धरान÷कुनै समस्या लिएर आन्तरिक राजस्व कार्यालय पुग्ने सेवाग्राही, उद्योगी व्यवसायी पछिल्ला केही दिन यता निराश भएर फर्कने गरेका छन् । कार्यालय प्रमुख देवनाराण पौड्यालको कार्यकक्षको नेम प्लेटमा कार्यालय प्रमुख भित्र भनेर लेखिएको हुन्छ तर भित्र खाली कुर्सी देखिन्छ । निम्न स्तरका कर्मचारीहरुसँग जिज्ञासा राख्दा सरले कस्तो नबुझेको सिजन लागेको छ भन्दै मुसुक्क हाँस्छन् ।
धरान साप्ताहिकको प्रतिनिधि असार दोस्रो साता कार्यालयमा पुग्दा त्यस्तै दृश्य देखियो । सेवाग्राहीको बढी चाप रहने कार्यालयका लागि १०ः३० देखि १२ बजेलाई पिक हावर मानिन्छ । तर त्यस दिन कार्यालय प्रमुखको नेमप्लेटमा मात्र भित्र लेखिएको थियो । कार्यालय प्रमुख आधा घण्टापछि भित्रिदा धेरै सेवाग्राही गुनासो गर्दै कार्यालय हाताबाट बाहिरी सकेका थिए । अक्सर आउने सेवाग्राहीको एउटै गुनासो हुन्छ कार्यालयका अडिट शाखाका अधिकृत अनमोल दाहाल, नेत्रप्रसाद घिमिरे, रमेश कार्की, रमेश ओझाले लामो समयदेखि खाता जफत गरेर राखिदिएका छन् । अटिडको नाममा अतिरिक्त रकम माग गरेका छन्, स्टक मिलेन भनेर तारन्तार फोन गरेर तर्साउँछन् तर कार्यालय प्रमुखसँग गुनासो गर्न गयो भने भेटिदैन वा भेट्दा पनि वास्ता गर्दैनन् । इटहरीका एक कपडा व्यवसायीले नाम उल्लेख नगरिदिने सर्तमा भने आन्तरिक राजस्वका कर्मचारीले आतंकति नै बनाएका छन् । स्टक मिलेन भनेर खातापाता लगेको दुई महिना भयो । दुई महिना देखि विक्री इन्ट्री गर्न पाइएको छैन । विक्री इन्ट्री नगर्दा किन नगरेको भन्दै हप्काउँछन् धरानका अर्का व्यवसायीले भने । धरान ९ का ती व्यवसायीले भने कहिले के चाहियो भन्छन्, कहिले के चाहियो भन्छन् । हैरान बनाइसके उनले दुखेसो पोखे । कर्मचारीमा कमाउ धन्दा हावी भएको छ या सिधै रकम माग्छन् या त अडिटर मार्फत असुल्छन् ।

यसै सम्बन्धमा उद्योगी व्यवसायी, सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान प्रथम उपाध्यक्ष तथा अर्थविद् कृष्ण अगवालसँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो व्यवसायीहरुको गुनासा धेरै आउन थालेको मैले पनि सुनेको छु । केही दिन अगाडि आन्तरिक राजस्व कार्यालय प्रमुख देवनारायण पौडेलसँगको भेटको प्रसंग कोट्याउदै उहाँले भन्नुभयो व्यवसायीलाई आतंकित बनाएर खातापाता ल्याउनुको सट्टा त्यसको फोटो कपी ल्याएर चेक जाँच गर्दा हुन्थ्यो । दोषी देखिए जरिवाना गर्नुस् तर दुई तीन महिनासम्म अड्काएर राख्नु राम्रो होइन । धरान वडा नं. ५ का एक व्यवसायीले भने कर तिर्नेलाई सम्मान गर्नुको सट्टा अनेकौ दुःख दिन्छन् । एउटा एउटा वहाना निकाल्छन् र अन्तमा रकममा वार्गेनिङ्ग गर्छन् । उनले भने सहज ढंगले कर्मचारीले व्यवसायीबाट रकम नपाएको अवस्थामा स्टकमा गएर ठोकिन्छन् । कुनै पनि व्यवसायीको हुँवहुँ स्टक मिल्दैन । कतिपय समान उधारो गएको हुन्छ, कतिपय फिर्ता आउँछ । कतिपय सामान ड्यामेज भएर फुटेर फाल्नुपर्छ इटहरीका एक हार्डवेयर व्यवसायीले भने ।
ती व्यवसायीका अनुसार आन्तरिक राजस्व कार्यालय धरान सुनसरीका हालका कार्यालय प्रमुख देवनारायण पौड्याल यस भन्दा अगाडि अर्थात मदन दाहाल कार्यालय प्रमुख हुँदा अधिकृत थिए । त्यसबेला पनि निजले व्यवसायीलाई असाध्यै दुःख दिएको सुनाए । उनले भने अनमोल दाहालको नेतृत्वमा आएको टोलीले मेरो खातापाता लग्यो, अनावश्यक जरिवाना पनि हान्दिएको छ र उनीहरुलाई पटक पटक रकम पनि बुझाउनु परेको छ । कहिले साँझमा फोन गर्छन्, कहिले राति फोन गर्छन् । यस सम्बन्धमा यस अघि कार्यालय प्रमुख पौड्यालसँग सम्पर्क राख्दा उनको कथन थियो कार्यालयको काममा व्यवसायीहरुसँग रात विहान जुनसुकै समयमा पनि फोन वार्ता हुन सक्छ भन्दै आफ्ना कर्मचारीको बचाउ गरेका थिए । धरान ८ का अर्का एक हार्डवेयर व्यवसायी भन्छन् कहिले कर निर्धारण, कहिले स्टक, कहिले अडिटिङ्गको बहाना गर्छन् । इमान्दारीतापूर्वक उनीहरुले नै निर्धारण गरे बमोजिमको कर तिर्दा पनि जसरी भए पनि पैसा नखाई छाड्दैनन् । सिधै खान नसकेपछि अनेकौ बहाना बनाउँछन् । उनले सुनाए राज्यलाई तिर्नुपर्ने रकम भन्दा बढी त कर्मचारीलाई ख्वाउनुपर्छ । इटहरीका अर्का हार्डवेयर व्यवसायीले भने हाम्रो पीडा कसले सुनिदिन्छ । सहज ढंगले गरिखाने वातावरण नै छैन । उनले आफूलाई अडिट शाखाका कर्मचारीले असाध्यै दुःख दिएको समेत सुनाए । व्यवसायीको पीडामा उद्योग वाणिज्य संघ लगायतले बोल्नुपर्ने हो तर उनीहरु बोल्दैनन् । वीरगञ्जमा आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरुले यस्तै ज्यादति गरेपछि व्यवसायीहरु सडकमै आएका थिए । हाल कुनै पनि व्यवसायिक प्रतिष्ठानमा आशंका भएमा उद्योग वाणिज्य संघका प्रतिनिधि लिएर मात्र उनीहरु जान्छन् । धरान १ का एक हार्डवेयर व्यवसायीले भने, अडिट, अग्रिम कर निर्धारण, स्टक हेर्ने जस्ता कुरामा व्यवसायीहरुलाई आंकित बनाउँछन् । व्यवसायीहरु सम्बन्धित ठाउँमा अफै गएर बोल्न सक्दैनन् । अडिटर मार्फत अतिरिक्त रकम बुझाएर मिलाउनुपर्छ ।

