दिनेश न्यौपाने
बुद्धिजिवीको परिभाषा सजिलो छैन । सामान्यतया बुद्धिजिवी भनेको बौद्धिक श्रम गर्ने व्यक्तिलाई भनिन्छ । सोच्ने, सत्यबोल्ने र समाजलाई बाटो देखाउनेहरु नै बुद्धिजिवी हुन् । पढेका वा विश्वविद्यालयबाट डिग्री लिएका विभिन्न पेशाका मानिसहरु पनि सामान्यजनले बुद्धिजिवी मानेता पनि तिनीहरु प्राविधिक कुराका ज्ञाता र आफ्नो रोजीरोटीको लागि काम गरिरहेका मानिसहरु हुन् । आधुनिक अर्थमा अर्थात् साँचो
राजनीतिक अर्थशास्त्रीय अर्थमा बुद्धिजिवी भनेको सत्य बोल्ने, सत्ताको प्रतिपक्षमा
रहने र भविष्यदृष्टि भएका समाजका पथ प्रदर्शकहरु हुन् । स्थायी प्रतिपक्षको भुमिका बुद्धिजिवीले सँधै निभाएको हुन्छ । प्रसिद्ध प्यालेष्टाईनी चिन्तक तथा लेखक एडवर्ड सइदले बुद्धिजिवी दुई थरीका हुने बताएका छन् । एकथरी बुद्धिजिवी जो सत्ताको हुने गर्छ भने अर्को थरी बुद्धिजिवीजनताको बुद्धिजिवी हुने गर्छ । सत्ता र जनताका बुद्धिजिवी हरेक समाजमा पाईन्छ । सत्ताको बुद्धिजिवीले व्यक्तिगत लाभको लागि सत्ताको सामु आफुलाई समर्पण गर्छ । चाकरी
गर्छ । सत्यलाई झुठो र झुठोलाई सत्य बनाउँछ । जनताको बुद्धिजिवी जहिले पनि सत्तासँग दूरी कायम राख्छ । सत्यलाई सत्य झुठोलाई झुठो भन्छ । यस प्रकारका बुद्धिजिवीहरु आफ्नो विवेक र ज्ञानका लागि जहिले पनि खतरा मोल्न तयार हुन्छन् । यसर्थ नेपाली समाजमा पनि यी दुईथरी बुद्धिजिवीहरु पाईन्छ । नेपालमा सही अर्थमा बुद्धिजिवीको विकास २००७ सालको राणाशाही विरुद्धको क्रान्तिबाट शुरु हुन्छ । हुनत वि.सं. १९९६ बाटै राणाशाही विरुद्ध पढे लेखेका युवाहरु नेपाल प्रजा
परिषद्को नाममा संगठित भई क्रान्तिका लागि सक्रिय भएका थिए । २००७ सालको क्रान्ति पश्चात नेपाली समाज आधुनिकीकरण तर्फ अगाडि बढ्यो । केही खुलापन र प्रजातन्त्रको अभ्यासले नेपाली समाजलाई चलायमान बनाउन थाल्यो । निजी क्षेत्रमा पत्रपत्रिका निस्कन थाल्यो । पुस्तकको प्रकाशन हुन थाल्यो । विश्वविद्यालय र विद्यालयहरु खुल्न थाले । पढे लेखेका नेपाली युवाहरु राजनीति र सामाजिक क्षेत्रमा सक्रिय हुन थाले । यसले गर्दा नेपाली समाजले विचारहरुको विविधता र मन्थन महसुस गर्न थाल्यो । केही मात्रामा भएपनि नेपाली जीवनको प्रजातान्त्रिक करण सम्भव भयो । तर २०१७ सालमा वि.पी.
