इलाम÷ धरान उपमहानगरपालिका र इलाम नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
इलाम नगरपालिकाको सदरमुकाम खलंगा दुई सय बर्ष पुगेको अवसरमा नया बर्ष पारेर पूर्वको धार्मिक पर्यटकीय क्षेत्रको ठूलो सम्भावना बोकेको धरान र कृषि र पर्यटकीय स्थलको उर्वरभूमि इलामबीच उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा इलाममा आयोजित कार्यक्रममा भगिनी सम्बन्धमा दुवै नगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
दुवै नगरपालिकाकाको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई कायम राख्दै विकास निर्माणका कार्यलाई समेत साझेदारी ढंगबाट माथि उठाउने उद्देश्यले यी दुई नगरपालिकाले भगिनी सम्बन्ध गासेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा २६ मा स्थानीय तहको विकास र सम्बृद्धिसंगै सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन
धरान उपमहानगरपालिका र इलाम नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको भगिनी सम्बन्ध विस्तारपश्चात सार्वजनिक कार्यक्रममा बताइएको थियो ।
दुवै नगरपालिका विकासको सम्बृद्धिको सम्भावना बोकेको नगरपालिका भएकाले पनि भगिनी सम्बन्ध कायम गरेर विकासमा साझेदारी अगाडि बढ्न सहयोग पुग्छ भन्ने विश्वासका साथ सम्बन्ध कायम
गरिएको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले बताउनुभयो ।
यता इलाम नगरपालिलकाका प्रमुख महेश बस्नेतले भगिनी सम्बन्धलाई प्रगाढ बनाउदै दुवै नगरपालिको सम्बृद्धिमा हातेमालो गरेर अगाडि बढ्न भगिनी सम्बन्धले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भगिनी सम्बन्धमा दुवै नगरपालिकाका सर्वसाधारणले समेत खुशी व्यक्त गरेका छन् । भगिनी सम्बन्ध कायम भएसंगै दुवै नगरपालिका सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बृद्धितर्फ अगाडि बढ्नेमा सर्वसाधारण विश्वस्त छन् ।
इलामको मुख्य आय श्रोत कृषि त्यसमा पनि चियाले अन्तर्राष्ट्रिय बजार पिटेको छ । यस्तै अकबरे खोर्सानी, अम्रिसो लगायतका कृषि सामाग्रीसंगै दूधबाट बनेको ललिप र छुर्पी विश्व बजार लिएको छ । यतिमात्र हैन यहा अन्तन्तै मनमोहक पर्यटकीय स्थल अन्तु, माइ पोखरी, भ्यु टावर, इभाङ, साकफारा, फाकफोक, चमैता लगायतका तीन दर्जन भन्दा बढी पर्यटकीय स्थल रहेका छन् । यता धरान उपमहानगरपालिकामा भने एसियाकै प्रतिष्ठित स्वास्थ्य केन्द्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाञ्चल इन्जिनियरिङ्ग कलेज, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार लगायत धरान १४ विजयपुरमा रहेका बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या, पाथीभरा लगायतका मठ मन्दिर रहेका छन् ।
भौगोलिक हिसाबले सानो इलाममा १२ वटा वडा रहेका छ भने कुल जनसंख्या ४८ हजार जनसंख्या रहेको छ । यता २० वटा वडा भएको धरानमा डेढलाख जनसंख्या रहेको छ ।
सम्भावना बोकेका दुवै नगरपालिकाले भगिनी सम्बन्ध प्रगाढ बनाउदै साझेदारी ढंगले काम गर्नसके दुवै नगरपालिका सम्बृद्धितर्फ उन्मुख हुनेमा दुई मत छैन । यसका लागि सम्बन्ध खाली औपचारिक मात्र नभई दीर्घकालीन हुन आवश्यक छ ।
