धरान÷नेपाल–भारतको संयुक्त लगानीमा निर्माण भएको अन्तर्राष्ट्रिय स्तरको नन् प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्रा.डा.
राजकुमार रौनियारले चरम भ्रष्टाचार गरी प्रतिष्ठान तहस नहस बनाएपछि सरकारले उनलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
प्रतिष्ठानको विधान २०४९ को ११ (घ) अनुसार अनियमितता, भ्रष्टाचार, गलत क्रियाकलापमा संलग्न पदाधिकारीलाई सिनेटको सामान्य वहुमतले बर्खास्त गर्ने प्रावधान गरेको छ । पछिल्लो पटक अर्थात माघ २५ गते उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री, अध्यक्ष एवम् प्रतिष्ठनका सहकुलपति उपेन्द्र यादवले प्रतिष्ठानको सञ्चालक परिषद्को बैठक फागुन १६ गते बस्ने र उक्त बैठकमा प्रतिष्ठानका उपकुलपतिबाट सम्पादन भएका कार्यहरु उपर छानविन भई पेश भएको प्रतिवेदन उपर छलफल हुने भएकोले उक्त सञ्चालक परिषद्को बैठकबाट अन्तिम निर्णय नभएसम्म प्रतिष्ठानको दैनिक कार्य सञ्चालनमा असर पर्ने आर्थिक तथा प्रशासनिक कार्यहरुमामात्र गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्य मन्त्री एवम् सहकुलपतिको पछिल्लो निर्देशनले उपकुलपति रौनियार शक्तिकेन्द्रहरु धाएर हारगुहार गर्न थालेको प्रतिष्ठान स्रोतले जनाएको छ । दिपक बोहोरा स्वास्थ्य मन्त्री हुँदाको समयदेखि सिनेट बोलाउन रौनियारलाई बारम्बार मन्त्रीले पत्राचार गर्दा समेत रौनियारले आलटाल गर्दै आएका थिए । २०७४ पौष २१ गते प्रतिष्ठानको नियमावली २०५५ को नियम ३.४ (१) बमोजिम प्रतिष्ठानका सहकुलपतिले विभिन्न एजेन्डाहरुमा छलफल गरी निर्णय गर्न प्रतिष्ठानको परिषद्को बैठक डाक्न पटक पटक दिएको निर्देशनको अवज्ञा गरी कानुन बमोजिमको दायित्व र जिम्मेवारीबाट भाग्ने, उम्कने र संस्थालाई धरासायी बनाउन दुस्प्रयास गरेको दृेखिएको हुँदा बैठक नबोलाउनुको कारण र प्रतिष्ठानबाट भएका अनियमितताका सम्बन्धमा प्राप्त छानविन प्रतिवेदन उपर आफ्नो धारणा सहितको चित्त बुझ्दो स्पस्टीकरण तीन दिनभित्र पेश गर्न निर्देशन दिएका थिए । तर उपकुलपति रौनियारले त्यसलाई धोती लगाई दिएका थिए । करोडौ रुपैया नजराना बुझाएर उपकुलपति भएको केही दिनभित्रैमा एमआरआई खरिद प्रकरणको सात करोड घोटालाबाट शुरु भएको रौनियारको दुई बर्षे कार्यकालमा प्रतिष्ठान भ्रष्टचारले तहस नहस बन्न पुगेको छ । पछिल्लो पटक प्रधानमन्त्री कार्यालयका पूर्व सचिव तथा हालका स्वास्थ्य सचिव केदारबहादुर अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय छानविन समित र स्वास्थ्य मन्त्री उपेन्द्र यादवको संयोजकत्मा दुई सिनेटर सहितको तीन सदस्यीय छानविन समितिले प्रतिष्ठानमा चरम भ्रष्टाचार भएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ ।
