चैत्र १ गतेबाट आसरा सञ्चालनमा

धरान÷ दुव्र्यसनीलाई कानुनी दायरा भन्दा पनि सुधारगृह सञ्चालन गरेर सुधार्न सकिन्छ भन्ने उद्देश्यका साथ जनता र प्रहरी मिलेर धरान ६ पानवारीमा आसारा सुधार केन्द्रको स्थापना गरिएको छ ।
करिब दुइ बर्षको अवधि लगाएर विभिन्न संघ संस्था, दाताको सहयोगमा २ करोड ३७ लाख २ हजार ७ सय ९० लागतमा तीनतले भवन निर्माण सम्पन्नसँग नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन समेत गरिसक्नु भएको छ ।
काठमाण्डौका रानीबारी पछिको दोस्रो ठूलो सुधार केन्द्रको रुपमा लिइएको आसरा उद्घाटनपश्चात बोल्दै प्रहरी महानिरीक्षक लागू औषध दुव्र्यसनी समाजमा भयावह अवस्थामा रहेको बताउदै यसको नियन्त्रण प्रहरी र समुदायको दायित्व भएको बताउनुभयो । कानुनी दायरा भन्दा पनि सुधारको बाटो सबै भन्दा उपलब्धीमुलक भएको बताउदै आसरा जस्ता सुधार केन्द्रले यसमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
नेपाल प्रहरी श्रीमती संघ र जनसहभागीतामा निर्माण सम्पन्न भएको सुधार केन्द्र चैत्र १ गतेदेखि नै सञ्चालनमा आएको छ । लागू औषधमुक्त सहर निर्माणका लागि काठमाण्डौको रानीबारीपछि दोस्रो सुधार केन्द्रको रुपमा धरानमा सञ्चालनमा ल्याइएको नेपाल प्रहरी श्रीमति संघकी अध्यक्ष प्रमिला खनालले बताउनुभयो ।
२०५५ सालमा संघको स्थापना भएपछि काठमाडौको रानीबारीमा आसरा सुधार केन्द्र सञ्चालन भएपछि धेरै महत्वपूर्ण काम भएको बताउदै उहाले  धरानका
आसरा केन्द्रले पनि प्रदेश नं. १ मा लागूू औषध नियन्त्रणमा ठूलो सहयोग पुग्ने अपेक्षा उहाले राख्नुभयो ।
यता निर्माण् समितिले भने सञ्चालनमा आएको सुधार केन्द्र सुविधा सम्पन्न भएको जानकारी दिएको छ । निर्माण समितिका संयोजक मनोजकुमार मेन्याङबोले  गृहमा अवास कक्ष, बैठक कक्ष, कार्यालय कक्षहरु, जीम, योग तथा कक्षा सञ्चालन हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डाइनिङ हल, टिभी रुम, शौचालय, बाथरुम रहेको बताउनुभयो । प्रहरी र समुदायबीचको सहकार्यबाट बनाइएको यो भवनका लागि संकलन गरिएको रकम सही ठाउमा उपयोग गरिएको उहाले बताउनुभयो ।
पाचकन्या सामुदायिक बन उपभोक्ता समूहको संरक्षणमा रहेको करिब ७ कठ्ठा र धरान–२ निवासी रामहरी हाडाले १८ दशमलव ५ धुर गरी जम्मा ७ कठ्ठा १८.५ धुर क्षेत्रफल आसरा सुधार केन्द्र रहेको छ । भवन निर्माणका लागि विभिन्न संघ संस्थाबाट ८३ लाख २१ हजार ८, व्यक्तिगत रुपमा ७८ लाख ६४ हजार ७ सय ९८ तथा जग्गा तथा विभिन्न जिन्सीवापत ५१ लाख ६१ हजार ३ सय ३७ रुपैया संकलन भएको कोषाधयक्ष शिला बज्राचार्यले सार्वजनिक  दिनु भएको थियो । दुई सय जना क्षमता रहेको सो केन्द्रको सञ्चालनका लागि  संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रमुख एसएसपी सरद खत्रीको संयोजकत्वमा ९ सदस्यीय सञ्चालन समिति गठन भइसकेको छ ।
उद्घाटन कार्यक्रममा विभिन्न कोणबाट सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया