धरान÷उद्योगी, व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको समयतालिका नजिकिदै गर्दा आगामी नेतृत्वको लागि चारजनाको चर्चा शुरु भएको छ ।
आगामी जेष्ठ २७ गते हुने संघको निर्वाचनमा पूर्व अध्यक्ष पवनकुमार अग्रवाल, सुनसरी उद्योग वाणिज्य संघका वर्तमान बरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठ, महासचिव शिवराज श्रेष्ठ र सदस्य गिरिधारी सापकोटाको व्यवसायी, उद्योगी बीचमा चर्चा
परिचर्चा शुरु भएको हो ।
विसुद्ध उद्योगी व्यवसायीहरुको बीचमा प्रतिष्पर्धा हुने भएपनि विगतदेखि नै नेतृत्व चयनमा राजनैतिक रंग दिने काम समेत हुँदै आएको छ । यस पटक हुने सनुसरी उद्योग वाणिज्य संघको निर्वाचनमा समेत यही कुराको पुनरावृत्ति हुने संकेत देखिएको छ । नेपाली काँग्रेसले बरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठ र महासचिव शिवराज श्रेष्ठमध्ये एक जनालाई अगाडि सार्ने निश्चित देखिएको छ भने एमालेले पूर्व अध्यक्ष पवनकुमार अग्रवाल र गिरिधारी सापकोटमध्ये एकजनालाई अगाडि सार्ने भएको छ । अध्यक्षका लागि चारजनाको नाम हाल चर्चामा रहे पनि प्रतिष्पर्धामा दुईजनामात्र हुने संघका एक सदस्यको कथन छ ।
सुनसरी उद्योगय वाणिज्य संघमा यतिबेला ३६ सय मतदाताहरु रहेका छन् । २०७३ को निर्वाचनमा २५ सय सदस्य रहेका थिए । आफ्नो जित सुनिश्चित गर्नकै लागि चर्चामा रहेका अध्यक्षका सम्भावित प्रत्यासीहरुले आफ्नै खर्चमा उद्योगी व्यवसायीहरुको सदस्यता नविकरण गर्ने, नयाँ सदस्य बनाउने कार्यलाई तिब्रता दिएका छन् । नेपाली काँग्रेसका एक प्रभावशाली नेताका अनुसार वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष विजय श्रेष्ठ भन्दा महासचिव शिवराज श्रेष्ठलाई अध्यक्षका लागि प्रत्यासी बनाउँदा काँग्रेसको नेतृत्वमा उद्योग वाणिज्य संघ रहने छ । शिवराज श्रेष्ठ दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध हुनु नेतृत्वमा आउन सक्ने बलियो आधार देखिन्छ । विजय श्रेष्ठ सुनसरी उद्योग वाणिज्य संघ भन्दा अन्य कुनै सामाजिक संघ संस्थामा आवद्ध छैनन् । यसै समबन्धमा विजय श्रेष्ठ र शिवराज श्रेष्ठलाई
राखेर स्थानीय नेतृत्वले दुई चार पटक छलफल समेत चलाइसकेको छ । तर विजय श्रेष्ठ म बरिष्ठ उपाध्यक्ष हुँ, पालो मेरो हो, म चुनाव जित्छु भन्ने अडानमा मात्र रहेका छन् । उता शिवराज श्रेष्ठ भन्नुहुन्छ मलाई नेतृत्वले उठ भने उठ्छु । धरानका उद्योगी व्यवायीहरु समेत शिवराज श्रेष्ठकै पक्षमा देखिन्छन् । संघमा नयाँ नयाँ कार्यक्रम ल्याउन सक्ने, संघलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सक्ने खुवी शिवराजमै छ व्यवसायीहरु भन्न्छन् ।
उता पवनकुमार अग्रवाल र गिरीधारी सापकोटामध्ये अन्तमा एकजना चुनावी मैदानमा उत्रने निश्चित छ । हालसम्म संघको निर्वाचनमा सदस्य पदमा अत्याधिक मतले विजयी हुँदै आएका गिरिधारी सापकोटाका लागि अध्यक्षमा प्रतिष्पर्धा गर्नु सहज छैन एक सदस्य बताउँछन् । अन्तमा सापकोटाले अग्रवाललाई समर्थन गर्ने र अग्रवालसँग दुई श्रेष्ठमध्ये एकको प्रतिपपर्धा हुने देखिएको छ । एक व्यवसायीले भने विजय श्रेष्ठ भन्दा शिवराज श्रेष्ठ बलिया प्रतिष्पर्धी हुन् ।