भ्रष्टाचारका काण्डै काण्ड
विगतमा रेडियोलोजी विभागको प्रमुख छँदा १२ करोडमा खरिद गर्न लागेको १.५ टेस्लाको एमआरआई मेसिन अनुुपयुक्त भन्दै खरिद गर्न नदिएका रौनियाराले उपकुलपति बन्नासाथ १८ करोडमा खरिद गर्ने निर्णय गर्दै रातारात सनराइज बैंकमा एलसी खोले । खरिदमा करिब ६ करोड कमिशन बजाउने उनको सपना त्यसबेला चकनाचुर भयो जब यो प्रकरण अख्तियार र सर्वोच्च अदालत पुग्यो ।
यसैगरी प्रतिष्ठानको हातामित्र निर्मणाधीन दुई अर्ब १८ करोडको मातृ शिशु भवनको निर्माणमा केज कन्सल्टेन्सीले लागतको १.४ प्रतिशत शुल्क लिने गरी ठेक्का पाएकोमा सोही परामर्शदाता केज कन्सल्टेन्सीलाई ४ अर्ब ५० करोडको क्यान्सर तथा मुटु रोग भवन निर्माणका लागि
परामर्शदाता नियुक्ति गर्दा लागतको ४.६ प्रतिशत दिने गरी ठेक्का लगाएर ८ करोड अनियमितता गरेका थिए । यतिमात्र नभएर प्रतिष्ठानलाई चाहिने दैनिक सामान खरिद गर्दा समेत खरिद शाखामा आफ्नै विश्वासपात्र मानिस राखेर सार्वजनिक खरिद नियमावली विपरीत दोब्बर, तेब्बर मूल्यमा स्थानीय व्यापारीहरुका अनेक नाममा करोडौ हिनामिना गरेको, नियम विपरीात प्रतिष्ठानले गर्ने सबै भुक्तानीको चेकमा आफै हस्ताक्षर गर्ने र कमिशन नदिएसम्म ६ महिनासम्म चेक आफैसँग राख्ने गरेका थिए । यतिमात्र होइन मातृ शिशु भवनको निर्माण भुक्तानीमा छानविन समिति आफैले स्वास्थ्य मन्त्रालयमा उजुरी हालेको र छानविनकै क्रममा २१ करोड भुक्तानी दिएका थिए । पछिल्लो पटक अर्थात स्वास्थ्य मन्त्रालयले कुनै प्रकारको नियुक्ति लगायतका काम कारबाही नगर्न दिएको निर्देशनलाई लत्याएर रौनियारले जथाभावि नियुक्ति गरेको, विदेशी विद्यार्थीहरुबाट ५० लाख सम्म रकम असुल गरेको तथ्य समेत सार्वजनिक भएको छ । यसका लागि निजले आफ्नै ड्राइभर दिवाकर कार्कीलाई माध्यम बनाएको कर्मचारीहरुले जनाएका छन् ।
लविङ्ग गर्न समेत स्रोत साधनको दुरुपयोग
चरम आर्थिक अनियमिततामा मुछिएका रौनियारलाई बर्खास्त गर्न उच्च स्तरीय छानविन समितिले मंसिरमै प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । तर उनले सोही समयमा विभिन्न सप्लायर्सहरुलाई रातारात ८ करोड भुक्तानी दिए । अख्तियार, सर्वोच्च अदालत, मन्त्री मिलाउने काम मेरो प्रधानमन्त्रीलाई तपाईहरु मिलाउनुस् भन्दै मेडिकल सप्लायर्सहरुलाई मात्र नभएर उच्च तहका राजनैतिक नेतृत्वलाई समेत प्रभावमा पारी रौनियारले प्रतिष्ठान दोहन गर्दै आएका थिए ।
प्रतिष्ठान स्रोते दिएको जानकारी अनुसार नेपाल सरकारले पूर्वाधार विकासमा दिएको ३० करोड नेपाल सरकारलाई फिर्ता पठाउनुपर्ने अवस्थामा सो रकम समेत निजले कमिशनको प्रलोभनमा वितरण गरेका थिए । उपकुलपति रौनियारले कार्तिक २५ गते सुर्जिकेम सप्लायर्सलाई २४ लाख, जेनेरल मेडिकल सप्लायर्सलाई ४० लाख, गर्ग इम्पेक्सलाई २४ लाख, डाग्नोटेकलाइ ६० लाख आफैले हस्ताक्षर गरेर भुक्तानी दिई कमिशन लिएका थिए ।
