धरान ÷करवृद्धि समायोजनका लागि बनेको कार्यदलले सुझाव सहितको प्रतिवेदन बुझाएको १ महिना बित्न लाग्दा पनि धरान उपमहानगरपालिकाले कर समायोजनका लागि आलटाल गरिरहेको भन्दै संयुक्त सर्वदलिय संघर्ष समितीले आन्दोलन चर्काउने चेतावनी दिएको छ ।
करवृद्धिको विरोधमा नेपाली कांग्रेस सहितका ४ वटा स्थानीय राजनितिक दलहरुले विरोध जनाएका थिए । विरोधमा भएको आन्दोलन लाई सम्बोधन गर्ने भनि गठन गरेको कार्यदलले सुझाव सहितको प्रतिवेदन बुझाए पनि समस्या लाई निकास दिन आलटाल गर्दै आएको आरोप लगाएको छ ।
समितिले प्रेस विज्ञप्ती जारी गर्दै अत्याधिक रुपमा बृद्धि गरिएको कर घटाएर समस्या समाधान नगर्ने हो भने अब आन्दोलनको अर्को र चर्को रुप थेग्न तयार भएर बस्न उपमहानगरपालिका नेतृत्वलाई चुनौति दिएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘आलटाल गर्दै जाने हो भने सम्पूर्ण धरानका कर पीडित र नगरपालिका पीडित जनसमुदाय लाई आन्दोलनमा उत्रनका लागि तयार भएर रहन समेत आग्रह गर्दछौं ।’
समितिका अध्यक्ष सञ्जुहाङ लिम्बु र सचिव श्याम पोखरेल व्दारा जारी विज्ञप्तीमा आन्दोलनरत पक्षको कार्यदलले वुँदागत रुपमा सवै सरोकारवाला र विज्ञहरुको राय सुझाव अनुरुप भदौ २८ गते करको दर घटाउन लिखित रुपमा १४ पन्ने राय कार्यदलको संयुक्त वैठकमा पेश गरिसकेको जनाएको छ । नगरपालिकाको कार्यदलले पटक पटक बैठक बसेर छलफल गर्ने भन्दै झुक्याउँदै आएको समितीको आरोप छ । संयुक्त संघर्ष समितिको तर्फबाट पेश भएको करको दर घटाउने प्रस्ताव लाई अक्षरस्व पालना गरी त्यसैलाई कार्यपालिकाबाट अनुमोदन गर्न नगरपालिका नेतृत्वलाई आग्रह गरेका छन् ।

