धरान÷हरेक बर्ष झै यस पटक पनि धराने जनताहरुले काकाकुलको अवस्थाबाट गुज्रिनु परेको छ । अर्थात धरानमा यतिबेला खानेपानीको हाहाकार मच्चिएको छ ।
धरानमा प्रतिदिन तीन करोड लिटर पानीको आवश्यकता भए पनि सुख्खा यामसँगै खानेपानी संस्थानले आÏना चारवटा पम्पबाट ८० लाख लिटरमात्र पानी धराने जनतालाई उपलब्ध गराउदै आएको छ । पूर्ण क्षमतामा पम्प सञ्चालन गर्दा पनि पानीको मात्रा सुख्खायामका कारण बढ्न नसकेको धरान शाखा प्रमुख रामकुमार श्रेष्ठ बताउनुहुन्छ ।
श्रेष्ठका अनुसार चार मध्ये पनि एउटा पम्प हाल बिग्रिएको छ । मर्मतको काम भइरहेको छ । पम्प मर्मत हुनासाथ २० लाख लिटर पानी बढ्छ । संस्थानले आफ्ना उपभोक्तालाई ट्यांकरबाट समेत निःशुल्क पानी वितरण गर्दे आएको
छ । अधिकांश धरानेहरु यतिबेला ट्यांकरबाट पानी किनेर दैनिकी चलाउन बाध्य भएका छन् । फागुनदेखि नै धरानमा खानेपानीको अभाव शुरु हुने गरेको भएपनि दीगो पानीका स्रोतहरु खोजी नहुँदा धरानमा चार महिना खानेपानीको समस्या फागुनदेखि जेष्ठसम्म हुने गरेको छ ।
खानेपानी संस्थान कब्जा गरेर आÏनो हालीमुहाली गर्ने उद्देश्यले सन् २०११ मा तत्कालीन सात राजनीतिक दलको संयन्त्र, धरान उपमहानगरपालिकाका भ्रष्ट कर्मचारी, मन्त्रालयका सचिव र एसियाली विकास बैंकका दलालहरुले धरानमा खानेपानी संस्थान नै नभएको भन्दै खानेपानी प्रयोजनका लागि २ अर्ब १६ करोड ऋण एसियाली विकास बैंकबाट लिने सहमति गरे । सन् २०१७ देखि धरानमा २४ घण्टा पानी दिने भनेर धरानको चारकोसे जंगलमा डिप बोरिङ्ग शुरु गरे । सन् २०३१ सम्मको अल्पकालीन योजनाका नाममा केही स्थानमा डिप बोरिङ्ग गरे पनि त्यो सफल हुन सकेन ।
खानेपानी संस्थानले परल मूल्यमा एसियाली विकास बैंकको ऋण अनुदानमा सञ्चालित एकीकृत सहरी विकास आयोजनासँग पानी उपलब्ध गराउन आग्रह गरे पनि एडिवीसँग पानी नै नरहेको तथ्य बाहिर आएको छ । संस्थानको हाताभित्र रहेको रिजर्व वायर ट्यांकीमा १२ इन्चको पाइपबाट डेढ इन्चको पानी मात्र दिन सकेको छ । २४ घण्टामा ३० लाख लिटर पानी उपलब्ध गराउने सहरी विकास आयोजनाले बताए पनि दुई लाख लिटर पानी समेत उपलब्ध गराउन सकेको छैन । यसले एडिवीको परियोजना पूर्ण रुपमा असफल भएको प्रष्ट हुन्छ । बारम्बार संस्थान कब्जा गर्ने नियतले मात्र एडिवीका मतियारहरुले धरानमा चलखेल गरिरहेका छन् । कहिले पानी सम्बन्धी गोष्टी गरेर धरानको खानेपानी संस्थानले वितरण गरेको पानी खानयोग्य नभएको, कोलिफर्मको मात्रा बढी भएको भन्दै अफवाफ फैल्याउने त कहिले त्यही खानेपानी संस्थानको पानी संस्थानकै पाइपमा जबरजस्ती इन्टर कनेक्सन गरेर रमिता देखाइरहेको छ । यसरी इन्टर कनेक्सनको विरोध गर्नेहरुलाई धरान उपमहानगरपालिकाका जनप्रतिनिधिले हातपातको प्रयास समेत गरेका थिए ।
आयोजना पूर्ण असफल भएपछि आयोजनाका पदाधिकारीहरु आफ्नो मोवाइल स्चिअफ गरेर सम्पर्क विहीन बन्न पुगेका छन् । धरानमा पानीको दीगो व्यवस्थापनका लागि धरानबाट १७ किमी पश्चिममा रहेको सप्तकोशीको विकल्प छैन । धरान १९ का धनबहादुर राई भन्नुहुन्छ एडिवीका मतियारहरुले धरानमा खानेपानी बर्वाद गरे । खानेपानी संस्थानले ९३ करोडमा सप्तकोशीबाट पानी ल्याउन सकिने सर्भे नै गरेको थियो । सोही सर्भे अनुसार एडिवीले पनि सप्तकोशीबाट धरानमा पानी ल्याउन सक्थ्यो तर सबैको मिलिभगतमा एडिवीको ऋण तथा अनुदान सहयोगमा भ्रष्टाचार भएको राईको कथन छ । आज खानेपानी संस्थानलाई अपग्रेड गरेर जानुपर्नेमा खानेपानी संस्थान नै कब्जा गरेर हालीमुहाली गर्न खोज्नेहरुका कारण धरानमा पानीको चरम अभाव भएको राई बताउनुहुन्छ ।