यसै बीचमा निजले आफ्नो पक्षमा स्वास्थ्य मन्त्री, प्रधानमन्त्री लगायतसँग लविङ्ग गर्न ६ चिकित्सक, केही कर्मचारी हरुलाई काठमाण्डौ पठाएका थिए । मन्त्री यादवलाई नजिकबाट चिनेको भन्दै ध्वाँस पिट्ने त्यस्ता चिकित्सक र कर्मचारीहरुले प्रतिष्ठानको को १ च ११२७ नम्बरको पजेरो प्रयोग गरेका थिए । यो क्रम एक पटक मात्र नभएर बारम्बार उनीहरु प्रतिष्ठानको सोत साधन प्रयोग गरेर काठमाण्डौ जाने गरेका थिए । जसको नेतृत्व रौनियारका विश्वास पात्र डा. विकास साहले गर्ने गरेका थिए । त्यसो त रौनियारले समेत आफ्नो बचाउका लागि काठमाण्डौ जाँदा आउँदा दुई बर्षको अवधिमा प्रतिष्ठानको ५० लाख सिध्याएको स्रोतले जनाएको छ । यसैगरी प्रतिष्ठानको मुद्दा हेर्ने विराटनगरका बरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती हुँदा हुँदै निजले इनरुवा घर भई काठमाण्डौ बस्दै आएका राजु कटुवाललाई नियुक्ति गरेका थिए । उनलाई समेत रौनियारले ५० लाख भुक्तानी दिएका थिए भने पछिल्लो समय विपुलेन्द्र चक्रवर्तीलाई सुनियोजित रुपमा हँटाइएका थिए ।
एकाडेमीक ब्लकको छाना हँटाइयो
विद्यार्थीहरुलाई पठन पाठनमा सहज होस् भन्ने उद्देश्यले भारत सरकारले झण्डै ६ बर्ष अगाडि निर्माण गरिदिएको एकाडेमिक भवनको एउटा कोठाको छाना सिपेज भयो भन्दै रौनियारले दुई कोठाको छाना भत्काउन लगाई ठेकेदारसँग मोटो रकम असुल गरेका छन् । सामान्य रेट्रोफिटिङ्गले मात्र सम्पन्न हुने काममा कमिशनकै प्रलोभनमा त्यसो गरिएको प्रतिष्ठानका चिकित्सकहरु बताउँछन् ।
एकाडेमिक भवन मात्र नभएर इमरजेन्सी भवन विस्तार गर्ने वहानामा हाल रौनियारले अर्काे अनियमितता गर्दै गरेको खुलेको छ । स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपति उपेन्द्र यादवले छानविन समितिले आफ्नो प्रतिबेदन बुझाइसकेको अवस्थामा प्रतिष्ठानलाई दीर्घकालीन असर पुग्ने कुनै काम नगर्नुे भनेर निर्देशन दिइसकेको अवस्थामा निजले हालको इमर्जेन्सी भवनको
उत्तरतर्फ विस्तारको नाममा कामलाइ अगाडि बढाएका छन् । भारतका दिग्गज कन्सल्टेन्सीहरुले डिजाइन गरेको भवनको छेउमा विस्तारको नाममा कामलाई अगाडि बढाएका हुन् ।
भारतका दिग्गज कन्सल्टेन्सीहरुले डिजाइन गरेको भवनको जगमै टाँसेर चर खन्ने काम भइरहेको छ । भोलि कुनै दैवी प्रकोप भएमा विरामी तथा तिनका आफन्त भाग्ने स्थान समेत चाहिन्छ भन्ने सामान्य हेक्का समेत
रौनियारमा नदेखिएको चिकित्सकहरु बताउँछन् । बनाउनै परे प्रतिष्ठानमा धेरै ठाउँ छ त्यही किन बनाउनु प¥यो उनीहरुको प्रश्न छ ।
