धरान÷नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना अरुण ३ जलविद्युत आयोजना निर्माण कम्पनी भारतको सतलज विद्युत कम्पनीलाई निर्माण नगर्न र नेपाल छाडेर जान नेकपा (नेत्रविक्रम चन्द) ले चेतावनी दिएको छ ।
नेकपाका पूर्वी कमाण्डर अनिल विरहीले एक विज्ञप्ती जारी गरी आफूहरुले प्रारम्भ देखि नै अरुण ३ जलविद्युत आयोजनाको निर्माण सम्झौता नेपालको हित
विपरीत भएको भन्दै त्यसको विरोध गर्दै आएको स्मरण समेत गराएको
छ । जारी विज्ञप्तीमा भनिएको छ परियोजना निर्माण गर्ने नेपाल
सरकारसँग २०६४ फागुन १९ मा नेपाल सरकारको अधिकारप्राप्त संस्थासँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । सो समझदारी पत्र नेपालको हितमा नभएको भन्दै हाम्रो पार्टी सहित वहुमत जनता, देशभक्त नागरिक र जलस्रोत विज्ञहरुले समेत विरोध गर्दै आएको सर्वविदितै छ ।
अरुण ३ जस्ता आयोजनाहरु आन्तरिक खपतको लागि आन्तरिक पूँजी परिचालन गरेर निर्माण गरिनुपर्छ । यसमा सर्वसाधारण स्थानीयहरुले सेयर लगानी गर्न पाउनुपर्छ, त्यसको शवस्टेशन नेपालमै रहनुपर्छ, तल्लो तथा माथिल्लो तटीय अधिकार नेपालकै हुनुपर्छ लगायतका देशको हितमा हामीले प्रश्न उठाउदै आएका हौं । यो परियोजना नेपाल सरकारले संविधानको धारा २७९ (अन्तरिम संविधानको धारा १५६) लाई छल्दै चोर बाटोबाट नव औपनिवेशिक शैलीमा भारतीय कम्पनीलाई सुम्पिएको छ । त्यस कारण नेपाल सरकार र यहाँका दलहरुलाई दबाब र प्रभावमा पारेर
भारत सरकारमार्फत तपाईहरु नेपालको हित विरोधी काममा संलग्न हुनु दुःखद् विषय हो । विज्ञप्तीको अन्त्यमा भनिएको छ अरुण ३ परियोजनाबाट हात झिकेर फर्कन हामी तपाईहरुलाई अनुरोध गर्दछौं । अन्यथा त्यसले नेपाल भारत विरोधी जनमत बढ्ने मात्र होइन तपाईहरुको ठूलो लगानी डुब्ने छ । नेपालको हित विरोधी, ंससदीय दलहरुले प्रभु खुशी पार्न गरिएको र नेपाली जनताद्वारा अनुमोदित नभएका कुनै पनि राष्ट्रघाती सम्झौता र समझदारी मान्य नहुने समेत बताइएको छ ।

