आफ्नो संस्कृतिलाई जीवन्तता राख्न गुरुङ समुदायले सिड्नीमा मनाए ल्होछार

जहाँ गए पनि आफ्नो साँस्कृतिक पहिचानलाई कसैले भुल्न सक्दैन । आधुनिकतासँगै आफ्नो जातिको पहिचान हराउला भन्ने चिन्ता गुरुङ्ग जातिमा पनि त्यतिकै छ । आफ्नो संस्कृतिलाई पुस्तौपुस्तामाझ जीवन राख्न सिड्नीका गुरूङ समुदायले शनिबार ल्होछार मनाएका छन् ।
कुकुर वर्गलाई बिदाई गरि मृग वर्गको स्वागत गर्दै गुरूङहरूले ल्होछार मनाएका हुन् ।
हर्ज्विलस्थित मराना अडिटरियम हलमा भएको ल्होछार कार्यक्रममा झण्डै सात सय जनाको सहभागिता थियो ।
गुरूङ भेषभुषामा सजिएका युवा युवतीको भीडले हर्ज्विल क्षेत्र नेपालमय बनेको थियो । मञ्चमा राखिएको कुकुर वर्ग हटाएर मृग वर्गको तस्बिर राखेपछि ल्होछार कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रममा गुरूङ लामाहरूले परम्परागत पूजापाठसमेत गरेका थिए । पूजाको प्रसाद सबै सहभागिलाई बाँडिएको थियो । यसअघि नेपालबाट गुरूङ कलाकार आउने भए पनि यसपाली स्थानीय कलाकारको मात्रै प्रस्तुती थियो ।
अष्ट्रेलियामा हुर्कदै गरेको दोस्रो पुस्ता आफ्नो संस्कार सिकाउन यसपाली स्थानीय कलाकारलाई महत्व दिइएको तमू समाज सिड्नीका अध्यक्ष टंक गुरूङले जानकारी दिए ।
ल्होछार कार्यक्रममा स्थानीय कलाकारले कौडा, सोरठी, गुरूङ भाषा र नेपाली गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए ।
अष्ट्रेलियामा आयोजना हुने सामुदायिक कार्यक्रममध्ये तमू ल्होछारलाई विशेष मानिन्छ । सन् १९९६ मा प्रेम गुरूङको सक्रियतामा तमू समाज सिड्नी गठन भएको थियो । स्थापनासँगै समाजले अष्ट्रेलियामा गुरूङ संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

तपाईको प्रतिक्रिया