बुधनगर÷नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव पहिलो पटक
भारत भ्रमणमा जाँदा नेपाल भारत बीचमा भएको रेल्वे सम्झौता अनुसार निर्माण भएको भारतको वथनाहादेखि विराटनगरको बुधनगर सम्मको रेल्वे लिगमा भारतीय रेलको इन्जिन आइपुगेको छ ।
सम्झौता अनुसार भारत सरकारले नेपालका पाँचवटा औद्योगिक सहरमा रेल्वे नाका पु¥याइदिने सम्झौता गरेको थियो । यस भन्दा अगाडि जनकपुर जय नगर बर्दिबास सम्मकोे रेल्वे लिगमा भारतीय रेलको सफल परीक्षण भइसकेको छ भने गत आइतबार बथनाहा बुधनगरमा समेत परीक्षण सफल भएको छ ।
नेपालका अन्य औद्योगिक नाकाहरु वीरगञ्ज पथलैया, भैरहवा सुनौली, नेपालगञ्ज कोहलपुर रुपैडियामा समेत रेल्वे लिग निर्माणको काम भइरहेको छ । रल्वे लिग निर्माणको लागि भारत सरकारले भारतको रेल्वे कष्ट्रक्सन कम्पनी (इर्कन इन्टरनेशनल) लाई ठेक्का दिएको थियो । भारत सरकारले भारतको बथनाहादेखि नेपालतर्फको बुधनगर कटहरी सम्मको रेल्वे लिग निर्माणका लागि ठेकेदार कम्पनीलाई दुई सय ३८ करोड भारुमा ठेक्का दिए तापनि नेपाल तर्फको जग्गा अधिग्रहण र मुआब्जा वितरणमा भएको ढिलाइले तोकिएको समयमा काम हुन सकेको छैन । आइतबार बुधनगर सम्म भारतीय रेलको इन्जिन आइपुग्दा भारतीय रेल्वे विभागका इन्जिनियर, निर्माण कम्पनीका टोलीहरु समेत सँगै उपस्थित भएका थिए । उनीहरुले केही समय अगाडि मात्र रेल्वे लिगको जाँच गरेर फर्किएका थिए । दुवै देशबीच भएको सम्झाँैता अनुसार बुधनगरदेखि कटहरी सम्मको भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम भारत सरकारले गरिदिने र नेपाल सरकारले सोको लागि जग्गा उपलब्ध गराउने रहेको थियो । रेल्वे विभागका इन्जिनियर र निर्माण कम्पनीको टोलीले यस भन्दा अगाडि निरीक्षणका क्रममा अक्टोबर सम्ममा विराटनगर सम्म रेल आइपुग्ने जनाउ दिएका थिए । विराटनगरको बुधनगरसम्म भारतीय ब्रोडगेजको रेल इन्जिन आएपछि पूर्वाञ्चलका उद्योगी व्यवसायीहरु हर्षित भएका छन् । एसियन थाई फुड्सका प्रवन्ध निर्देशक महेश जाजु भन्नुहुन्छ, विराटनगरसम्म रेल आउनु व्यवसायीहरुका लागि अत्यन्तै ठूलो खुशीको कुरा हो । उद्योगी एवम् समाजसेवी ताराचन्द खेतान भन्नुहुन्छ विराटनगर अब भारतीय रेल्वे सेवासँग जोडिएको छ । अब कलकत्ता
बन्दरगाहबाट आउने सामान ट्याङ्ग, लहरीबाट नभएर ब्रोेडगेज रेलबाट आउँछ । यसले भाडा लागत कम हुन्छ भने जोखिम समेत रहँदैन, खेतानले भन्नुभयो ।

भारतको बथनाहादेखि कटहरी सम्मको १८.५ किमी रेल्वे लिगमध्ये भारततर्फ ५.५ किमी रहेको छ भने नेपालतर्फ १३ किमी रहेको छ । भारत सरकारले रेल्वे लिग स्टेशन विल्डिङ्ग, यात्रु प्रतिक्षालय, बुधनगरमा संयुक्त चेक प्वान्ट समेत निर्माण गरिदिने सम्झौतामा रहेको छ । जस अनुसार वुधनगरमा भारतले आफनो तर्फको संयुक्त चेक प्वाइन्ट निर्माण गरिसकेको छ भने नेपालतर्फ जग्गाको मुआब्जा विवादका कारण काम अगाडि बढ्न सकेको छैन । नेपालको पाँच वटा नाकासम्म भारत सरकारले रेल्वे लिग सँगै अन्य सम्पूर्ण संरचना निर्माण गरिदिँदा नेपालको पूर्व पश्चिम रेल्वे लिग बनाउँदा स्टेशनसँग जोड्न ठूलो मद्दत पुग्छ । सम्झौता अनुसार नेपाल सरकारले रेल्वे लिग निर्माण, रेल्वे स्टेशन (यार्ड) इन्टिग्रेटेड चेकपोष्ट निर्माणका लागि एक सय १४ विगाहा जग्गा निर्माण कम्पनीलाई उपलब्ध गराउनुपर्नेै हुन्छ । जग्गाको सम्पूर्ण मुआब्जा सम्बन्धित जग्गा धनीलाई प्रचलित मूल्यमा नेपाल सरकारले उपलब्ध गराउनुपर्ने हुन्छ । तर मुआब्जामा चित्त नबुझेकाहरुले अदालत गुहारेका कारण कटहरी सम्मको काममा बाधा उत्पन्न भएको छ ।

