पाँचथर÷दशबर्षे माओवादी झल्को दिने शैलीमा पाँचथरको मिक्लाजुङ्ग गाउँ पालिका वडा नं. ३ आरुबोटेमा गए राति अर्थात जेष्ठ ६ गते दुई परिवारका नौजनाको पासविक ढंगले हत्या भएको छ ।
हत्याको खबर प्राप्त हुनासाथ प्रहरीको केन्द्रदेखि प्रदेश प्रहरी कार्यालय विराटनगर, संघीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय पाँचथर, सिआइवी र तालिम प्राप्त कुकुर समेतलाई घट्ना स्थल पु¥याइएको छ ।
एकै परिवारका पाँचजना र अर्को परिवारको चारजनाको हत्या भएपछि पाँचथरमा यतिबेला त्रासदी फैलिएको छ । घट्नामा स्थानीय धनराज शेर्माका ५ जनाको परिवार र बमबहादुर फियाकको परिवारका चार जनाको हत्या भएको छ । उनीहरुको शव घरभित्र र बाहिर छरपस्ट अवस्थामा फेला परेको छ । हत्या हुनेहरुमा ३६ बर्षीया जस्मिता फियाक, ४१ बर्षीया धनराज शेर्मा, २६ बर्षीय मनकुमारी फियाक, ६ बर्षीया इक्सा शेर्मा, १३ बर्षीया योवना शेर्मा, ८ बर्षिया मुना शेर्मा, ७४ बर्षिैया बमबहादर फियाक, वमबहादुरकी श्रीमति (नाम नखुलेको), १२ बर्र्षीया आशिका खजुमको हत्या भएको छ भने १२ बर्षकी सीता खजुम भन्ने बाच्न सफल भएकी छन् ।
घट्नाको अनुसन्धान गर्न संघीय प्रहरी कार्यालय कोशीका एसएसपी शरद खत्री, प्रदेश प्रहरी कार्यालयका डिआइजी केदार रिजाल हिजो विहानै घट्ना स्थलतर्फ गइसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यसैगरी केन्द्रीय अनुसन्धान व्युरो सिआइवीको टोली समेत घट्ना स्थल पुगिसकेको छ । सिआइबीका एसपी उमा चर्तुवेदीको नेतृत्वमा एकजना इनिस्पेक्टर र एक जना जुनियर प्रहरी अधिकृतको टोली पाँचथर पुगिसकेको छ । अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने हेतुले पाँचथर, ताप्लेजुङ्ग, इलाम, धनकुटा जोडिने सबै नाकाहरु शिल गरेको जनाइएको छ । मिक्लाजुङ्ग ३ आरुबोटेमा भएको क्रुर सामुहिक हत्यापछि सम्पूर्ण गाउँ नै शोकमा डुबेको छ । एक हप्ता अगाडि मात्र पनि उक्त गाउँको लिलीहाङ्गमा १५ बर्षीया एक बालिकाको हत्या भएको थियो । फेरि एक साता वित्न नपाउँदै ९ जनाको हत्या हुनुले यतिबेला सम्पूर्ण गाउलेहरुले आफूलाई असुरक्षित महसुस गरेका छन् । स्थानीय सञ्चारकर्मी आलोक मावुहाङ्गका अनुसार घट्ना मध्यराति भएको देखिन्छ । मध्यराति घट्ना भएकोले स्थानीयहरुले विहानमात्र चाल पाएका थिए । शवहरु घरभित्र र बाहिर यत्रतत्र छरिएको पाइनुले हत्यारासँग उनीहरुले प्रतिकार गरेको देखिन्छ । संयोगले भागेर बाँच्न सफल भएकी १२ बर्षिया सीता खजुमले प्रहरीलाई दिएको जानकारी अनुसार हत्याराहरु मुखुण्डो लगाएका आएका थिए ।
घट्ना स्थलमा नजिकैको दशमी बजारस्थित प्रहरी चौकीका प्रहरी सबै भन्दा पहिला पुगेका थिए । इलाका प्रहरी कार्यालय रवि बजारका र जिल्ला प्रहरी कार्यालयको टोली अबेर मात्र घट्नास्थल पुगेको थियो । प्रहरी घट्नास्थल पुग्दा मृतकका आफन्तसँगै स्थानीय डाको छोडेर रुइरहेका थिए । घट्ना स्थल भन्दा केही पर एक युवकको शव भेटिएको इलाका प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथरको मिक्लाजुङ्ग गाउँ पालिका वडा नं. ७ आरु बोटेमा एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । झुण्डिएको अवस्थाको युवकको शवको पहिचान हुन सकेको छैन । युवकलाई रुखमा झुण्डिएको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । युवकको आत्महत्या हो या ९ जनाको हत्यामा संलग्नले नै युवकलाई रुखमा झुण्डाएको हो भन्ने कुरामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
