धरानको विजयपुरमा रहेका धेरै मन्दिरहरु ओझेलमा

धरान÷ मन्दिरै मन्दिर भएको सहर भएपनि यसको संरक्षणका लागि कसैले चासो देखाएको देखिदैन । धरान १४ विजयपुरमा मात्रै ५० भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । संरक्षण गर्न नसक्दा नाम कहलिएका ४ मन्दिर बाहेक अन्य मन्दिर ओझेलमा पर्दै गएका हुन् ।
धार्मिक पर्यटकिय स्थलको रुपमा विकाश हुँदै गएको धरान उपमहानगरपालिका १४ स्थित विजयपुरलाई धार्मिक क्षेत्र मानिन्छ । विजयपुरमा पुरातात्विक महत्वमा मठ मन्दिरहरु छन् । तर बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या मन्दिर मात्रै प्रचारमा छन् । विजयपुर क्षेत्र भित्र रहेको करिब ५० वटा भन्दा बढी स(साना मन्दिरहरुको प्रचार प्रसार तथा भौतिक संरचनाको विकाश गर्न नसक्दा ओझेलमा परेका छन् ।
धरानलाई धार्मिक पर्यटन स्थलको रुपमा परिचित गराउन विभिन्न पर्यटन व्यवसायी र सर्वसाधारण केही हदसम्म उत्साहित भएपनि धरान उपमहानगरपालिकाले यस्ता क्षेत्रका विकासमा न्यून बजेट छुट्याएकै कारण धार्मिक स्थलको विकास हुन नसकेको स्पष्ट छ । नगरपालिकाले विजयपुर क्षेत्रका मठ मन्दिरहरुको स्तर विकाशका लागि गुरुयोजनानै बनाउन नसकेको पर्यटन व्यवसायी बासुदेव बराल बताउनुहुन्छ ।
राणाकालीन अवस्थादेखि पञ्चायतकालीन समयमा मन्दिरहरु निर्माण गरिएका पुरातात्विक महत्वको मन्दिरहरु अहिले जीर्ण भएका छन भने मन्दिर क्षेत्रका जग्गाहरु समेत अतिक्रमणमा परेका छन् । ऐतिहासिक महत्व बोकेको विजयपुरमा ऐतिहासिक पुरातात्विक महत्वका मठ मन्दिरको संरक्षण नगरी धरानलाई धार्मिक पर्यटकीय स्थल बनाउने कुरा खाली प्रचारबाजी बाहेक केही हुन सक्दैन ।

तपाईको प्रतिक्रिया