मित्रराष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवस धरानमा पनि भव्य रुपले मनाइयो

धरान÷नेपालको अत्यन्तै निकट, घनिष्ठ मित्र राष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवस अर्थात १५ अगस्त धरानमा समेत भव्य रुपमा मनाइएको छ ।
भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानको हाताभित्र मनाइएको स्वतन्त्रता दिवसका अवसरमा धरानमा बसोबास गर्ने भारतीय भूतपूर्व सैनिक, स्थानीय बुद्धिजीवि, प्राध्यापक, उद्योगी व्यवसायीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
सो अवसरमा आफ्नो संक्षिप्त मन्तव्य दिँदै पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी सेना मेडल मेजर सुनिल पालले भन्नुभयो भारत र नेपालबीचको जुन सम्बन्ध छ त्यस्तो सम्बन्ध संसारका अन्य कुनै पनि देशमा छैन । सरकार सरकारका बीचमा मात्र नभएर जनस्तरबाटै प्रगाढ सम्बन्ध
रहेको समेत सेनामेडल मेजर पालको कथन थियो । उहाँले भन्नुभयो भारतको ७२ औं स्वतन्त्रता दिवस हरेक भारतीय नागरिकका लागि गौरवको दिन हो । आजको दिनलाई हरेक भारतीय नागरिक राष्ट्रिय पर्वको रुपमा मनाउँछन् भन्दै उहाँले कुनैपनि देशको स्वाधिनता, स्वतन्त्रता र स्थायित्व कायम राख्न सेना, अर्ध सेनाको अहम् भूमिका रहन्छ । त्यसभन्दा अगाडि सेना मेडल मेजर पालले राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै वीर सैनिकहरुको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रिय भावनाले ओतप्रोत साँगीतिक धुनसँगै फुटबल पेनाल्टी सुटको आयोजना समेत गरिएको थियो । पेन्सन वितरण कार्यालयको टिम सहित धरान, तहरा, शान्तिनगर, पथरी, दमक, बेलाबारीका भूतपूर्व सैनिकहरु सहभागी पेनाल्टी सुटमा दमक भूतपूर्व सैनिक संघ प्रथम र धरान भूतपूर्व सैनिक संघ दोस्रो भएको थियो । कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरुले गीत तथा संगीत प्रस्तुत गरेका थिए । सहभागी विद्यार्थीहरुलाई धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले पुरस्कृत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया