सार्क सम्मेलन र मोदीको चर्चा

ज्ञसुमन बराल
गत साउनमा नेपाल भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि सार्क सम्मेलनमा नेपाल आउँदैछन् । यतिबेला नेपालका पत्रपत्रिका र सामाजिक सञ्जालहरु मोदीमय बनेका छन् । मोदीबारे सकारात्मक र नकारात्मक दुबै टीकाटिप्पणी हुँदैछन् ।
नेपाल, भुटान, भारत, मालदिभ्स, पाकिस्तान, श्रीलंका, बगंलादेश, अफगानिस्तान गरी ८ राष्ट्र रहेको सार्क एकआपसमा क्षेत्रीय राजनैतिक र आथिर्क सहयोग आदान–प्रदानका निम्ति गठन भएको हो । मुख्य सचिवालय काठमार्डौमा रहेको सार्कको लक्ष्य दक्षिण एसियाली देशहरु वीच सामुहिक आत्मनिर्भरतालाई प्रवद्र्धन गर्ने, सामाजिक र सांस्कृतिक बिकास बढाउने हो ।
सार्क राष्ट्रहरु एक हुने हो भने
युरोपियन युनियन जस्तै प्रभावकारी बन्नेमा कुनै शंका छैन । तर, भारत–नेपाल, भारत–पाकिस्तान, पाकिस्तान–अफगानिस्तान, भारत–बगंलादेशवीच गहिरो मतभेद र विमतिहरु रहँदै आएको छ । त्यसैले सार्क सबैको निम्ति अपेक्षा गरिएअनुरुप फलदायी हुन सकेको छैन ।
भारतको प्राय: सबै सदस्य देशहरुसँग सम्बन्ध प्रगाढ बन्न सकेको छैन । सदस्य राष्ट्रमध्ये आथिर्क अनि सैनिक दृष्टिकोणले सबैभन्दा शक्तिशाली भारतले आÏनो जिम्मेवारी बहन गर्न नसकेको वा नचाहेको देखिन्छ । भारतको बिरोध गर्दा देशभक्ति हुने र भारतको चाकरी गर्दा मात्रै नेपालको श्रीवृद्धि हुने भन्ने दुबै बिचार घातक छन् ।
अघिल्लो भ्रमणमा सुरुवाती केही मिनेट नेपालको राष्ट्र भाषालाई सम्मान गर्दै नेपाली बोलेर होस् वा बुद्ध नेपालमा जन्मिएका हुन् भनेर होस् अथवा सडकमा उत्रेर शुभचिन्तकहरुको नजिक जाँदा होस्, मोदीले नेपालीहरुमा भारतप्रति बर्षौंबाट रहेको तिक्तता अन्त्य गर्ने प्रयास गरे ।
नेपाली संसदमा सम्वोधन गर्दै मोदीले आÏनो चमत्कारिक व्यक्तित्व, सकारात्मक सोच र व्यवहारबाट नेपालीको मन जित्ने भरपुर प्रयास गरे । आÏनो सपथ ग्रहणमा मित्र राष्ट्रहरुलाई निमन्त्रण दिएर अनि सार्कका सबै राष्ट्र लाभान्वित हुने गरी भारतले सेटेलाइट बनाउनुपर्ने जस्ता कुरा राखेर मोदी क्षेत्रीय नेता बन्दै विश्व नेता बन्ने दिशातर्फ उन्मुख छन् भन्ने देखिन्छ ।
मोदी नेतृत्वको भारतले नेपालसँग मिलेर अघि बढ्न चाहेको देखाए पनि नेपालका नेताहरुले त्यो अवसरलाई सदुपयोग गर्न नसकेको देखिन्छ ।
मोदीलगायतका सार्क राष्ट्रका सबै विशिष्ट पाहुनाहरुलाई उचित सम्मान दिइयोस् । तर, सरकार र मिडियाले चाहिने भन्दा धेरै महत्व दिनु हुँदैन । स्वर्गबाट भगवान नै आउन लागे जसरी नतमस्तक हुने अनि बरदान देलान जस्तो गरी दुबै हात थापेर बस्नु भनेको दास मानसिकता हो ।
