नेपथ्यको कुरुप अनुहारको नया“ भिडियो सार्वजनिक

लोकरक ब्याण्ड नेपथ्यले आफ्नो दसौं अल्बममा समावेश छैठौं गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । पछिल्लोपटक ब्याण्डले ‘कुरुप अनुहार हो’ को श्रब्यदृश्य तयार पारेको हो ।
उक्त अल्बमबाट यसअघि ‘कोशीको पानी’, ‘शिरफूल’, ‘रामारामा’, ‘हामी नेपाली’ र ‘सम्झिराख’ बोलका गीतहरुको म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन् । पछिल्लोपटक रिलिज भएको ‘कुरुप अनुहार हो’ सरुभक्तको शब्द र विक्रम गुरुङको संगीतमा तयार भएको गीत हो । यी दुवै परिचित श्रष्टा अस्सीको दशक प्रारम्भमा पोखराबाट काठमाडौं आई त्रिभुवन विश्वविद्यालयमा पढ्न थालेका थिए । त्यतिबेलैको सत्संगमा यो गीत तयार भएको थियो । यसको शब्दमा एक्लो र परित्यक्त महशुस गर्ने तन्नेरी भाव अटाएको कवि एवं गीतकार सरुभक्त बताउँछन् । ‘यो गीतको पुनर्जागरण गराएकोमा म नेपथ्यलाई धन्यवाद दिन्छु,’ एक वर्षअघि यसै गीतको पहिलो प्रस्तुती टुँडिखेलमा भइरहँदा उपस्थिति जनाएका गीतकार एवं हाल नेपाल संगीत नाट्य एकेडेमीका कुलपति सरुभक्तले भनेका थिए, ‘यस गीतमा कोरस (सामुहिक स्वर) को जुन प्रकारले प्रयोग गरिएको छ, त्यसले मलाइ सबैभन्दा धेरै छोयो ।’
पोहोर साल नै नेपथ्यले हङकङमा यो गीत गाउँदा संगीतकार विक्रम गुरुङले पहिलोपटक यस नौलो स्वरुपलाई अनुभूत गरेका थिए । अरुण थापा लगायतसँग थुप्रै चर्चित गीत दिएका पुराना संगीतकार गुरुङ लामो समयदेखि हङकङको स्थायी वासिन्दाका रुपमा उतै बसोबास गर्छन् ।
यस गीतलाई नेपथ्यको प्रस्तुतीमा सुनिरहँदा आफ्नो मन पुराना दिनतिर पुगेको गुरुङले बताएका थिए । ‘कीर्तिपुरमा विश्वविद्यालय पढ्दा सरु र म सँगै बसेर यसलाई तयार पारेका थियौं,’ उनले भने, ‘नेपथ्यले यसलाई उसकै शैलीमा प्रस्तुत गरे पनि म यसमा आफ्नो धडकन महशुस गरिरहेको छु ।’ कुनै समय एक किसिमले तयार पारिएको सिर्जनालाई अर्को कालखण्डमा नयाँ पुस्ताले आफ्नै शैलीमा ढालेर प्रस्तुत गर्ने लगायतका प्रयोगहरु संगीतका क्षेत्रमा चल्दै आएको प्रचलन रहेको गुरुङले बताए ।
कुनै समय नेपाली संगीतलाई अरुण थापाको स्वरमा ‘आँखाको निँद चोरी लाने’ र ‘भुलुँ भुलुँ लाग्यो मलाइ सपनीमा’ जस्ता गीतहरु दिने गुरुङ पछिल्लो तीन दसकदेखि हङकङमा शिक्षण पेशामा छन् । नेपथ्यले यो गीत तयार पारेयता आफ्नो स्थापनाको रजत जयन्ती मनाउने क्रममा वर्षभरी ‘कुरुप अनुहार हो’ लाई कन्सर्टकै पहिलो गीतका रुपमा प्रस्तुत गर्दै आएको छ । स्टेजमा जसै यसका बेस र लिडका नोटहरु बज्न सुरु हुन्छ त्यतिबेलै घुर्मैलो कृत्रिम धुवाँमा नृत्य गर्ने बत्ती, दृश्य र आवाजहरुको माहोलमा ब्याण्ड जागिरहेको दृश्य मञ्चमा उपस्थित हुन्छ । गीतले बोकेको एक प्रकारको मानसिक वैराग्य
(विक्षिप्तता) लाई अर्थयाउन मञ्चमा निलो रङको प्रधानता विस्तार गरिन्छ ।
यस म्युजिक भिडियोमा प्रयोग गरिएको दृश्यहरु ब्याण्डले गत वर्ष आफ्नो अष्ट्रेलिया र न्यूजिल्याण्ड कन्सर्ट गर्दा खिचिएका हुन् । भिडियो ‘क्लोज अप’ दृश्यहरु रहित प्रयोगको रुपमा तयार परिएको छ । ‘हामीले यसमा वाइड एंगल दृश्य मात्र प्रयोग गरेका छौं,’ भिडियोका निर्माता तथा नेपथ्यलाई प्रवर्द्धन गर्दै आएको नेपालयका
किरणकृष्ण श्रेष्ठ भन्छन् ‘भिडियो हेर्दैगर्दा प्रत्यक्ष कार्यक्रम हेर्दाको अनुभूति मिलोस् भनेर सक्दो प्रयास गरेका छौं ।’
हिजोआज सांगीतिक एल्बमको प्रचलनले अर्थ गुमाउँदै गएको अवस्थामा नेपथ्यले आफ्ना प्रत्येक सिर्जनाहरु आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’ का माध्यमबाट सार्वजनिक गर्दै आएको छ । त्यसबाहेक ब्याण्ड र श्रोता नजिक्याउन युट्युब पनि एक प्रभावकारी माध्यम बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया