नेकपा माओवादी केन्द्रको चुनावी आमसभा सम्पन्न

नेकपा माओवादी केन्द्रले धरानमा शनिवार चुनावी आमसभा सम्पन्न गरेको छ ।
धरान ६ भानुचौकमा भएको आमसभालाई नेकपा माओवादी केन्द्रका महासचिव रामबहादुर थापा बादल, संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राई लगायतले सम्बोधन गर्नुभएको थियो ।
आमसभालाई सम्बोधन गर्दैै केन्द्रका महासचिव रामबहादुर थापा बादलले मुलुकको संघीयता बचाउन, संविधानलाई संस्थागत गर्न अब गणतन्त्रवादी र संघीयताबादी एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । धरानमा माओवादी केन्द्रसहित संघीयतावादी ८ दल एकै ठाउमा उभिएर चुनावी तालमेल गरेको कुराको प्रशंसा गर्दै उहाले अब मुलुकलाई हित चाहने, मुलुकको अग्रगामी परिवर्तन चाहने शक्ति भनेको गणतन्त्रवादी र संघीयतावादी पार्टीबाहेक अर्को विकल्प नहुने भएकाले एक भएर जानुबाहेक अर्को विकल्प नभएको बताउनुभयो । उहाले अहिलेको संविधानमा सबै कुरा नसमेटिएको भएपनि यसका उपलब्धीहरुलाई रक्षा गर्न अब सबैको दायित्व भएको स्पष्ट पार्नुभयो ।
उहाले हिजोका गणतन्त्रवादी
विरोधी शक्तिहरु अहिले फेरि गणतन्त्र र संघीयता र धर्मनिरपेक्षलाई सखाप बनाउन टाउको उठाउन थालेको भन्दै यस्ता शक्तिलाई परास्त गर्न पनि एक भएर जानुपर्नेमा जोड दिनुभयो ।
यस्तै आमसभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले अहिलेको स्थानीय तहको चुनावले गणतन्त्र र संघीयतालाई बचाउन सहयोग पुग्ने बताउनुभयो । उहाले केही ठूला दलले जनतालाई आश्वासन बाडेर झुटको खेती गर्ने र जित आफ्नो हातमा पार्ने दाउमा रहेको बताउदै यस्ता शक्तिलाई अब जनताले नै तह लगाउनुपर्नेमा जोड दिनुभयो ।
संघीय गठबन्धन मोर्चाको आयोजनामा भएको सो आमसभालाई गठबन्धनका तर्फबाट मेयरका उमेद्वारका प्रत्यासी नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघा, उपमेयरका प्रत्यासी संघीय समाजवादी फोरमका पारस काङवाङले समेत आफूहरुलाई भोट दिएर जिताउन आग्रह गर्नुभएको थियो । उहाँहरुले आफूहरुले विजय हासिल गरेको खण्डमा धरानलाई पर्यटकीय, शैक्षिक, स्वास्थ्य, औद्योगिक क्षेत्रको हव बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
आमसभा अघि गठबन्धनले सांस्कृतिक बाजा गाजासहित ¥यालीको समेत आयोजना गरेको थियो । धरानको भानुचौकबाट वडावडा टोलटोलबाट आएका माओवादी कार्यकर्ताहरुले धरान बजारको परिक्रममा गरी पुन भानुचौकमा आएर कोणसभामा परिणत भएको थियो ।
नेकपा माओवादी केन्द्रका धरान नगर इन्चार्ज चोत्लुङले सञ्चालन गर्नुभएको सो चुनावी आमसभामा नेपालका संगीतकार चेतन सापकोटाले जनवादी गीत गाएर त्यहा उपस्थितलाई थप उत्साह जगाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया