धरान÷दुहवी नगरपालिकामा उपमेयरले वडा सदस्यमाथि हातपात गरेको विषय ढाकछोपको प्रयास थालिएको छ ।
भुक्तानी फछ्यौटको विषयमा उत्पन्न विवाद पश्चात कार्यालय हातामै नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साहले वडा सदस्य कृष्ण योञ्जनमाथि हातपात गर्नु भएको थियो ।
हातपातको विषय सार्वजनिक भएसँगै दुवै पक्षले आआफ्नो पक्षमा लविङ थालेका छन् ।
नगर कार्यपालिकाको कार्यालयले घटनालाई सामान्य भन्दै सहमतिमा आईसकेको विषयलाई अतिरञ्जित गरी प्रचारबाजी गरिएको ठहर गरेको छ ।
दुहवी नगरपालिकाको कार्यालयले पत्रकार सम्मेलन गरी उपप्रमुखको व्यवहारलाई दुखद बताएपनि भूलवश गल्ती भएको भन्दै दोहोरिन नदिने गरी सहमतिका साथ अघि बढ्ने जनाएको छ ।
नगरपालिकाको कार्यालयले दुवै पक्ष भेला गराई माफी सहित मिलापत्र गरेको बताएपनि पीडित वडा सदस्य कृष्ण योञ्जनले इलाका प्रहरी कार्यालय दुहवीमा उपमेयर सहित उनका श्रीमान अनिल साहका नाममा कुटपिट मुद्धाको निवेदन दिएको बताउनुभयो ।
किटानी मुद्धा दिएपनि प्रहरीले मुद्धा दर्ता नगरेको वडा सदस्यको गुनसो छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार घटना साम्य भएर अर्को निर्णय नहुनजेलका लागि उपप्रमुख साहलाई तत्कालकालागि न्यायिक समितिको संयोजकको पदबाट निष्कृय गराइएको छ ।
कार्यपालिकाको बैठककाले तत्कालकालागि कामकाजमा नरहने गरी न्यायिक समिति संयोजकबाट साहलाई हटाइएको जनाइएको छ ।
नगरपालिकाका तर्फबाट पत्रकार सम्मेलन डाकिएको भएपनि पत्रकार सम्मेलनमा भने नगरप्रमुख र उपप्रमुख कसैको पनि उपस्थिती थिएन् ।
घटनाका विषयमा उपप्रमुख साहले यसअघिनै वडाध्यस सहित सदस्य लगायतको टोलीले जबरजस्ती फाइल फछ्यौटको विषय लाद्न खोजेपछि सामान्य विवाद भएको बताउनु भएको थियो ।
भिडले आफ्नो श्रीमानमाथि अभद्र व्यवहार गर्न थालेपछि छुटाउन जाने क्रममा अञ्जानवश सामान्य धक्काधक्की भएको उपप्रमुख साहले प्रतिकृया दिँदै आउनु भएको छ ।

