यतिबेला मुलुकमा असारे विकासले तिब्रता पाएको छ । अर्थात गाउँ देखि सहरको हरेक कुनामा विकासको मूल भेट्न थालेको छ । एघार महिनासम्म सुतुर्मुर्गझैँ सुत्ने विकासे संस्था र तिनका मुखियाहरु हिजो आज रातारात व्युँझन्छन् । अर्थात उनीहरु असार विकासमा जुटेका छन् । विकासका लागि केन्द्रबाट विनियोजन भएर आएको रकम असार मसान्त सम्ममा जुनसुकै हालतमा पनि सिध्याउनुपर्ने उनीहरुमा बाध्यता छ । विकासका नाममा राष्ट्रिय ढकुकुटी निम्त्याउन पल्केकाहरुका लागि असार महिना स्वर्णीम महिना हो । सबैभन्दा बढी भ्रष्टाचार नगर क्षेत्रभित्र हुने गरेका छन् । जन प्रतिनिधि विहीन अवस्थामा केही प्रभावशाली राजनैतिक दललाई हातमा लिएर नगरपालिकाका कार्यकारी अधिकृत, इन्जिनियर, ओभरसियर र लेखापाल र केही अन्य कर्मचारीको मिलेमतोमा कमिशनकै लागि सडक मर्मत, सडक निर्माणको योजना बनाएर बर्षौदेखि बजेट झ्वाम पार्ने खेल खेलिदै आएको छ । यसपटक पनि सोही योजनाले निरन्तता पाएको छ ।
सबैभन्दा रोचक तथ्य त के हो भने लाखौको बजेटमा एउटै ठेकेदारले बर्षौदेखि त्यस्ता काम गर्दै आएका छन् । राति टालटुल गरेको सडक दुई चार दिनमा उप्किन थाल्छ । यसमा नागरिक समाजलाई संलग्न गराइएको हुँदैन । अनुगमनमा कुनै अख्तियारी पाएको निकाय हुँदैन । मनपरी ढंगले राज्यको बजेट स्वाहा भइरहेको छ । अख्तियार अनुसन्धान आयोग राष्ट्रिय सतर्कता केन्द्र तथा अन्य सरोकारवाला निकाय कानमा तेल हालेर बसेका छन् । ५÷१० हजार मात्र घुस लिएको अभियोगनमा अँठ्याउन पुग्ने यी निकायहरु असारे विकासमा भएको लाखौ करोडौ अनियमितामा आँखा चिम्लेर बसेका छन् ।
हुन त मुलुकै यतिबेला भ्रष्टहरुको चंगुलमा परेको छ । नेपाली काँग्रेस र एमालेका सभासदले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई ५ करोड नदिएर बजेट नै परित हुन नदिने चेतावनी दिएका छन् । यदि सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई ५करोड छुट्यायो या यसका निम्ति अन्य कुनै विकल्प दियो भने संस्थागत भ्रष्टाचारले अधिकारिता पाउँछ । अन्य पार्टीबाट प्रवेश गरेका, नेपाली काँग्रेसमा कुनै प्रकारको जनाधार नभएका, केन्द्रीय नेताहरुको चाकडी गरेको भरमा सभासद भएकाहरु नै यतिबेला पाँचकरोड माग्नेहरुको पंक्तिमा सबैभन्दा अगाडि देखिएका छन् । उनीहरु पाँच करोडको विरोध गर्नेहरु विकास विरोधी हुन् सम्म भन्न भ्याएका छन् । तर त्यसरी पाँच करोड माग्नेहरुलाई लज्जावोध हुनुपर्ने हो यसभन्दा अगाडि उनीहरुले पाउने १० लाखले आफ्नो निर्वाचन क्षेत्रमा के विकास गरे ? दश लाख सानो रकम होइन, देशमा एउटा सिटामोल खारिद गर्न नसक्ने अवस्थाका नेपाली छन्, दुई छाकको त कुरै छाडौ एक छाक समेत पेटभरि खान नपाउनेहरु लाखौ छन् । यिनले पाएको दशलाख घर खर्च, आफन्त पोस्न नै सिध्याएका प्रसस्त उदाहरण छन् । नेपाली जनताले हाम्रा बेकामे सभासदहरुलाई पाँचकरोड माग्न जिताएर पठाएका होइनन् । हामी पाँच करोड माग्छौं हामीलाई भोट दिनुस् भनेका भए यिनलाई जमानत जफत हुने गरी पाखा लगाइदिन्थे । नेपाली जनताले यिनलाई त केवल संविधान बनाउन मात्र पठाएका हुन्, पाँच करोड माग्न, विदेशको सयर गर्न, पाँचतारे होटलमा राज्यको ढुकुटी खर्च गरेर तुक न बेतुकका गोष्ठी र सेमिनारमा भाषण ठोक्न पठाएका होइनन् । त्यसैले आगामी दिनमा पाँच करोडेहरुको पतन सुनिश्चित छ । चेतना भया ।
