धरान÷ प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेशको आवश्यक कानुन निर्माणसगै निजी क्षेत्रका व्यवसायीहरुको सुरक्षामा प्रदेश सरकारले ध्यान दिने बताउनुभयो ।
मन्त्री कार्कीले शनिवार आयोजित नेपाल सुनचादी व्यवसायी महासंघ एक नम्बर प्रदेश स्तरीय सचेतना कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । उहाले प्रदेशको निर्माणपश्चात निजी क्षेत्रलाई प्रहरी प्रशासनबाट दिइने अनावश्यक झन्झट दुःख नियन्त्रण गर्दै व्यवसायिक सुरक्षाको ग्यारेन्टीको प्रत्याभूति प्रदेश सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले व्यवसायिक प्रमाणपत्र राज्यका तर्फ दिइसकेपछि व्यवसायीले निर्धक्क, ढुक्कसंग व्यवसाय गर्न पाउने अधिकार राज्यबाट सुनिश्चित गर्नु राज्यको दायित्व भएकोले यसमा प्रदेश सरकार गम्भीर भएर लाग्ने बताउनुभयो ।
सुनसरी उद्योग वाणिज्य संघको भवनमा आयोजित कार्यत्रममा बोल्दै मन्त्री कार्कीले पछिल्लो समेय ३३ केजी सुन काण्डले धेरै चर्चा पाएको प्रष्ट्याउदै अब यस्ता गतिविधिलाई नियन्त्रण गर्न प्रदेश सरकार गम्भीर भएर लाग्ने बताउनुभयो ।
सो अवसरमा बोल्दै नेपाल सुनचादी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष मनिक शाक्यले केन्द्रीय सरकारको नीति अनुरुप व्यवसायी सुरक्षाको अनुभूति गर्न नपाएको र अहिले प्रदेश सरकारले समेत सुनचादी व्यवसायीका लागि आवश्यक नीति नियम बनाइनसकेका कारण व्यवसायिक
असुरक्षा बढ्दै गएको बताउनुभयो । यसतर्फ प्रदेश सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष एवम् एक नंं प्रदेशका संयोजक मोहनकाजी शाक्यले सुनचादी व्यवसायीहरुको व्यवसायिक सुरक्षामा केन्द्रीय सरकारले गम्भीरतापूर्वक नलिएको बताउदै अब प्रदेश सरकारले व्यवसायिकको सुरक्षाको जिम्मा लिनुपर्ने भन्दै मन्त्री समक्ष आग्रह गर्नुभयो ।
नेपाल सुनचादी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनुवारको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साह लगायत निजी क्षेत्रका व्यवसायीहरु अहिले
राज्यका संयन्त्र, राजनीतिक दलका गुण्डा तथा सर्वत्र स्थानबाट व्यवसायीहरु
असुरक्षित महसुस गर्नुपर्ने अवस्था विद्यमान रहेको बताउदै मुलुक संघीयतामा गएसंगै व्यवसायिक सुरक्षा ग्यारेन्टी अब प्रदेश सरकारले गर्नुपर्नेमा जोड दिएका थिए ।
