विप्लव र राउत समूहलाई समयमै नियन्त्रण गर्नुपर्ने नेपाली सेनाको ठहर

राजधानी÷नेपाली सेनाको जंगी अड्डामा भएको पृतनापति समन्वयात्मक बैठकमा सेनाले मुलुकको आन्तरिक सुरक्षामा पूर्व माओवादी नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र तराईमा सशक्त गतिविधि गर्दै आएको सिके राउत समूह आगामी दिनमा चुनौतिको रुपमा आउन सक्ने विश्लेषण गरेको छ ।
मुलुक अस्थिरतातर्र्फ गइरहेको बेला यस्ता गतिविधिले चुनौति थप्न सक्ने सेनाको विश्लेषण छ । आइतबार र सोमबार दुई दिन सम्म चलेको समन्यात्मक बैठकमा देशका विभिन्न पृतनाको कमान्ड
गरिरहनु भएका उच्च सैनिक अधिकारीहरुले विप्लवका र सिके राउतका गतिविधि हिंसात्मक दिशामा गएको रिपोर्ट गर्नुभएको थियो ।
सैनिक अधिकरीहरुले विप्लव र सिके राउत समूहलाई कसरी व्यवहार गर्छ भन्ने प्रष्ट हुनुपर्ने सुझाव समेत दिनु भएको थियो । बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे छलफल भएको थियो । । पृतनापति सम्मेलनको समुद्घाटन रक्षामन्त्री ईश्वर पोख्रेलले आइतबार गर्नुभएको थियो भने समापन सोमबार भएको थियो । समापन सम्मेलनलाई नेपाली सेनाका प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्रीले सम्बोधन गर्दैै विद्यमान परिस्थितिको मुल्यांकन गर्दै सम्भावित चुनौतिको सामना गर्न तयारी अवस्थामा रहन मातहतलाई निर्देशन दिनुभएको थियोे । प्रधान सेनापतिले नेपाली सेनाका अपरेशनल तालिम तथा बन्दोबस्तीका पक्षमा हर हमेशा तयारी रहन निर्देशन दिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाली सेनाका विभिन्न विभागीय प्रमुख र पृतनापतिहरुको सहभागिता रहेको बैठकमा सुरक्षाका समग्र विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया