कुनै समय विवाह, ब्रतबन्ध, लगायतका सामाजिक संस्कारमा दुना टपरी विना संस्कार नै चल्र्दैन थियो भने विवाह भतेर समेत थालको सट्टा टपरीमै खाने प्रचलन थियो ।
कसैको विवाह, ब्रतबन्ध आयो भने तथा पातमा सिन्काले बुनेर ग्रामीण भेगका महिलाहरुले रातभरि टपरी बुन्ने गर्दथे ।
तर अहिले बढ्दो सहरीकरण र आधुनिकीकरण संगै यस्ता सालका पातले बुनेका टपरी लोप हुन थालेका छन् ।
अहिले कागजका प्लेटले यस्ता दुना टपरी विस्थापित गरिदिएको छ ।
यसैलाई मध्य नजर गरी धनकुटामा हाम्रो बहुमुखी पाठशालाले लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि बालबालिका लक्षित दुना टपरी निर्माणसम्बन्धी तालिम दिएर दुना टपरीको संरक्षणको पहल सुरु गरेको छ । विद्यार्थीहरूलाई परम्ंपरागत संस्कार र संस्कृतिका बारेमा किताव ज्ञान भन्दा पनि व्यवहारिक ज्ञान दिदा सान्दर्भिकता ठोनेर दुना टपरी बनाउन सिकाइएको बताइएको छ । व्यवहार ज्ञान दिलाउँदै पुराना संस्कृतिलाई जगेर्ना गर्ने उद्दश्यले कार्यक्रम आयोजना गरिएको हाम्रो बहुमुखी पाठशालाका संयोजक सरोज भुजेलले जानकारी दिए । मौलिक परम्परा अनुसार आवश्यक पर्ने दुना टपरीको महत््व र आवश्यकताका विषयमा छलफलसमेत गरिएको थियो । हिले मावि, भाषा मावि, गोकुण्डेश्वर मावि, गोकुण्डेश्वर बालमन्दिर मावि, त्रिवेणी मावि, तमोरभ्याली बोर्डिङ, दीप इंङ्गलिस बोर्डिङ, बालसंसार बोर्डिङ, तुलसी मेहर बोर्डिङका ३० जना छात्र छात्रालाई प्रशिक्षण दिइएको छ । पछिल्लो समय नेपाली मौलिकता हराउँदै गएको र यस्ता कार्यक्रमले विद्यार्थीलाई रचनात्मक बन्नमा समेत सहयोग पुग्ने हुँदा दुना टपरी गाँस्ने सीप सिकाइएको प्रशिक्षक लक्ष्मीदेवी श्रेष्ठले बताइन् । हाल हाम्रो बहुमुखी पाठशालाले मौलिक चित्रकला, मौलिक नृत्य, मौलिक गीत–संगीत जस्ता परम्रागत संस्कृतिको संरक्षणमा काम गर्दै आएर धनकुटामा पृथक पहिचान निर्माण गरिरहेको संयोजक भुजेलले दाबी गरे ।