नेपाली समाजमा पाहुना आउनुअघि विशेष सरसफाइ गर्ने चलन नै छ । तर, अरुबेला कहिल्यै ध्यान नदिने अनि देशको इज्जत राख्न भनी रातारात गरिएका कामहरुले उल्टै गिज्याएको छ ।
संसारलाई थाहा छ, हाम्रा नेताहरु कति भ्रष्ट अनि निकम्बा छन् । के नेपाल सफा र स्वच्छ राख्न मोदी नेपाल भ्रमण गरिराख्नुपर्ने हो ? सुन्दर बनाउने भन्दै पुरातात्विक महत्व भएकालाई स्थान मनपरि ढगंले मर्मत अथवा रगंरोगन गर्नु लाजमर्दो हो । सधैं सरसफाइमा ध्यान जाओस् । सरकारको अनि मर्मत गरिएका सडकहरु केही हप्तामा नभत्किउन् । उचित स्याहारको अभावमा रोपिएका रुख वा बिरुवा नसुकुन् । सडक दुर्घटना गराउने छाडा पशुहरु सधैंका लागि नियन्त्रण गरियोस् ।
मोदीले नेपालमा नागरिक अभिनन्दनसहित सार्वजनिक सम्बोधन गर्न पाउने वा नपाउने भन्ने कुरामा धेरै विवाद गरिराख्नु आवश्यक छैन । मोदीले भाषण गर्दैमा नेपाल भारतको हुने होइन ।
मोदी नेपालीहरु माझ थप लोकप्रिय हुन प्रयास गर्छन् भन्ने
कुरामा पनि शंका छैन । मोदीले नेपालीलाई साइकल, बाइक, कार जे जे दिए पनि भारतमा कुपोषण र भोकमरी पीडितहरुले नसरापुन्, नगिज्याउन् ।
मोदीले नेपालका सहर व्यवस्थित बनाउन अर्बौं रुपैयाँ अनुदान दिनुभन्दा पहिला आफनै देश व्यवस्थित बनाउन् अनि त्यो प्रविधि नेपाललाई सिकाउन् । पैसा दिए भ्रष्ट र दलालहरुको गोजीमा जान्छ । नेपालमा भ्रष्टाचारमा संलग्न नेता, कर्मचारी, ब्यापारी, नागरिक जेल जाने दिन आएमात्रै नेपाल स्वर्ग हुनेछ ।
सार्क सम्मेलनका लागि भनेर ६ वटा बुलेट प्रुफ र ३२ वटा सुबिधा सम्पन्न गाडी भाडामा ल्याउने कुराले नेपालका बाढीपीडित, द्वन्द्वपीडित र सडक बालबालिकाहरु धिक्कार्दै होलान् ।
अब सार्क सम्मेलनमा आउँदा मोदीले फेरि पशुपतिलाई चन्दन दिनुभन्दा सार्क राष्ट्रभित्र खुला सीमानाका कारणले हुने चन्दा, डकैती, लुटपाटजस्ता घटना सबै मिलेर अन्त्य गर्न प्रयत्न गरुन् ।
हामी एउटै व्यक्तिलाई राक्षसीकरण गरेर पुत्ला जलाउन तयार हुन्छौं अनि छिनभरमा देवत्वकरण गर्दै आरती उतार्न पनि पछि पर्दैनौं । दुबै प्रवृति गलत छन् । मोदीले नेपाली बोले भनेर गदगद भएका हामी हाम्रा नेताहरुले भारतमा गएर हिन्दी बोले भने देशद्रोही भनेर पुत्ला जलाउन पछि पर्दैनौं । तसर्थ हामी नेपालीले बहकिएर भन्दा पनि विवेकले काम गर्नु पर्दछ ।
सार्क सम्मेलन सदाझैं औपचारिकतामा मात्रै सीमित नहोस् । सार्क सम्मेलन उपलब्धिमूलक होस । सम्मेलन सबै सदस्य राष्ट्रहरुको निम्ति हितकर बनोस् । सार्क राष्ट्रहरुमा एक आपसमा भएका असमान सन्धि सम्झौता समय अनुकूल परिवर्तन गरिउन् । एकआपसका सीमा मिच्ने क्रम रोकियोस् । सीमा क्षेत्र हुँदै हुने मानव तस्करी रोक्न सबैले मिलेर अघि बढुन् । उर्जा संकट हटाउन सबैको हित हुने गरी सम्झौता गरियोस् ।

तपाईको प्रतिक्रिया