धरान ÷शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यरत, इमान्दार कर्तव्यनिष्ट बसन्त माविका प्रअ उद्धव नेपालीको मोटर साइकलको ठक्करबाट मृत्यु भएको छ ।
शनिवार साझ ७ बजेको समयमा मोरङको पथरीशनिश्चरेमा मोटरसाईकलको ठक्करबाट उहाको निधन भएको हो । तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका बसन्तपुरमा बस्दै आउनु भएका उद्दब नेपाली शुक्रबार ससुरा मेघराज कार्की ढोलीको मलामीका लागि पथरी आउनु भएको थियो ।
मलामी गएर फर्कने क्रममा पछाडीबाट आएको को ३ प ७९०९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा नेपालीको मृत्यु भएको हो । मलामी गएर ससुराली पथरी फर्कने क्रममा पथरी शनिश्चरे १ लाटिखोलामा दुर्घटना भएको थियो । मोटरसाईकल चालक संजय कामीले अत्याधिक मापसे गरेर मोटरसाईकल चलाएकाले मलामी गएर फर्केका ३ जनालाई मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट उर्लाबारी २ का छत्र बहादुर दर्जी र तेह्रथुम लालीगुराँस नगरपालिका ८ लसुनेका पदमबहादुर नेपाली समेत सख्त घाइते भएका थिए ।
