नं २ मा पनि त्यस्तै अवस्था रहयो । प्रदेश नं. २ मा त प्रदेशसभाको बैठकै स्थगित भएको थियो ।
