शुक्रबारदेखि नेपालले युएईविरुद्ध ३ एक दिवसीय र समान ट्वान्टी ट्वान्टी सिरिज खेल्दैछ ।
पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली यसअघिनै दुबई पुगिसकेको छ । एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले दोस्रो पटक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो ।
गत वर्ष मार्चमा जिम्बावेमा भएको वल्र्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै नेपालले ४ वर्षका लागि ओडिआईको मान्यता पाएको थियो । त्यसपछि नेपालले अगस्टमा नेदरल्याण्डसँग २ वटा एकदिवसीय अन्तराष्ट्रिय खेलेको थियो ।
उक्त ऐतिहासिक सिरिजमा नेपालले एक खेल जित्यो। पहिलो खेलमा हार बेहोरेको नेपालले दोस्रो खेलमा डच टोलीविरुद्ध १ रनको रोमाञ्चक जित निकाल्दै सिरिज बराबरी गरेको थियो ।
युएई र नेपालबीच हुने सिरिजलाई ‘एएनआईबी च्यालेन्ज सिरिज २०१९’ नामले खेलिने भएको छ । सिरिज विजेताले १० हजार दिराम पुरस्कार पाउने छन् ।
नेपालले ओडिआई मान्यता पाएपछि युएई विरुद्ध खेल्न लागेको यो दोस्रो पटक हो । एसिया कप छनोटमा नेपाल र युएईबीच खेल भएको थियो । उक्त खेलमा नेपाल ७८ रनले पराजित भएको थियो ।
करिब एक वर्षको अन्तरमा खेल्न लागिएको दोस्रो ओडिआई सिरिजले नेपाललाई वरियतामा पर्न धेरै सघाउ पु¥याउनेछ ।
नेपालले अहिलेसम्म ३ वटा ओडिआई खेल खेलेको छ । युएई विरुद्धको सिरिजपछि नेपालको खेल संख्या ६ हुनेछ र अर्को थप ओडिआई सिरिज खेलेमा नेपाल औपचारिक रूपमा आइसीसीको ओडिआई वरियतामा पर्ने छ ।
हेड टु हेड
नेपाल र युएईबीच अहिलेसम्म एउटा मात्र ओडिआई खेल भएको छ । बाँकी सबै लिस्ट ए का खेलहरू हुन् ।
अहिलेसम्म नेपाल र युएईबीच १५ खेल भएका छन् । जसमा युएईले ११ खेल जित्दा नेपालले ३ खेल मात्र जितेको थियो भने एक खेल बराबरी भएको थियो ।
नेपाली टिम
यस पटक नेपाली टोलीमा चार जना नयाँ युवा खेलाडीले स्थान बनाएका छन् । भिम सार्की, पवन सर्राफ, सन्दिप जोरा र अभिनाश बोहराले पहिलो पटक राष्ट्रिय टिमबाट डेब्यू गर्न लागेका हुन् ।
कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा र आइसीसी प्रतिनिधि अमिनिल इश्लामले टिमको छनोट गरेका हुन् ।
एभरेस्ट प्रिमियर लिग तथा पोखरा प्रिमियर लिग क्रिकेटमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका तिब्रगतिका बलर अभिनास बोहरा, राम्रो ब्याटिङ गरेका भिम सार्की, सन्दिप जोरा र पवन सर्राफ टिममा अटाएका हुन् ।
सार्कीले पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सबाट खेल्दै राम्रो प्रदर्शन गरेका थिए । ईपिएलमा ललितपुर प्याट्रिएट्सबाट खेलेका जोराले राम्रो खेलेका थिए ।
टोली ः
पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, भिम सार्की, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोरा ।
युएई टोली
नेपाल विरुद्धको सिरिजका लागि घरेलु टोली युएईका नियमित कप्तान रोहन मुस्ताफासहित ३ जना महत्वपूर्ण खेलाडी टोलीमा छैनन् ।
पाकिस्तानमा भएको इमिर्जिङ एसिया कप दौरान प्रतियोगितालाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका मुस्ताफासहित रहेमद राजा र रहेमद शेहजादलाई युएई क्रिकेट बोर्डले ८ साताको प्रतिवन्ध लगाएको छ । यस्तै अर्का भरपर्दा ब्याट्सम्यान एडनान मफ्टीले सन्यास लिइसकेकाले उनीहरू नेपाल विरुद्ध हुने छैनन् ।
यी महत्वपूर्ण खेलाडी नहुँदा घरेलु टोलीको कप्तानी मोहम्मद नाभिदले गर्न लागेका हुन ्। नाभिद नेपालको घरेलु क्रिकेट खेलिसकेका खेलाडी हुन् ।
टोली ः
मोहम्मद नाभिद (कप्तान), मोहमद उस्मान (उप(कप्तान), अस्फाक अहमद,
चिराग सुरी, साइमन अनवर, मोहम्मद बुता, घुलाम शाबर, इमरान हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर, सुल्तान अहमद, सीपी रिजवान ।
खेल कसरी हेर्ने ?
सिरिज अन्तर्गत नेपालले पहिलो एकदिवसीय माघ ११, दोस्रो माघ १२ र तेस्रो माघ १४ गते खेल्दैछ ।
३ वटै एकदिवसीय खेलहरु युएईको स्थानीय समय अनुसार बिहान ९ः३० बजे अर्थात नेपाली समय ११ँ१५ बजे सुरू हुनेछ ।
एक दिवसीय सिरिज पछि हुने टी–२० सिरिजको पहिलो खेल माघ १७ गते, दोस्रो माघ १८ र तेस्रो माघ २० गते हुनेछ ।
सबै टी–२० खेलहरु युएईको स्थानीय समय दिउँसो १ बजे अर्थात् नेपाली समय २ः४५ बजेबाट सुरू हुनेछ । युएईमा हुने नेपाली क्रिकेट प्रेमीहरूले मैदानमै गएर प्रतियोगिताको निशुल्क प्रत्यक्ष हेर्न
पाउनेछन् ।
युएईको स्थानीय वेबसाइट ‘द नेसनल’का अनुसार सम्पूर्ण खेलहरु युएई क्रिकेट बोर्डले आफ्नो सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
