धरान÷यहाँ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको चरम आर्थिक अनियमितता, कमिशनबारे असोज ५ गते गठित छानविन समितिका संयोजक उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई २४ घण्टे स्पस्टीकरण सोधेका छन् ।

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री यादवले कारबाही अगाडि बढाउने क्रममा २४ घण्टे स्पस्टीकरण सोधेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । २४ घण्टाभित्रमा स्पष्टीकरण पेश गर्न मन्त्रालयले असोज २९ गते नै पत्र काटे तापनि दशै विदाका कारण रौनियारले पत्र बुझेका थिएनन् । आइतबार कार्यालय खुलेपछि हार्डकपी (खामबन्दी चिठ्ठी) बुझ्नु अगावै रौनियार तीन दिन विदा लेखेर कसैलाई निमित्त समेत नदिई हिडेका थिए ।
यद्यपि, स्वास्थ्य मन्त्रालयले आइतबार ९ बजे मेलमार्फत स्पस्टीकरणको विवरण पठाइसकेको थियो । हार्डकपी नबुझ्दा झनै अप्ठेरो परिस्थिति आउने भएपछि २ः४० बजे पिएलाई पत्र बुझ्न लगाएका थिए । उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई यस भन्दा अगाडि अर्थात असोज १९ गते १० बुँदे स्पष्टीकरण सोधिएको थियो । तर चित्त बुझ्दो जवाफ नदिएपछि असोज २९ गते थप ९ बुँदे सहितको स्पष्टीकरण सोधिएको मन्त्रालय स्रोतले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन ऐनको दफा २०४९ को ११ (घ) ३ बमोजिम स्वास्थ्यमन्त्री आफै संयोजक रहेको दुई सिनेट सहितको छानविन समितिले स्पस्टीकरण चित्त बुझ्दो नभएमा उपकुलपति रौनियारलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई सिफारिस गर्ने प्रावधान रहेको छ । पहिलो पटक
रौनियालाई सोधिएको १० बुँदे स्पष्टीकरणमा कार्डियोलोजी र अंकोलोजी भवन निर्माणको ठेक्का किन रद्ध गरेको, कार्डियोलोजी र अंकोलोजी भवन निर्माण बार्षिक कार्यक्रमबाट नै हँटाउनुको कारण के हो, कर्मचारीहरुलाई गाली गलौज गरेको साथै स्पष्टीकरण सोध्नुको कारण के हो, एमसिएच भवनमा ३४ करोड भुक्तानी गरेको सम्बन्धमा, भेन्टिलेटर मर्मत नगरेको सम्बन्धमा, विभिन्न टेन्डरहरु रद्ध गरेको सम्बन्धमा, एमआरआई मेसिन खरिद सम्बन्धमा, छानविन भइरहेको बेलामा कर्मचारी तथा पदाधिकारीहरुलाई धम्क्याएको सम्बन्धमा, कार्यपद्धिति विगारेको सम्बन्धमा स्पष्टीकरण सोधिएको थियो ।
पहिलो पटक सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि दोसो पटक २४ घण्टे सोधिएको ९ बुँदे स्पष्टीकरणमा ँयियच अभिबलष्लन ःबअजष्लभ हरु विग्रेको तथा सामान्य पार्टसहरु फेरेर बन्नेमा विगत ६ महिनादेखि फायल अस्पताल निर्देशककोमा पठाएकोमा केही नगरी त्यतिकै राखेको सम्बन्धमा, नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट Automated DNA sequence Analyzer with softwere (8 capillary)/ thermal cycler हालसम्म पनि प्रयोगमा नलाइएको सम्बन्धमा, Critical Area मा प्रयोग हुने Blood Gas Analyzer को Reagents तथा Consumables बार्षिक रुपमा खरिद नगरी पटके खरिद गरेको सम्बन्धमा, Air-condition को टेन्डर मुल्यांकन समेत भसकेको तर टेन्डर स्वीकृत नगरी पुरानोलाई नै अर्को व्यवस्था नहुन्जेल साविककै व्यवस्था अनुसार कार्य गर्न किन खोजेको, प्रतिष्ठानको आवासको मर्मत विगत दुई बर्षदेखि टेन्डर नगरी सबै फायल थन्क्याएको, नयाँ Security को टेन्डर गर्नुपर्नेमा हालसम्म पनि टेन्डर नगर्नुको कारण के हो ? प्रतिष्ठानको उपकुलपति काजमा जाँदा सहकुलपतिसँग स्वीकृति लिनुपर्नेमा त्यस्तो स्विकृति नलिनुको कारण के हो ? तपाईले उपकुलपति बन्दा गरेको प्रतिबद्धता किन पुरा नगरेको, सेन्चुरी बैंकमा खाता खोल्दा कासबाट निर्णय नगराई एकल निर्णय गरी खाता खोलेकोमा खोल्न पाउनु हुने कि नहुने स्पस्टीकरणमा सोधिएको थियो । बुँदाको अन्तमा माथि उल्लेखित बुँदाहरुको आधारमा तपाई उपर प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) को ३ बमोजिम उपकुलपतिको पदबाट हटाउने कारबाही किन नगर्ने समेत भनिएको छ । यहाँ स्मरणीय कुरा के छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा रौनियारलाई अनियमितता गरेको आरोपमा २०७४ पौष ३० गते कारबाही गर्ने सम्बन्धमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई सहकुलपति एवम् स्वास्थ्यमन्त्री दिपक बोहराले समेत पत्राचार गरेका थिए ।
