धरान÷अन्तत ः सुनसरी मोरङ सिँचाई आयोजनाको नहरको डिल अतिक्रमण गरी बनाइएका घरटहरा सोमबारदेखि डोजर लगाएर भत्काउन शुरु गरिएको छ ।
सुकुम्बासीको नाममा नहरका डिलमा पक्की संरचना समेत निर्माण गरी बसोबास गर्ने क्रम बढेपछि केही बर्षदेखि नहरमा थुप्रिएका बालुवा निकाली सफा गर्न नसक्दा सिँचाई सुविधा नै प्रभाव पर्न थलेपछि आयोजनाले त्यस्ता घर टहरा डोजर लगाएर हँटाउन शुरु गरेको हो ।
यसभन्दा अगाडि सुनसरी मोरङ्ग सिँचाई आयोजनाले निर्माण गरिएका घर टहर हँटाउन बारम्बार सूचना जारी गरे तापनि घर टहरा निर्माण गरी बसेकाहरुले अटेर गरेपछि बाध्य भएर हटाउनुपरेको आयोजनाका इन्जिनियर केदार तिवारीले जानकारी दिनुभयो । सुकुम्बासीहरुले चैत्र महिनामा आयोजनाको निर्णयविरुद्ध आन्दोलन समेत गरेका थिए । कहिले रिले अनसन, कहिले चक्काजाम, कहिले सम्बन्धित पक्षसँग वार्ता आदि भए तापनि नहर सफा गर्न नसक्दा सुनसरी र मोरङ्गका १ लाख २ हजार विगाहा जमिनमा सिँचाई नहुने जनाएपछि सुनसरी र मोरङ्गका प्रमुख जिल्ला अधिकारी, प्रहरी र राजनैतिक दलबीच भएको छलफल पश्चात त्यस्ता संरचना भत्काउने निर्णय भएको थियो ।
सोमबार मोरङ्गको कैरोन बाहुनडाँगीबाट त्यस्ता सरचना भत्काउने कार्य शुरु गरिएको छ । स्थानीयले अवरोध गर्न सक्ने आशंकामा सशस्त्र र नेपाल प्रहरीका झण्डै २ सय ५० सुरक्षा कर्मीसमेत परिचालन गरिएको मोरङ्गका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिएका छन् । तीनवटा डोजर लगाएर भत्काउन थालिएको र १५ दिनभित्रमा नहरका संरचना हँटाइसक्ने समेत इन्जिनियर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण
गरिएका सरचनाकै कारण पाँच बर्ष यता नहर सफा गर्न सकिएको थिएन ।
नहरको डिलमा सरचना बनाउनेहरु सुकुम्बासी भन्दा पनि हुकुमबासी ज्यादा छन् । आर.सी.सी. पिल्लर ढलाई गरेर घर बनाइएका छन् । उनीहरुलाई कसरी सुकुम्बासी मान्ने ? अर्कोतर्फ मलमुत्र र फोहोर पानी समेत नहरमै बगाउँदा थप समस्या उत्पन्न भएको थियो । सुनसरी मोरङ्ग सिँचाई आयोजनाका प्रमुख महाजन यादवले दिएको जानकारी अनुसार कोशी सम्झौता अनुसार सन् १९७५ मा अर्थात आजभन्दा ३९ बर्ष अगाडि भारत सरकारले नहर निर्माण गरी नेपाल सरकारलाई जिम्मा दिएको थियो । पछि ०४५÷०४६ सालमा चाइनाले यसको केही स्तर उन्नति गरी थप साना नहरहरुको निर्माण गरेको थियो । सुनसरी मोरङ सिँचाई आयोजनाको चतरा नहर ५३ किलोमिटर लम्बाई छ । दुवै जिल्लामा गरी ५ हजार ५ सय घर टहरा निर्माण भएका छन् । आयोजनाले मुहान अर्थात चतराबाट १३ किमी छाडी ४० किलोमिटरमा ८ वटा प्याकेज बनाई नहर सफा गर्न थालेको छ । यहाँ स्मरणीय कुरा के छ भने, नहरको डिलमा बनाईका अधिकांश संरचना ग्रामीण क्षेत्रमा भन्दा पनि
बजार क्षेत्रमा ज्यादा रहेका छन् । झुम्का, खनार, चतरा, केरौन, रंगेली,
होक्लाबारी, बाहुनीमा पक्की संरचना नहरको डिलमा निर्माण गरी व्यापार व्यवसाय समेत अतिक्रमणकारीहरुले गर्दै आएका छन् ।
