भारतद्वारा उदयपुरमा क्याम्पस भवन निर्माण

उदयपुर÷भारत सरकारको ३ करोड २ लाख अनुदान सहयोगमा उदयपुरमा दुई तले क्याम्पस भवन निर्माण भएको छ ।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा निर्मित नारद आदर्श शिक्षा क्याम्पसको नेपाली काँग्रेसका सांसद तथा पूर्व सहरी विकास मन्त्री डा. नारायण खड्काले जेष्ठ ४ गते शनिवार एक समारोहबीच समुद्घाटन गर्नुभयो । समुद्घाटनका अवसरमा भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. अजयकुमारको समुपस्थिति रहेको थियो ।
सन् १९७१ मा माध्यामिक विद्यालयको रुपमा स्थापना भएको नारद आदर्श शिक्षा क्याम्पस सन् २००३ मा क्याम्पसको रुपमा स्तरोन्नति भएको हो । त्रिभुवन विश्व विद्यालयसँग आवद्ध उक्त क्याम्पसमा १ सय ३५ विद्यार्थी अध्ययनरत छन् । जसमा ७० प्रतिशत छात्राको संख्या रहेको छ ।
उक्त क्याम्पले शिक्षा संकायको चारबर्षे विएड कार्यक्रम सञ्चालन गर्दै आएको छ । नव निर्र्मित क्याम्पस भवनमा १२ कोठा, पुस्तकालय, सभा कक्ष, छात्र तथा छात्राकालागि छुट्टाछुट्टै शौचालय र फर्निचरको व्यवस्था समेत रहेको छ । सो अवसमा बोल्दै पूर्व मन्त्री डा. नारायण खड्काले भन्नुभयो, नव निर्मित संरचनाले विद्यार्थीको सिकाइ वातावरणलाई अझ बृद्धि गर्नेमात्र नभएर उदयपुर र यस जिल्लासँग जोडिएका भोजपुर, खोटाङ्ग, सुनसरी, सप्तरी, सिराहा लगायतका जिल्लाका ग्रामीण भेगका विद्यार्थीहरुको शिक्षामा पहँुच समेत बढाएको छ ।

तपाईको प्रतिक्रिया