कोइरालाको निर्वाचित सरकारलाई राजा महेन्द्रले अपदस्थ गरेपछि नेपाली समाजमा कालो काल खण्डको शुरुवात भयो ।
राजाका आलोचक र पञ्चायतका विरोधीहरु जेल हालिए वा निर्वासनमा जान बाध्य भए । वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइयो । नागरिक अधिकार कुण्ठित भयो । पञ्चायतको ३० वर्षको शासन कालमा नेपालमा सही बुद्धिजिवीहरु सत्ताको प्रतिपक्षबमा बस्न बाध्य भए । तर त्यही बेला पढेलेखेका व्यक्तिहरु भने दरवारको समर्थन गरेर ठुलठुला पदहरु प्राप्त गर्न सफल भए । पढेलेखेका मानिसहरु जागिरेमा परिणत भए । तिनीहरु राजाको सिन्दुर हालेका मानिसका नाममा कारिन्दा मात्र बने । राजनीतिक अधिकार सुन्य त्यो कालमा एकाध व्यक्तिहरु मात्र सत्ताको विपक्षमा लेखन पढ्न वा पत्रकारिता, शिक्षक, प्राध्यापक र वकिलको नाममा प्रतिपक्षको भुमिका निभाए । २०४६ सालको आन्दोलन पश्चात नेपाली समाज केही खुलापन र प्रजातन्त्रको बाटोमा हिड्यो । दलिया व्यवस्था शुरु भयो । दलहरु नै सत्तामा जाने भएकोले अधिकांश हिजोका प्रतिपक्षका बुद्धिजिवीहरु दलिय बुद्धिजिवीमा परिणत भए । तर एडवार्ड सईद परिभाषा अनुसार सही जनताको बुद्धिजिवी नेपालमा नगन्य नै छन् । चाहे अमेरिका होस वा नेपाल सही बुद्धिजिवीको अभाव छ । अमेरिकामा पनि विश्वप्रसिद्ध विश्व विद्यालयहरु पढेका एक से एक विद्वानहरु सत्ताको चाकरीमा सामेल हुन्छ । विभिन्न पद र पैसाको लागि सत्ताको पक्षमा बोल्छन् । तर नोम चम्स्कि मात्र यस्ता विद्वान हुन्, जो अमेरिकाका हरेक राष्ट्रपतिहरुको प्रशासन विरुद्ध ६० वर्ष देखि विपक्षमा रहँदै आएका छन् । यी प्रख्यात बौद्धिक व्यक्तित्व विश्वका साम्राज्यबाट पिडित जनता र राष्टूको पक्षमा बोल्छन् । प्राचिन ग्रीसमा सुकरातलाई नयाँ देवताहरुको आविष्कार गरेको र युवाहरुलाई पथभ्रष्ट गरेको आरोपमा विषपान गराई मुत्युदण्ड दिइयो । दार्शनिक
सुकरातले झुठो बोल्नु भन्दा विषपान गर्नु उचित ठाने । विद्वानहरुका आदि गुरु सुकरात जस्तै नेपालमा वि.पी. कोईरालाले राजाको निरंकुशताको सामु झुक्नुभन्दा जेलनेल र शरणार्थी जीवन नै रोजे । वि.पि. नेता मात्र होइन एक कुशल दार्शनिक र लेखक थिए । बौद्धिक समाज भन्दा अगाडि हुन्छन् । पढे लेखेकाहरु अधिकांश जिविकोपार्जनमा ध्यान दिन्छन् । बौद्धिकहरु सत्यवाहक भएकाले चुनौती उठाउँछन् । आधुनिक बुद्धिजिवीको सँस्कृति युरोपेली समाजको उत्पादन भएपनि हरेक समाजमा रैथाने बौद्धिकहरुको उपस्थिति पाइन्छ । नेपालमा बौद्धिकहरु विशेष गरेर प्रजातन्त्रको राजनीतिक आन्दोलनसँग जोडिएका छन् । अब उनीहरुले जनताको समृद्धिका लागि काम गर्नुपर्दछ । यसर्थ बुद्धिजिवी किताबी ज्ञानको संग्रहकर्ता मात्र होइन, सामाजिक यथार्थमा बाँच्ने प्राणी पनि हुनुपर्दछ । नयाँ ज्ञानको आविष्कारसँगै अन्याय र सत्ताको दमनको विरुद्ध अभियन्ता पनि हो । उसको ज्ञानले समाजलाई समतामूलक, न्यायपूर्ण र विवेकी बनाउन मद्दत गर्नुपर्दछ । सत्ताको स्वार्थी विमर्श विरुद्ध ऊ जाइलाग्नै पर्छ । उसको जरा सामाजिक जमिनमा गाडिएको हुनुपर्छ । उसले जनतालाई चेतना जगाउने, सत्ताको पोल खोल्ने र नवचेतना जगाउने कार्य आफ्नो कर्तव्य सम्झनु
पर्छ । यस्ता बुद्धिजिवी मात्रै स्थायी प्रतिपक्षी हुने गर्छन् ।
