समकालीन नेपाली साहित्यका श्रष्टा आचार्य रहेनन्

धरान÷धनकुटामा जन्मिएर  धरानलाई कार्यक्षेत्र बनाई निरन्तर प्रगतिवादी साहित्यको सम्बृद्धिमा पहिचानका साथ जीवन पर्यन्त लाग्नु भएका समकालीन नेपाली साहित्यका कविता, मुक्तक विद्यामा खारिनु भएका अग्रज साहित्यकार वेणु आचार्य अब हामी माझ रहनु भएन ।
धराने साहित्यकार तथा लेखहरुमाझ मात्र नभएर हरेक धरानेहरुका वेणु दाईको नामले सम्बोधित आचार्यको माघ ८ गते ७७ बर्षको उमेरमा भएको असामयिक निधनले मुलुकले नै एक सच्चा साहित्यिक साधक गुमाएको छ ।
लामो समयदेखि दम रोगबाट पीडित स्व. साहित्यकार आचार्यका दुई वटा कृतिहरु प्रकाशित भएका छन् भने दर्जनौ कविता तथा मुक्तक प्रकाशाधीन अवस्थामा रहेको छ । झण्डै एक दशक अगाडि प्रकाशित एक चोक्टा इतिहास नामक कविता संग्रहले शासक वर्गलाई चोटिलो प्रहार गरेको छ । यसैगरी मुक्तक संग्रहले समेत नेपालका शासकहरुको हुर्मत लिएको छ । शायद त्यसैले पनि हुन सक्छ राज्य सत्ताले उहाँलाई कहिल्यै चिनेन । व्यंग्यात्मक शैलीमा झोपडीमा बस्नेहरुको यथार्थ केलाई शासक वर्गको विलासितामाथि व्यंग्य गर्न खप्पिस आचार्यलाई राज्य सत्ताले चिन्ने र सम्मान गर्ने कुरा पनि भएन । उहाँले कहिल्यै चाकडी र मोलाइजामा आफ्नो कलम दौडाउनु भएन । श्रम, स्वाभिमान, माटोको अस्तित्व तथा सम्मानकै लागि उहाँको कलम झण्डै पाँचदशकसम्म निरन्तर दौडिरहयो ।
धरान १३ निवासी आचार्यले सदैव सर्वहारा वर्गको प्रतिनिधित्व  गरेझै आफ्नो जीवन यापन गर्नुभयो । समग्रमा भन्नुपर्दा उहाँको जीवन शैली, सर्वहारा वर्गको प्रतिनिधि पात्रकै रुपमा रहयो । दुई छोरा र एक छोरीको पिता आचार्यको अन्तेष्टी इटहरी स्थित बूढी गंगाघाटमा गरिएको थियो ।

तपाईको प्रतिक्रिया