प्राज्ञिक सेवामा समर्पित प्रा.डा. टंक न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको सार्वजनिकीकरण

धरान÷प्राज्ञिक क्षेत्रमा समर्पित व्यक्तित्वहरुको अभिलेख राख्ने, हरेक जातजातिका भाषा, धर्म, सँस्कृतिको संरक्षण, सम्बद्र्धन गर्ने वहुउद्देश्यले स्थापित मुर्धन्य भाषाशास्त्री प्रा.डा. टंक प्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको सोमबार सार्वजनिकीकरण
गरिएको छ ।
महेन्द्र वहुमुखी क्याम्पसको सभाहलमा आयोजित सार्वजनिकीकरणमा केन्द्रको कार्य समितिसमेत घोषणा गरिएको थियो । जसको अध्यक्षमा गोविन्द तिम्सिना, उपाध्यक्षमा योगेश्वर खनाल, महासचिवमा प्रताप भट्टराई, सचिवमा मनिसुन्दर खत्री, कोषाध्यक्षमा पञ्चमाया ताम्ली रहनु भएको छ भने सदस्यहरुमा डा. राजेन्द्रप्रसाद पोख्रेल, कृष्णप्रसाद श्रेष्ठ, तिलक राई, गंगाप्रसाद चौलागाई, प्रभाव खतिवडा, कमला लिम्बु, सञ्जु निरौला, लेखनाथ घिमिरे, सागरमणि सुवेदी र मेरिना उपाध्याय रहनु भएको छ ।
कार्यक्रममाथि प्रकाश पार्दै जनता वहुमुखी क्याम्पस इटहरीका सहायक क्याम्पस प्रमुख अनिल पौड्यालले भन्नुभयो जुन व्यक्तित्वको नाममा अध्ययन अनुसन्धान केन्द्र स्थापना गरिएको हो त्यसले प्राज्ञिक क्षेत्रमा अवस्यै नयाँ आयामको शुरुवात हुने छ । मुलुकको कला, साहित्य, सँस्कृति, भाषा, समृद्ध नभएसम्म मुलुक समृद्ध नहुने भएकोले नेपालजस्तो वहुलजाति,वहुल भाषा, वहुल सँस्कृतिको जगेर्नासँगै आउने पुस्ताले अघिल्लो पुस्ताको अभिलेख राख्नुपर्छ र हस्तान्तरण हुँदै जाओस् भनेर नै केन्द्रको स्थापना गरिएको पौड्यालले बताउनुभयो । प्रा.डा. राजेन्द्र पोख्रेलले राज्यको तर्फबाट श्रष्टाको सम्मान राणा र पञ्चायतले गर्दै आएको भए पनि जनस्तरबाट सम्मान पाउनेमा प्रा.डा. न्यौपाने नै रहनुभएको बताउनुभयो । धरानेहरुले उच्च कोटीको चामलको पहिचान गरेका छन्, न्यौपाने सुघन्धित बासमति चामल हुनुहुन्छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा वैसाख १५ गते विधिवत रुपमा केन्द्रको दर्ता भएको बताउँदै अध्यक्ष गोविन्द तिम्सिनाले जीवनको सम्पूर्ण ऊर्जा विश्वविद्यालयीय सेवाका माध्यमबाट राष्ट्रसेवामा समर्पण गर्ने न्यौपाने आजको समयको सर्वप्रेरक व्यक्तित्व भएको बताउनुभयो । पहिचान र आत्मसम्मानको खोजी भइरहेको वर्तमान परिवेशमा न्यौपानेले आठ पहरिया राई भाषामा विद्यावारिधी गरेर जनजातीय, भाषा, सभ्यता र सँस्कृति उत्थानमा सद्भावपूर्ण , समन्वयात्मक र प्रेरणादायी प्राज्ञिक दायित्य निर्वाह गरेर सबैलाई उत्प्रेरित गर्नुभएको प्रष्ट पार्नुभयो । समग्रमा भन्नुपर्दा न्यौपाने एउटा गतिलो व्यक्तित्व हुनुहुन्छ । भावि पुस्ताकालागि उत्प्रेरक न्यौपानेको मूल बासस्थान र कर्मथलो धरानमा उहाँको नाममा जनस्तरबाटै अध्ययन अनुसन्धान केन्द्र स्थापना हुनु गर्वको विषय भर्एको तिम्सिनाले
बताउनुभयो । केन्द्रका महासचिव प्रताप भट्टराईले सञ्चालन गर्नुभएको सार्वजनिकीकरण कार्यक्रममा यज्ञेश्वर खनाल, धरान उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई लगायतले पनि न्यौपानेको बारेमा चर्चा गर्दै केन्द्र गठनप्रति खुशी व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया