धरान÷मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने गरिएको छ । नेपालमा पनि मार्च अर्थात फागुन २४गते विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्टिूय श्रमिक दिवस मनाइदैछ ।
धरानमा भने अन्तर्राष्टिूय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा धरानका २० वटै वडाका महिलाहरुको सहभागितामा आइतबार ‘समान कामको समान ज्याला’ शीर्षकमा वतृत्वकला प्रतियोगिताको आयोजना गरियो ।
महिला सञ्जाल धरानको आयोजना तथा धरान उपमहानगरापालिकाको सहयोगमा आयोजना गरिएको प्रतियोगिता मुख्य उद्देश्य समाजमा महिला आत्मनिर्भर, सक्षम बनून नै भन्न रहेको सञ्जाल धरानकी अध्यक्ष सविता राईले बताउनु भयो ।
प्रतियोगतामा भाग लिएका महिलाहरुले महिला र पुरुष भन्दा केही कम नभए पनि अझै विवेद कायम रहेको बताएका थिए । धरान ३ बाट प्रतिष्पर्धामा उत्रिनु भएकी नैनकला न्यौपानेले विगतमा खुलेआम महिला अगाडि बढ्न सकेका थिएनन् अहिले मुलुकमा समय परिवर्तनसँग संघीय गणतान्त्रिक व्यवस्था छ त्यही पनि समान व्यवहार भने छैन समान कामको समान ज्याला कसरी हुन्छ भन्ने कुरा उल्लेख गर्नुभएको थियो ।
धरान ३ की संगीता बरालले भने मुलुकमा जतिसुकै परिवर्तन आएपनि पितृ सत्तात्मक सोच अझै हाबी भएको कवितामार्फत प्रस्तुत गर्नुभएको थियो ।
प्रतियोगितामा भाग लिने महिलाहरुले पुरुष भन्दा महिला इमान्दार हुन्छन्, पुरुषले गर्ने काम महिलाल पनि गर्न सक्छन् तर ज्यालामा चाहि किन भेदभाव भन्ने कुरा उल्लेख गरेका थिए । मुलुकको हरेक परिवर्तनमा महिलाको भूमिका महत्वपूर्ण भएपनि परिवर्तनको प्रतिफल महिलाले अहिलेसम्म गर्न नपाएको धरान ६ की सर्मिला विकले बताउनुभयो ।
अर्की प्रतियोगी धरान ७ की कल्पना श्रेष्ठले महिला आफै जागरुक नभएर तथा नीति निर्माणमा पुगेका महिलाहरुले समेत महिलाका विभेद, समान ज्याला लगायतका समस्यामा बोल्न नसक्दा समस्या ज्यूका त्यू नै भएको बताउनुभयो ।
उनीहरुले राष्ट्रपति तथा मुलुकका हरेक उच्च निकायमा पुगेका महिलाहरुले यस्ता कुराहरुमाथि गम्भीर हुन ध्यानाकर्षण गराएका थिए । प्रतियोगिता सुनसरी उद्योग वाणिज्य संघका सभाहलमा आयोजना गरिएको थियो ।
