पथरी गोल्डकपको उपाधि आर्मीलाई

उर्लाबारी, मंसिर १३– दोस्रो पथरी गोल्डकपको उपाधि नेपाल आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा झापा ११ लाई २–० ले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।
पथरी मैदानमा भएको खेलमा आर्मीले आठौं मिनेटमा दिपक गुरुङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा झापा ११ ले बराबरी गोल फर्काउने केही राम्रो मौका पाए पनि गोल गर्न सकेन ।
हिरन्य मगरले दोस्रो पहेँलो कार्ड पाएपछि खेलको ७० औं मिनेटमा आर्मी १० खेलाडीमा सिमित भयो । तर, ७६ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीको उपाधि पक्का गरे । प्रतिस्पर्धात्मक रहेको खेलमा अधिकांश समय बल आफ्नो पक्षमा पारेपनि झापाले गोल गर्न भने सकेन । उपाधिसँगै आर्मीले नगद दुई लाख २ हजार २ सय २२ रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्‍यो । उपविजेता झापा ११ ले नगद १ लाख १ हजार १ सय ११ रुपैया ट्रफी र मेडलमा चित्त बुझायो । फाईनल खेलमा म्यान अफ द म्याच झापा ११ का योगेश गुरुङ र म्यान अफ द सिरिज आर्मीका नवयूग श्रेष्ठ घोषित भए । उनीहरुले क्रमश: नगद ५ हजार र २५ हजार प्राप्त गरे । विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि तथा समाजसेवी छत्र बहादुर बस्नेतले पुरस्कार प्रदान गरे ।
त्र

तपाईको प्रतिक्रिया