धरान÷ धरानमा अव्यवस्थित रुपमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई व्यवस्थित गर्न धरान उपमहानगरपालिकाले घर नम्बर वितरण गरेको भए त्यो पूर्ण रुपमा कार्यान्वयन अहिलेसम्म हुन सकेको छैन । उपमहानगरपालिकाले जनप्रतिनिधीको पहिलो निर्णय अनुसार थालिएको घर नम्बर वितरण पूरा नहुदा स्थानीय सुकुम्बासी निरास बनेका छन् ।
निर्वाचन ताका सुकुम्बासीहरुलाई घर नम्बर वितरण गरि व्यवस्थीत गर्ने उम्मेदवारहरुले पहिलो नारा बनेको थियो । निर्वाचन भए लगत्तै धरान उपमहानगरपालिकाका निर्वाचित मेयर स्व. तारा सुब्बाले पहिलो निर्णय सुकुम्बासीहरुलाई घर नम्बर वितरण गर्ने गरेका थिए । तर वितरण भएको बर्षौ भइसक्दा पनि सुकुम्बासीहरुले घर नम्बर पाउन नसकेको स्थानीय सपना राईले बताउनुभयो ।
नेपालमै पहिलो पटक धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा
रहेका सुकुम्बासीहरुलाई व्यवस्थित गर्दै धनीपुर्जा वितरण गर्ने पहिलो आधार तय गरेको भन्दै खुशी भएका सुकुम्बासीहरुले सस्तो लोकप्रियताका लागि अभियान संचालन गरेको भन्दै आक्रोशित बनेका छन् । नेपाल बसोबास संरक्षण समितिका सहसचिव अमर सुवेदीले धरान उपमहानगरपालिकाले घर नम्बर दिने लालीपप खुवाएर थाड्नामा सुताएको बताउनुभयो ।
धरान उपमहानगरपालिकाले पहिलो चरणमा धरान १३ स्थित राईटोलबाट घर नम्बर वितरण गर्ने अभियानको उदघाटन पनि गरेका थिए । उद्घाटनका क्रममा सोही टोलका ७ घरलाई घर नम्बर वितरण गरेको थियो । सबै बस्तीका सुकुम्बासीहरुलाई वडा कार्यालय मार्फत घर नम्बर वितरण गर्ने जनाए पनि कार्यविधिनै तयार नहुदा प्रक्रिया अघि बढ्न सुकुम्बासी व्यवस्थापन समिति धरानका संयोजक हिरादेवी राई बताउनुहुन्छ ।
धरान उपमहानगरपालिकाका विभिन्न वडामा ८२ सुकुम्बासी बस्तीमा १२ हजार २ सय ६६ घर रहेका छन् । घर नम्बर पाए पछि करको दायरामा आउन पाए नगरबासी भएको महशुष हुने उनीहरुको आशा निराशमा बदलिदै गएको छ ।
