धरान÷सुनसरीका शेरे प्रायः सबैले आदरपूर्वक सम्बोधन गर्ने सान्दाई, सानेबाबु अब स्मृतिमा मात्र रहनु हुने भएको छ । नेपालको राजनीतिमा एकताका राम्रै दख्खल राख्ने सुनसरी इनरुवा निवासी ९० बर्षीय सान्दाइको आइतबार राति १ बजे उपचारको क्रममा काठमाण्डौस्थित ग्राण्डी हस्पिटलमा दुःखद् निधन भएको छ ।
इनरुवा बजार बसाउने, सुनसरीको सदरमुकाम इनरुवालाई स्थापित गराउने, आजको सुनसरी जिल्लाको भु–माग कायम गराउने, इनरुवास्थित भगवती मा.वि. निर्माण गर्ने, इनरुवा कलेज निर्माण गर्ने, महेन्द्र राजमार्गलाई नक्सा नै परिवर्तन गरी इनरुवा भएर लैजाने लगायतका दर्जनौ कार्यहरु गर्नुभएका सानेबाबुको निधनले सम्पूर्ण इनरुवाबासी शोकविहल भएका
छन् ।
वि.सं. १९८३ सालमा
पतरंगबारीमा ठेकेदार धनबहादुर श्रेष्ठको माइला सुपुत्रका रुपमा जन्मनु भएका श्रेष्ठको परिवार वि.सं १९८८ सालमा भिम शमशेरबाट जमिन्दारी पाएपछि इनरुवा सरेको थियो । जंगल, बाटोघाटो र कुनै प्रकारको सुविधा नरहेको इनरुवालाई विस्तारै उहाँले गुलजार बनाउर्दै लैजानु भयो । औलो र डाकाको
डरले त्यसबेला इनरुवामा कोही बसोबास गर्न मान्दैनन थिए । उहाँकै प्रयासमा इनरुवामा बस्ती बसाइएको कुरा स्थानीय गोपाल कोइराला बताउनुहुन्छ । धनबहादुर श्रेष्ठका तीन भाइ छोराहरुमध्ये दिलबहादुर श्रेष्ठ माइलो भएपनि उहाँलाई सानेबाबु भनिन्थ्यो । कारण कान्छो भाइको बाल्यकालमै निधन भएकोले पनि हो । राजा महेन्द्रको पालामा सुनसरी जिल्ला सप्तरी र मोरङ्गमा पथ्र्यो । उहाँ यसलाई छुट्टै जिल्ला बनाउन चाहनुहुन्थ्यो, कोइरालाले भन्नुभयो । त्यसका लागि जनसंख्या आवश्यक पथ्र्यो जनसंख्या नपुगेपछि पश्चिम कुसाहा, कोशीवारिका ६ गाविस गाँभेर उहाँले जिल्लाको नक्सा तयार गर्नुभयो । इनरुवा हरेक कुराले अपायक पर्छ त्यसैले जिल्ला कायम भएपछि सदरमुकाम इटहरी वा धरानमा राख्नुपर्छ भनेर धेरै बहस र तानातान भयो । सानेबाबुले राजा महेन्द्र समक्ष पुगी सदरमुकाम जनताको सुविधाको लागि हो कि ठूला बडाका लागि भनेपछि राजा महेन्द्रले इनरुवालाई सदरमुकाम बनाउन तत्कालिन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाललाई निर्देशन दिएका थिए ।
वि.सं. २०१५ सालको पहिलो आम निर्वाचनमा उहाँ नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालासँगको प्रतिष्पर्धामा खडा हुनुभयो । तत्कालीन ३३ न. क्षेत्र रहेको उक्त निर्वाचनमा उहाँ बीपीको अत्यन्तै कडा प्रतिष्पर्धीको रुपमा देखिनु भयो । मत गणना हुँदा उहाँले
धरान, इनरुवा, इटहरी, दुुहवी लगायतका सबै ठाउँमा बीपीभन्दा ज्यादा भोट ल्याउनुभएको थियो । तर जब मोरङ्ग प्रवेश ग¥यो बीपी अगाडि देखिनुभयो । थोरै मत अन्तरले मात्र बीपीले निर्वाचन जित्नु भएको थियो । यस सम्बन्धमा बीपीले आफनो आत्मकथामा समेत लेख्नुभएको छ ‘मैले निर्वाचनमा बलियो प्रतिष्पर्धी दिलबहादुर श्रेष्ठजस्तो मानिस पाएको थिएँ ।’ सानेबाबुको जिल्लामा यही राजनीतिक लोकप्रियता देखेर राजा महेन्द्रले माथिल्लो सदनमा श्रेष्ठलाई मनोनित गरेका थिए । वि.सं. २०१७ साल पश्चात उहाँ पहिलो पटक गृह पञ्चायत सहायक मन्त्री बन्नुभयो त्यसपछि गृहमन्त्री, स्वास्थ्यमन्त्री, आपूर्ति मन्त्री समेत हुनुभयो । स्व. श्रेष्ठका दुई श्रीमति, तीन छोरा र सात छोरी हुनुहुन्छ ।
